बेइजिङ डायरी
यही साल असार १२ गते, ल्हासास्थित पोतला दरबारको अगाडिपट्टिको प्रांगण घुमेपछि हामीलाई तिब्बती धुप बनाउने एउटा पवित्र स्थलमा लगियो.
कार्यतालिका अनुसार अपराह्न हामी जोखाङ मन्दिर जाँदै थियौं।
जोखाङ मन्दिर जाने भनेपछि प्रकाशबाबु पौडेलले बिहानै भनेका थिए, 'आहा! नेपालीपन र गौरव जोडिएको एउटा पवित्र सांस्कृतिक स्थल!'
पौडेलले यसो भनेपछि आश्चर्य मान्दै उपमा पौडेलले सोधिन्, 'किन जोखाङ मन्दिरसँग नेपालीपन र गौरव गाँसिएको?'
किशोरी उमेरमै टेलिभिजन पत्रकारिता सुरू गरेकी उपमा प्रकाशजीकी छोरी हुन्। उपमाको जस्तै जिज्ञासा रितिक सिंह ठकुरी र सुजन श्रेष्ठको पनि थियो।
प्रकाशजीको उत्तर आउनुभन्दा पहिले जिवेशसिंह गुरूङले फ्याट्टै भने, 'जोखाङ मन्दिर त नेपाली राजकुमारी भृकुटीले बनाएको हो नि!'
हामीसँग भएका चिनियाँ साथीमध्ये लिउ वन (नेपाली नाम सुमेघा) ले भनिन्, 'त्यसो भए भाखोर सडकमा तपाईंहरूले भृकुटी नभेटे पनि, कतै भान्जाभान्जी भेट्नु हुन्छ कि!'
नेपाली पत्रकारहरूको एउटा टोलीमा सहभागी हामी चीनको सिचाङ (तिब्बत) भ्रमणका क्रममा ल्हासामा थियौं। सुमेघाजीको कुरा सुनेर बसमा रहेका हामी सबै मजाले हाँस्यौं।
सुमेघाजीको कुरा रोचक मात्र थिएन, पीडादायी पनि थियो।

नेपाली राजकुमारी भृकुटीले एक युवराजलाई जन्म दिएकी थिइन्। ती युवराजको किशोर अवस्थामै मृत्यु भएपछि भृकुटीका सन्तान त रहेनन् नै, उनका श्रीमान स्रङचङ गम्पोका पनि अन्य कुनै सन्तान भएनन्।
त्यस कारण हामीले भाखोर सडकमा भान्जाभान्जी भेटिने आशा त लिएनौं, तर नेपाली राजकुमारीले बनाएको भव्य सांस्कृतिक सम्पदा हेर्न निकै उत्सुक भयौं।
धुप बनाउने ठाउँ त कारखाना हुनुपर्थ्यो, तर उक्त स्थल पवित्र मन्दिर जस्तै थियो। त्यहाँ तिब्बती बौद्ध धर्मशास्त्र अनुसार पूजा, प्रतिष्ठान गरेर विभिन्न वनस्पतिहरूको समुचित सम्मिश्रणबाट धुप बनाइने रहेछ।
धुप बनाउने व्यक्ति लामा पहिरनमा थिए। उनको पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको पेसा रहेछ धुप बनाउने काम। उनले बनाएको धुप पवित्र र सुगन्धित मात्र नभएर निकै महँगो पर्ने रहेछ।
हामीलाई पनि धुप बनाउन सिकाइयो। धुप बनाइसकेपछि हामीले दिउँसोको खाना एक जना तिब्बतीको रेस्टुरेन्टमा खायौं। अनि बल्ल हाम्रा पाइला भाखोर सडकलाई नाप्दै पहेँलो गजुर देखिएको अत्यन्त भव्य र आकर्षक जोखाङ मन्दिरतिर सोझिए।
जोखाङ मन्दिरभित्र पसेपछि त्यहाँका एक जना वरिष्ठ लामाले हामीलाई त्यो मन्दिर कसरी स्थापना भयो भन्नेबारे व्याख्या गर्न थाले। ती लामा तिब्बती भए पनि फरर चिनियाँ बोल्थे। उनले चिनियाँ भाषामा गरेको व्याख्यालाई चिनियाँ साथी कु छङ सी (नेपाली नाम राधिका) ले अनुवाद गर्दै हामीलाई सुनाइन्।
आजभन्दा चौध सय वर्ष अगाडि कसरी जोखाङ मन्दिर स्थापना भयो भन्नेबारे ती लामाले सुनाएको कथा निकै रोचक लाग्यो।
तिब्बतका सम्राट स्रङचङ गम्पोले भृकुटीलाई बिहे गरेर ल्याउनुभन्दा पहिलेसम्म तिब्बतको राजधानी ल्हासा नभएर सान्नानमा थियो। सान्नान हालको ल्हासाभन्दा दक्षिणपूर्वतिर लगभग डेढ सय किलोमिटरको दुरीमा छ।
जोखाङ मन्दिरको छतबाट देखिएको पोतला दरवार
गम्पोले सान्नानबाट ल्हासामा राजधानी सारे। राजधानी सारेसँगै एउटा अदृश्य दानवी शक्तिले दुःख दिन थाल्यो। त्यस्तो दानवी शक्ति ल्हासाको बीच भागमा रहेको एउटा पोखरीमा बस्छ भन्ने मान्यता थियो।
गम्पो त प्रशासनिक र युद्ध जस्ता कामले व्यस्त थियो। तिब्बती नागरिकले महारानी भृकुटीलाई दैत्यले आफूहरूलाई दुःख दिइरहेको सुनाए। भृकुटीले ज्योतिष हेराउँदा पनि त्यस्तो राक्षस त्यही पोखरीमा बस्छ भन्ने थाहा भयो।
उक्त पोखरीको नाम ओटाङ थियो। अब त्यो पोखरी पुरेर त्यहाँ मन्दिर बनाउनुपर्छ भन्ने उनले ठानिन्। पोखरी पुर्न बाहिरबाट ढुंगा र माटो बोकेर ल्याउनुपर्थ्यो। जो जो श्रमिक ढुंगामाटो बोक्न जान्थे, उनीहरूमाथि दैत्यको प्रभाव परिहाल्थ्यो। श्रमिकहरू तुरून्तै रगत छाद्ने र बिरामी हुने अनि कति त मर्ने भएकाले काम गर्न कठिन भयो।
त्यही समयमा त्यहाँ सेता च्यांग्राहरू देखिए। ती सेता च्यांग्रामा माटो र ढुंगा बोकाएर पोखरी पुर्ने काम भयो। ती सेता च्यांग्राको रूपमा देवताहरू आएका थिए भन्ने किम्बदन्ती प्रचलित छ।
पोखरी पुरेपछि भृकुटीले त्यहाँ भव्य मन्दिर बनाइन्।
त्यति बेलासम्म ल्हासामा बनेका सबैजस्तो गुम्बा र घरहरू दक्षिण फर्काएर बनाउने चलन थियो। भृकुटीले मन्दिरलाई भने आफ्नो माइती देशतिर फर्काएर बनाउने निर्णय गरिन्। त्यसैले जोखाङ मन्दिर पश्चिम फर्किएको छ। नेपालबाट सिचाङ उत्तरतिर परे पनि ल्हासाबाट चाहिँ नेपाल सिधै पश्चिममा पर्छ।
त्यस कारण त्यो समयमा बनेको एउटा मात्र पश्चिम फर्किएको भवन जोखाङ मन्दिर थियो।
यहाँनिर के स्मरणीय छ भने, वास्तवमा जोखाङ मन्दिर नभएर गुम्बा हो। तर चीनमा भएका अधिकांश गुम्बाहरूलाई अंग्रेजी भाषामा 'मोनास्ट्री' नभनेर 'टेम्पल' भनिन्छ। त्यसैको अनुवाद गर्दा जोखाङ मन्दिर हुन गयो।
ती लामाले भित्तामा कोरिएका विशाल थांका चित्र देखाउँदै त्यसको अर्थ लगाउँदै गए। राधिकाजी उनको व्याख्यालाई नेपाली भाषामा अनुवाद गरेर हामीलाई सुनाउँदै गइन्।
यो मन्दिरको भुइँ तलामा गुरू पद्मसम्भवको विशाल मूर्ति छ। ठूला आँखा र चम्किलो अनुहारका गुरू पद्मसम्भव भृकुटीभन्दा एक सय वर्षपछि तिब्बत आएका हुन्। त्यस कारण भृकुटीले बनाउन लगाउँदा त्यहाँ पक्कै पनि पद्मसम्भवको मूर्ति थिएन।

भाखोर सडक
पछि विभिन्न कालखण्डमा पुननिर्माण गर्दा जाँदा पद्मसम्भवको मूर्ति स्थापना गरिएको हो। पद्मसम्भवले नेपालको फर्पिङ, तिमाल र हलेसी लगायत ठाउँमा लामो समय ध्यान गरेको इतिहास पाइन्छ। पद्मसम्भवको मूर्ति हेरेर अगाडि बढेपछि अर्को महत्त्वपूर्ण मूर्ति देखिन्छ।
तीन जनाको मूर्ति सँगसँगै राखिएको छ। ती तीन जनामा सम्राट स्रङचङ गम्पो र उनका दुई श्रीमतीहरू, दाहिनेतिर हरिततारा (भृकुटी) र देब्रेतिर श्वेततारा (वेनछन) हुन्।
मन्दिरको सबभन्दा पछाडिको भाग अर्थात्, पूर्वपट्टि शाक्यमुनि बुद्धको किशोरावस्थाको एउटा मूर्ति छ। पहिले उक्त ठाउँमा भृकुटीले नेपालबाट ल्याएको शाक्यमुनि बुद्धको मूर्ति थियो रे!
भृकुटीलाई नेपालबाट बिहे गरेर ल्याएका स्रङचङ गम्पोले केही समयपछि चीनको सिआनबाट थाङ राजवंशकी राजकुमारी वेनछनसँग फेरि बिहे गरे। यी दुई महारानी बाहेक स्रङचङ गम्पोको अन्य महिलाहरूसँग पनि श्रीमतीसरह सम्बन्ध थियो जो 'सुसारे' वा 'सेवा' का लागि राखिएका थिए।
स्रङचङसँगै हरिततारा र श्वेतताराका नाममा उनका दुई औपचारिक रानीको पूजा गरिन्छ।
भृकुटीले नेपालबाट आउँदा शाक्यमुनि बुद्धको २५ वर्षको उमेर हुँदाको एउटा मूर्ति ल्याएकी थिइन्। उनले उक्त मूर्ति जोखाङ मन्दिरमा स्थापना गरिन्।
पछि वेनछनले पनि सिआनबाट शाक्यमुनि बुद्धको १२ वर्षको उमेर हुँदाको एउटा मूर्ति ल्याएकी थिइन्। उनलाई पनि भृकुटीले बनाए जस्तै एउटा मन्दिर बनाउन मन लाग्यो र रामोचे मन्दिर बनाएर आफूले ल्याएको शाक्यमुनि बुद्धको मूर्ति त्यहीँ स्थापना गरिन्।
रामोचे मन्दिर (गुम्बा) पूर्व फर्काएर बनाइएको छ। ल्हासाबाट सिआन पूर्व पर्ने भएकाले भृकुटीकै नक्कल गरेर वनछनले बनाउन लगाइन्। रामोचे मन्दिर पनि ल्हासाका प्रमुख सांस्कृतिक केन्द्रमध्ये एक हो।
कालान्तरमा शाक्यमुनि बुद्धका यी दुई मूर्ति अदलीबदली भए। अहिले जोखाङमा वनछनले ल्याएको मूर्ति छ भने भृकुटीले ल्याएको मूर्ति रामोचे मन्दिरमा स्थापना गरिएको छ।
किन र कसरी अदलीबदली भए भन्ने कुराको ठोस जबाफ भेटिँदैन।
सुरूमा जोखाङलाई 'राशा ट्रूलनाङ सुक्लाखाङ' भनिन्थ्यो। यसको अर्थ रहस्यको घर अथवा च्यांग्राको बलिदानबाट निर्मित मन्दिर भन्ने हुन्छ। पछि यसलाई जोखाङ भन्न थालियो। तिब्बती भाषामा जोखाङको अर्थ प्रार्थनास्थल भन्ने हुन्छ।
व्याख्याका क्रममा ती लामाले भने, 'तिब्बती भाषामा च्यांग्रालाई राशा भनिन्छ। त्यही राशाको शक्तिले राक्षसको दमन भएकाले सहरको नाम पनि राशा नै राखियो। पनि अपभ्रंश हुँदा ल्हासा हुन गयो।'
तिब्बती भाषामा ल्हासाको अर्थ घमाइलो हो। विश्वको छानो मानिएको सिचाङमा घाम नजिकैबाट लाग्ने र साँच्चै घमाइलो हुने भएकाले यो नामको सार्थकता र विम्ब मिलेको छ।
ल्हासाका लागि महावाणिज्य दूत लक्ष्मीप्रसाद निरौलाका अनुसार देवताले च्यांग्राको रूप धारण गरेर जोखाङ बनाएको विश्वासमा अहिले पनि कतिपय ल्हासाका तिब्बतीहरूले च्यांग्राको मासु खाँदैनन्।
यो मन्दिर मूलतः नेपाली कलाकौशलले भरिएको छ। सँगै चिनियाँ र तिब्बती कला पनि पाइन्छ।
ढोकाको माथिल्लोपट्टि अनि भित्री दलानमा जहाँसुकै संस्कृत र रञ्जना लिपिमा लेखिएका बौद्धधर्मका सूत्रहरू देखिन्छन्। जोखाङ मन्दिरको छानो सुनले ढाकिएको छ।
यो मन्दिरका तीन वटा महत्व छन्।

पहिलो, जोखाङमा भिक्षुहरूको नियमित पठनपाठन हुन्छ। बौद्ध धर्म सम्बन्धी नियमित बहस र छलफल हुन्छ।
दोस्रो, यहाँ नियमित धार्मिक पूजा र प्रतिष्ठान हुन्छ।
तेस्रो, यहाँ धार्मिक तथा सांस्कृतिक अध्ययन तथा अवलोकन गर्न संसारका सबै कुनाबाट पर्यटकको ओइरो लाग्छ।
तीन तलाको जोखाङ मन्दिर सुनै सुनले भरिएको छ। असंख्य पुरातात्विक सम्पदाहरू संकलन गरिएको यो मन्दिरको छतबाट ल्हासाको चारैतिरको मनमोहक दृश्य देखिन्छ। पश्चिम–उत्तरमा पोतला दरबारलाई पृष्ठभागमा राखेर फोटो र भिडिओ खिच्ने पर्यटकहरूको छतमा पनि भिड लाग्छ।
सुगन्धित धुप, बौद्ध मन्त्र उच्चारण गरिरहेका लामाहरूको सुमधुर आवाज, माने घुमाउँदै हिँड्ने आस्थावान तीर्थयात्री, सांस्कृतिक सम्पदाका अध्येताको गहन अवलोकन; सबै कुरा एउटै ठाउँमा भेटिन्छ।
छतका आँखी झ्यालबाट भाखोर सडकमा परिक्रमा गरिरहेका बौद्धधर्मावलम्बीहरूको प्रार्थनासहितको हिँडाइले सबैलाई मोहित बनाउँछ। पोतला दरबारभन्दा जेठो र पवित्र मानिएको जोखाङ मन्दिरले ल्हासाको न्वारान गरेकाले यसको महत्व निकै उच्च रहेको सहजै अनुमान गर्न सकिन्छ। यसलाई सन् १९९४ मा युनेस्को विश्व सम्पदा सूचीमा समावेश गरिएको छ।
यो मन्दिरको निर्माणमा भृकुटीले नेपालबाट ल्याएका कालिगड प्रयोग भएकाले यसको शैली र कलाकृति सबै नेपालीपन दिने खालका भेटिन्छन्।
जोखाङ मन्दिर तिब्बतीहरूकोको धार्मिक केन्द्र मानिन्छ। यहाँ दैनिक १२ हजार पर्यटकले यसको अवलोकन गर्छन्। जोखाङ मन्दिरको वरिपरि लम्पसार पर्दै परिक्रमा गर्ने तीर्थयात्री प्रशस्तै भेटिन्छन्। त्यहीँ वरिपरिको बाटो वा गल्लीलाई नै भाखोर सडक भनिन्छ।
हिजोआज भाखोर सडक ल्हासाको वाणिज्य केन्द्र र आधुनिकताको प्रतीक पनि बनेको छ।
चौध सय वर्ष अगाडि नेपाली राजकुमारी भृकुटीले बनाउन लगाएको यस्तो धरहरमा पुग्दा श्रद्धाले छाती फराकिलो भयो। गौरवले शिर सगरमाथाभन्दा अग्लो भयो। नेपाली भएको र त्यहाँ लामाहरूले नेपालबाट आएको भन्दा गर्ने आदर र सम्मानले पुलकित पनि बनायो। नेपालकी एक छोरीको उच्च आस्था, महान सोचाइ, दुरदृष्टि र नेपालप्रतिको मायाले आज दुई देशबीचको सम्बन्ध अझै प्रगाढ र मजबुत बनाएको छ।
हामी यसरी भृकुटीप्रति सम्मान जनाउँदै जोखाङ मन्दिरबाट बाहिर निस्कियौं।
मन्दिर घुम्दा चीनको सिचाङ स्वायत्त प्रदेशले भृकुटीमाथि उच्च सम्मान गरेको पुष्टि हुँदै थियो।
त्यसको ठीक तीन दिनपछिको एउटा सांस्कृतिक कार्यक्रमको अवलोकन गरेपछि साह्रै नराम्ररी मन रोयो। जानेर हो वा नजानी, सिचाङ सरकारकै तर्फबाट प्रस्तुत गरिएको उक्त सांस्कृतिक कार्यक्रमले भृकुटीमाथि अपमान गरिरहेको थियो। पूरै इतिहास बेवास्ता गरिएको थियो। भृकुटीमाथि भएको अपमानका बारेमा आगामी अंकमा विस्तृतमा लेख्नेछु।

***
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)