लौ है आओ प्रयोगशालामा
पर्चा, पम्पलेट, झण्डा बोकेर
तर,
देशको झण्डा होइन
किनकि,
राष्ट्रिय स्वार्थको सुगन्ध हुन्छ, गन्ध हुन्न
किनकि,
यो प्रयोगशाला हो।
झण्डाको तानातानमा तिमी कच्चापदार्थ
को सँच्चापदार्थ को लुच्चापदार्थ
गान्धारी झैँ सडकमा हेर
प्रदर्शन, समर्थन- शक्ति रे भक्तिको दन्त हेर
भजन, गन्थन, गुणगानका कच्चापदार्थ
अभाव, प्रभाव र दबाबमा बदल्ने स्वभाव हेर।
ओए कच्चा पदार्थ तेरो काम, नाम र माम
तँ 'जनता' तँ 'ढाल' अनि तँ 'मतदाता'
तँ लाठीचार्जवाला, तँ लाठीमा झण्डा उन्नेवाला
तँ स्टेज बना, झण्डा छाप्- गुजारा गर्नु छ।
पापी पेट भर्नु छ
तर,
रातारात 'मान्छे' बाट 'कार्यकर्ता'
दुईवटा स्वार्थको गोलघरमा
जुठे, मुस्ले, ओख्लेलाई मासुभात दे,
सबै कच्चापदार्थको दृष्टिकोणमा पट्टि बाँधि दे
स्यालको हुइय्याँ- कच्चापदार्थको गुणस्तर!
यो प्रयोगशाला हो।
यहाँ सिद्धान्त मिठो: 'बुद्धिजीवी' को
यहाँ सपना झन् मीठो: 'सुद्धीजीवी' को
प्रयोग गर- पुस्तक नपुग्दै गरोस् वर्षौंसम्म
तर, पर्चा पुर्याउनु पर्छ एक रातमा
किनकि यो प्रयोगशालामा शक्ति 'सोझो'
सबाल्टर्नको अचारमा कच्चा पदार्थ दर्बिलो हुन्छ ।
सडक र सदन दुवैको लक्ष्य सदन
तँ 'तन, मन र धन' अर्पिराख्
तर, खोलाको गीत हुनेछ- तेरो क्रन्दन।
किनकि,
तेरो लक्ष्य 'सदन' मिलेन!
तैपनि,
'माने बधाइ छ तँलाई।'
अब त तँ मरिस् भने पार्टीको 'क. मानबहादुर' हुन्छस्!
तर, तेरो कच्चापदार्थको मूल्य हुन्जेल
तँ ढाल अनि तेरो मालिकले आवश्यक ठानुन्जेल
चाकडी, गुलामी र भजनमा दम हुन्जेल
तब एकदिन 'त्यागी, होनहार व्यक्ति क. मानबहादुर' मर्ने छस्!
बिघ्नै भने तँलाई 'राजनीतिक सहिद' भन्लान्।
लड् तँ गान्धारी बनेर तर सोच् है
धृतराष्ट्रसँग भिष्मपितामह, द्रोण अझै विदुर छैनन् र!
तर, चिरहरणमा मौन बस्छ किन!
अभाव, दबाब र प्रभावको लीला हेर
यो कुरुक्षेत्रको प्रयोगशालामा अर्थ दुर्योधनकै हो!
अर्थ सँच्चापदार्थको विनाशको हो!
हो, माने तँ कच्चापदार्थ होस्
प्रयोगशाला त ढोल पिटिरहन्छ,
मेसिन तँलाई थिचिरहन्छ
माइकमा उहीँ मार्क्स लाएर माक्सको नारा बिकिरहन्छ
अनि, माने तँ कुर्लेर हिँडिराख् कच्चापदार्थ बन्
तर,
शक्ति, सम्मान र सम्पत्तिकै कित्तामा चल्छन् सत्ताका पत्ता
सत्ता त भत्ता र कित्ता मिलाएर पनि टिकिरहन्छ
किनकि,
यो प्रयोगशाला हो।