मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएका छन्।
सदन फेस गर्ने बताउँदै आएका सिंहले विश्वासको मत नमागी सदनमा राजीनामा दिएका हुन्।
सदनमा वक्तव्य दिने क्रममा उनले राजीनामाको घोषणा गरेका हुन्।
‘वर्तमान परिस्थितिमा मार्गप्रसस्त गर्दै मुख्यमन्त्रीको पदबाट राजीनामा दिएको जानकारी गराउँछु,’ उनले भने।
विश्वासको मत नलिई राजीनामाको घोषणा गरेसँगै प्रदेश सभामा विश्वासको मत सम्बन्धि दैनिकी कार्यसूची पेश नगरी हटाइएको छ।
सभामुख रामचन्द्र मण्डलले प्रदेश प्रमुख समक्ष लिखित राजीनामा पेश गर्न निर्देशन दिएका छन्। साथै अर्को सूचना जारी नभएसम्मका लागि सदन स्थगित भएको जानकारी गराएका छन्।
मुख्यमन्त्री सिंहले २४ असोजमा मधेस प्रदेश सभामा पत्र पठाएर विश्वासको मत लिने जानकारी गराएका थिए।
संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १४३ को (४) बमोजिम विश्वासको मत माग्ने कार्यसूची थियो।
संविधानको धारा १८८ को उपधारा (२) मा मुख्यमन्त्रीले प्रतिनीधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ।
मुख्यमन्त्रीले दिएको राजीनामा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले स्वीकृत गरिसकेकी छन्।