कविता
हे यात्री अब यो विमान कसरी रोकिन्छ गन्तव्यमा
जोडी चालक जुध्दछन् अघि बसी ठोकिन्छ पक्कै कहाँ!
नेताबीच उही पदीय महिमा यो युद्ध स्वार्थै न हो
एक्लो स्वार्थमहाँ लिलाम जनता राख्छौ र लड्छौ अहो!
जुट्दामा झुटको थियो र फुटको बाँडेर खाने रित
तिम्रो मार्गमहाँ गुटैगुट अझै को मिल्छ वैरीसित
आमाबाबु लडे मरे पनि नयाँ बाटो त खुल्ला तर
यो बिन्ती जनता बुझेर पनि लौ गर्दै छ सोचौँ घर।
माग्यौ भोट अझैँ समृद्ध र सुखी नेपाल भन्दै अति
आफ्नाको गुटमा मिलान जुटमा लाग्यौ र बिग्र्यो मति
भ्वाङैभ्वाङ भयो र टाल्न निहुँकै खोजी गरेरै पनि
आस्थाको महलै विदीर्ण यसरी पार्यौ र मार्यौ अनि।
हातैमा छ हिरा अझै पनि बुझे मौका छ ठूलो तर
दम्भैले यदि भत्कियो घर भने बन्दैन पक्का अब
प्यारो देश बुझे जुटेर युगको सौन्दर्य भर्ने भनी
प्रायश्चित्त गरी मिलेर नउठे छुट्दै छ वर्षौँ पनि।
मान्छेको क्षमता चिनेर जनको विश्वास जित्ने कुरा
चम्चाको महिमा अदम्य गहिरो भन्छन् स–साना भुरा
लेख्दैमा कविता प्रभाव यसले के पर्छ कोर्नु न हो
खाली यो मनको विचार जनको चिन्ता छ यो देशको।