कक्षा २ मा एक जना शिक्षकले पढाइरहनु भएको थियो। अर्थात् उहाँ ठूल्ठूलो स्वरले बोलेर बालबालिकालाई सुनाउन खोज्दै हुनुहुन्थ्यो। तर साना बालबालिकाहरू सुनिरहेका थिएनन्। कोही पेन्सिलले चित्र कोर्दै थिए। कोही झ्याल बाहिर हेरिरहेका थिए। कोही एकापसमा गफ गर्न व्यस्त थिए।
शिक्षकले पछि थप्दै हुनुहुन्थ्यो, ‘अहिलेका केटाकेटी फिटिक्कै पढ्दैनन्। अलिअलि प्याट्ट पुट्ट नपारे त होमवर्क पनि गर्दैनन्। म त हैरान भइसकेँ।’
के साँच्चै बालबालिकालाई पढ्न र सिक्न मनै नलाग्ने भएको हो त?
हैन, जिन पियाजेका अनुसार बालबालिकाहरू प्राकृतिक रूपमा नै सक्रिय र उत्सुक सिकारु हुन्।
त्यसो भए हाम्रो सिकाउने तरिका नमिलेको हो?
हो, सिकाइमा प्रवचन विधि, घोक्ने, रटान गर्ने र सम्झिने शैलीलाई त्याग्नु जरुरी छ। यस्ता विधि केवल शिक्षक आफू थाक्ने काम मात्रै हो। यसलाई अङ्ग्रेजीमा व्यङ्ग्यात्मक भाषामा ‘डेढ हर्स थ्योरी’ भनिन्छ। अर्थात् घोडा मरिसकेको छ भने त्यसलाई पिटेर गन्तव्यमा पुग्न सकिँदैन।
कसरी सिक्छन् त बालबालिकाले?
प्रारम्भिक कक्षाका बालबालिकाहरू पढ्नका लागि सिक्ने (लर्न टु रिड) अवस्थामा हुन्छन्। यस अवस्थामा उनीहरूले वर्ण, अक्षर, शब्द, अंक, रंग, ज्यामितीय आकार र बनोटहरू चिन्न र पढ्नलाई धेरै कसरत गर्नुपर्दछ। तसर्थ विद्यार्थीलाई धेरैभन्दा धेरै शिक्षण विधिहरूको प्रयोगबाट सिक्ने कुरा सम्भव छ। अन्यथा उनीहरूमा साक्षरता तथा गणितीय सिप विकास चुनौतीपूर्ण पनि हुन सक्छ। बालबालिकालाई सजिलो र रमाइलोसँग सिकाउने केही विधिहरू छलफल गरौँ।
कथा र गीत बनाउने
अहिले पाठ्यपुस्तकहरूमा थुप्रै गीत, कविता र कथाहरू समावेश गरिएका छन्। कविता, कथा वा गीतलाई बालबालिकाले औधी रुचाउँछन्। बालबालिकालाई मन पर्ने लयमा वा अहिले बालबालिकाको मुखमा झुन्डिएको भाकामा ती गीत वा कविताहरू गाउँदै थपडी बजाउँदै,नाच्न लगाऔँ। पाठमा भएका कथालाई हाउभाउ र अभिव्यक्ति सहित वाचन गरौँ। उनीहरू मन्त्रमुग्ध भएर सुन्नेछन्।
कक्षाकोठामा बोल्ने भाषा बदलौँ। ‘म आज तिमीहरूलाई पढाउँछु, ध्यान दिएर सुन’ को सट्टा ‘आज हामी सबै मिलेर गीत गाउने र नाच्ने।’ यसो गर्दा बालबालिकाले म पढ्दै भन्ने कुराको आभास नै नपाई सिकिरहेका हुन्छन्। अझ, विषयवस्तुलाई शिक्षक आफैले गीत वा कथा ढालेर प्रस्तुत गर्न सके झन् उत्तम।
खेल र अभिनय
बालबालिकालाई सबैभन्दा मन पर्ने कार्य–खेल हो। फ्रेडरिक फ्रोबेलले त बाल विकास उत्तम आधार नै खेल हो भनी सुझाएका छन्। बालबालिकालाई अधिकांश विषयवस्तुहरू खेलबाट सिकाउन सकिन्छ। भाषिक विषयलाई भूमिका निर्वाह, क्रियापद शिक्षण गर्दा अभिनय, गणितीय सिपमा गन्ती, जोड, घटाउलाई सामग्रीहरूसँग खेल खेलाऔँ। बालबालिकाले स–साना ढुंगा बटुलेर गन्ती, जोड घटाउ सजिलै सिक्छन्। नाच्दै, उफ्रँदै, दौडँदै यी शब्दावली र प्रयोग सिक्छन्। हामी किन प्रवचन गरिरहने? विज्ञान र सामाजिक अध्ययनलाई प्रयोग गर्ने, हेर्ने र अभिनय गर्ने गरी सिकाउँदा बालबालिकाले रमाइलोसँग सिक्छन्। यसैलाई जोन डिवेले ‘गर्दै–सिक्ने विधि’ भनेको छन्। उनीहरूले सिक्नुपर्ने विषयवस्तुलाई खेल वा अभिनयमा परिणत गर्ने सिप चाहिँ सिकौँ।
गृहकार्य हैन परियोजना कार्य
‘सजीव वस्तुको नाम र विशेषता लेख’ भनेर गृहकार्य दिने र ‘तिम्रो घर वरपर पाइने जीव जनावर र तिनीहरूले के के गर्छन् अवलोकन गरी लेखेर ल्याऊ’ भन्दा कुन कार्यमा बालबालिका बढी रमाउँछन् होला? अवश्य पनि दोस्रो कार्यमा बढी रमाउँछन्। यस्ता थुप्रै सिकाउनु पर्ने विषयवस्तुलाई परियोजना कार्यमा ढालौँ। हरेक विषय क्षेत्र (थिम) का लागि परियोजना कार्य तयार पारौँ।
आमाबाबु वा छिमेकीलाई सोध्ने, अवलोकन गर्ने, प्रयोग गर्ने, धार्मिक स्थल, प्राकृतिक सम्पदा, कृषि क्षेत्र आदि भ्रमण गरेर लेख्ने, चित्र,नक्सा वा ग्राफमा देखाउने, तथ्याङ्क वा सामग्री संकलन गर्ने जस्ता परियोजना कार्यमा बालबालिकाहरू रमाउने मात्रै हैन विषयवस्तुलाई अनुभव गर्ने, समालोचनात्मक ढंगले बुझ्ने र अभिव्यक्ति गर्ने कुरा उनीहरूले सजिलै सिक्छन्।
जोडीमा सिकाइ
के बालबालिकाले एकापसमा सिक्न सक्छन्? अवश्य, भिगोत्सीका अनुसार बालबालिकाले वरपरका मानिस वा साथीसँगको अन्तर्क्रियाबाट धेरै कुराहरू सिक्न सक्छन्। त्यसो भए बालबालिकाहरू जोडीमा मिलेर गर्न सक्ने कामहरू तय गरौँ। उनीहरूलाई अन्तर्क्रिया गरी प्रस्तुत गर्ने अवसर प्रदान गरौँ। कुनै विषयवस्तुमा ‘थिङ्क–पियर एन्ड शेयर’ गर्न दिने, पुस्तक आलोपालो पढ्ने, संवाद तयार गर्ने, गणितीय समस्याहरू समाधान गर्न दिने जस्ता क्रियाकलाप कक्षाकोठामा गरौँ। यसो गर्दा शिक्षकले भने बारम्बार ‘टेवा प्रदान’ गर्नुपर्दछ। जोडीमा सिकाइले बालबालिकाको संज्ञानात्मक र सामाजिक विकास अत्यन्तै छिटो हुने कुरा शिक्षाशास्त्रीहरू बताउँछन्।
छापायुक्त कक्षाकोठा बनाउने
अनुसन्धानहरूले के देखाएको छ भने छापाविहीन कक्षाकोठाभन्दा छापायुक्त कक्षाकोठा पढिरहेको बालबालिकाले सधैँ पढाइ, लेखाइ र गणितीय सिपमा उच्च अंक ल्याउँछन्। आफ्नो वरिपरि भएको अक्षर, शब्द चित्र, वाक्य आदि हेरेर वा देखेर बालबालिकाले पढ्न र लेख्न सिक्ने अवसर छापा सामग्रीले प्रदान गर्छ। त्योभन्दा महत्त्वपूर्ण कुरा के छ भने यस प्रकारको कक्षाकोठाले विद्यार्थीको पढाइ-लेखाइप्रति सकारात्मक अवधारणाको विकास हुन्छ। मनोवैज्ञानिक रूपमा कक्षाकोठामा सिकाइ वातावरण निर्माण हुन्छ। अब, चार्ट, क्यालेन्डर, पोस्टर, चित्र, नक्सा, छापिएका कविता, गीत, कोलाज, शब्दहरू, लोगो तथा संकेत आदि कक्षाकोठामा राखौँ। यस्ता सामग्री राख्दा सबै विषय र विषयक्षेत्रलाई सहयोग गर्ने खालको निर्माण गर्नुपर्छ।
अन्त्यमा,
बालबालिकाहरू धेरै समय सुनेर बस्न सक्दैनन्। उनीहरू स्वभावले बढी चञ्चल र अस्थिर हुन्छन्। त्यसैले उनीहरूलाई सिकाइमा सक्रियता बढाउन विविध खाले विधिहरू प्रयोग गरौँ र सिकाइलाई सहज बनाऔँ।
(लेखक शिक्षा क्षेत्रमा कार्यरत छन्।)