‘जेनिसा ! गेस ह्वाट !’ तारा फोनमै खुसीले कराई, ‘आमाको भिसा लाग्यो नि!’
‘वाउ, द्याट्स् ए ग्रेट न्युज! अब कहिले आउनु हुने यता?’ मैले सोधेँ।
‘प्लेनको टिकेट मिल्ने बित्तिकै।’
‘आई एम सो ह्याप्पी फर हर! आमा आएपछि मलाई भेटाऊ नि!’ मैले खुसी देखाउँदै भने, ‘आई एम डाइङ टु मिट हर टु!’
दुई वर्ष अघि पहिलो पटक तारासँग नर्थ सिड्नीको क्याथोलिक कलेजमा भेट भएथ्यो। हामी दुबै नर्सिंङको विद्यार्थी। कलेजको पहिलो वर्ष थियो। पहिलो क्लास सकेर म कलेजको क्याफे खोज्दै’थेँ, परबाट तारा हाँस्दै मतिर आई। ऊ कुनै एंगलबाट पनि चिनेझैं लागेन। सोचेँ, नेपाली या इन्डियन हुनुपर्छ! ऊसंग चिनाजानी गर्ने कुनै इच्छा जागेन। त्यसैले बेवास्ता गरी जादै’थेँ, उसले ‘एस्क्यूज मी’ भनी मलाई रोकी। सोधी, ‘आर यू नेपाली?’
‘याह,’ मैले भनेँ।
‘म तारा। अघि तिम्लाई क्लासमा देखे’थेँ। नेपालीझैं लागेर एक बाजी चिनजानी गर्न पर्यो भनी खोज्दै आएँ!’
मैले उसलाई तलदेखि माथिसम्म हेरेँ। ऊ खुइलेको जिन्स, पहेंलोमा गुलाफी फूल बुट्टे कुर्ता टप अनि प्याट प्याटे चप्पलमा थी’ ! देब्रे कुममा यत्रो ठूलो खैरो रंगको ब्याक प्याक भिरेकी! अनि कहिले तानेर सोझो नबना’को जरर्र कपाल बुरर्र उडेको थियो! सि इज नट माई टाइप मनले भन्यो तर उसलाई अभद्र व्यवहार गर्न पनि सकिनँ।
‘म जेनिसा। नाइस मिटिङ यू!’ मैले भनेँ।
‘कत्ति त राम्रो नाम, जेनिसा!’ उसले मलाई बच्चालाई झैं फुर्काउन खोजी। ‘मान्छे जस्तै नाम! धेरै भो’ सिड्नी बसेको?’
‘याह, मैले भनेँ। म यहाँ आउदा आई वाज इन क्लास नाइन!’
‘आप्पै ! नाइन क्लासदेखि यहीँ पढ़ेको !’ ऊ छक्क परी। ‘र पनि नेपाली कत्ति राम्रो बोल्ने! फेरि अंग्रेजी पनि छुरा होला! कत्ति त लक्की!’
उसको कुरामा म रमाएँ। अनि सोधेँ, ‘तिमी नि ? कैले सिड्नी आयौ?’
‘हामी त भर्खर भर्खर सिड्नी आ’का। सिंगै परिवार। बाबा, ममी, दिदी, भाइ, बैनी। सबै। बाबा’ले रेफ्यूजी भिसा हाले’थे केरे। भिसा लाग्यो। भिसा लाग्ने बित्तिकै सबै एकैपालि यता आएम्।’ उसले एकै सासमा सबै बेलिबिस्तार लगाई।
‘ए,’ मैले भनेँ।
अब के कुरा गर्ने, दिमाखमा पनि आएन। न त म कुरा नै लम्बाउने चाहन्थेँ। त्यसैले हतार भए झैं गरी भनेँ, ‘म त कफी लिन जाँदै’थेँ। आई विल सी यू लेटर!’
‘र त, म पनि कफी नै पिउने विचारले हिँडेको। क्याफे पो कता छ, था’ पनि छैन! सँगै आउँदा हुन्छ नि ?’ यति भनि ऊ पछि लागी।
अब के भन्नु ! हामी सँगै क्याफेतिर लाग्यौं।
मार्चको महिना, मौसम गर्मी नै थियो। क्याफे पनि त्यति व्यस्त थिएन। टेक अवे कपमा कफी बोकी हामी बाहिर निस्क्यौं।
ताराले भनी, ‘अर्को क्लासलाई त अझै टाइम छ। कतै बसेर कफी पिउँ अनि सँगै जाउँला नि, हुन्न?’
हामी कफी लिएर टेरेसको कुर्चीमा बस्यौं। उसले एक सिप कफी फु गर्दै सुर्रर पिई। मैले उसलाई हेरिरहेँ।
‘कफीको त बासै मिठो, नाइँ !’ उसले कफी कप नाक नजिक लग्दै भनी।
‘अँ,’ मैले भनेँ, ‘मलाई नि मन पर्छ कफी।’
‘तर याँ’को कफी भक भक तातो ची नहुने! आफूलाई भने जिब्रो डाम्ने तातो चाहिने!’ उसले हाँस्दै अर्को घुड्को कफी पिई।
म हाँसेँ।
अनि सोधी, ‘कता बस्छौ नि?’
‘लिभरपुल। तिमी?’
‘सेभेन हिल्स। को को छन् नि परिवारमा ?’
‘डयाड, मम् र म।’
‘लक्की,’ ताराले भनी।
‘हामी त चार चार जना। दाजुको चाहिँ बिहे भैसक्यो। ऊ अमेरिकामा छ। दिदी, भाइ र मो, बाबा ममीसँग यता आ’को।‘
‘अनि रमाइलो लागि रा’छ यहाँ!’
‘यस्तो देशमा कसलाई नरमाइलो लाग्ला! म त मस्ती रमा’ छु नि। खाली आमा चै मिस भई र’छ,‘ ताराले उदास अनुहार लगाई।
‘आमा?’ म अचम्म परेँ।
‘मेरो मतलब, बजै,’ उसले बुझाई।
‘सबैले बजै भन्छन्। म चैं आमा भन्छु!’ अनि एकछिन टोलाउँदै भनी, ‘सेभेनटीको भइसक्नु’भो आमा! तर सिक्सटीको जस्तो एनर्जी छ। हाम्रो खुब कुरा मिल्थ्यो। म जिस्किरन्थे उहाँसँग। सारै मिस भा’छ आमा!’ उसले अँध्यारो मुख लगाई।
‘बाबा’ले पनि के गर्नु’भो के। भिसा निवेदनमा हामी सप्पैलाई हाल्नु भे’छ, आफ्नै आमा चैं छुटाउनु भे’छ ! त्यस्तो नि कसरी भो’ !’ उ अचम्म परे झैं गरी मलाई हेरी। ‘अब अहिले चाहिँ आमा उता एक्लै भनी बाबा यता चिन्ताले फटफटाई र’नु भा’छ। आमा झिकाउन भिसा निवेदन दिइसक्नु’भो अब भिसा दिने हो कि नाइँ !’
ऊ मलाई आफ्नो हरेक कुराहरू सुनाउँथी। बिस्तारै बिस्तारै हामी कलेजमा सँगै हिँड्न थाल्यौं। मलाई उसँगको गफगाफ रमाइलो लाग्न थाल्यो। ऊ न त बोल्दा कुरामा ब्रेक लाउँछे, न त उसको कुरामा कुनै फिल्टर नै हुन्छ। ओपन एंड फ्रेंक। जे मनमा छ त्यही बोल्छे। केही बनावटीपन छैन। हामी बिस्तारै राम्रो साथी बन्यौ।
एकदिन सँगै कफी पिइरहेको बेला ताराले सोधी, ‘तिम्रो ब्वाइ फ्रेण्ड छ?’
म उसको प्रश्नमा रमाएँ, ‘ब्वाइ फ्रेण्ड भए म यसरी सधैं तिमीसँगै कफी डेटमा हुन्थेँ! हा हा।’
‘किन ब्वाइ फ्रेण्ड हुनेले कफी पिउँदैनन् ?’ तारा हाँसी। ‘कि ब्वाइ फ्रेण्ड हुनेको केटी साथी हुँदैन?’
‘यु आर फनी’, म रमाएँ। ‘केटी साथी त हुन्छ नि ! तर ब्वाइ फ्रेण्डलाई टाइम नदिई केटी साथीलाई कसले टाइम दिन्छ ! हा हा।’
‘कुरो त सही हो।‘
‘अनि तिम्रो नि ?’
तारा मुस्काई, ‘थियो। नाम प्रवेश,’ ऊ अलिकति लजाई।
‘तर प्रेमको रंगमञ्चमा म कुशल कलाकार भने कहिल्यै बन्न सकिनँ।’
‘मतलब?’
‘मतलब’, ऊ फेरि मुस्काई।
‘प्रेम भनेको नाटक रै’छ। प्रेमको नाटकमा राम्रो अभिनय गर्न सारै गारो! मेरो प्रेम त प्रेमको तराजुमा हिसाब नमिली सधैं ठगियो। हिसाब मिलाउने कोसिसमा धेरै समय बित्यो तर हिसाब कहिले मिलेन! ही ही ही।’
म अकमक्क परेँ। भनेँ, ‘व्हाट आर यू टकिङ अबाउट! अलि बुझ्ने गरी भन न!’
ऊ मज्जाले हाँसी।
मैले भनेँ, ‘तिम्ले फूलबुट्टे कुरा गरी इनटेंन्सनल्ली मलाई गारो पार्न खोजेको। आई न्यू ईंट!’
‘त्यस्तो हैन’, उसले हाँस्दै थपी, ‘मैले भनेको, प्रेम यानेकी लभ पनि हिसाब मतलब म्याथ्स् झैं हुँदो रै’छ के! प्रेममा जोड, घटाउ, गुणा, भाग सबै हुने, म्याथ्समा जस्तै। अनि जब प्रेममा केबल दिनु पर्ने मात्र हुन्छ, तब हिसाब मिल्दैन। हिसाब मिलाउने कोसिस गर्दा गर्दा मानिसको मगज थाक्छ तर प्रेमको तराजुमा प्रेमको ओजन कैले सन्तुलन नै हुँदैन। सायद त्यसैले म सधैं प्रेमको गणितमा अल्मल्लिएँ अनि सधैं हिसाब नमिलेर फेलका फेल! ही ही ही। अब बुझ्यौ !‘ ऊ रमाउँदै हाँसी।
‘नट फनी,’ मैले निधार खुम्चाएँ। भनेँ, ‘ह्वाट एभर!’
‘ओक ओके। सरी। तिमीसँग मजाक गर्न मन लागेर! लंग स्टोरी सर्ट, प्रवेशसँग कैले कुरा मिलेन। सो हाम्रो ब्रेकअप भो!’
‘जिज ! यति सिम्पल कुरालाई कति कम्प्लेक्स बना’को! लभ दिज डेज नह! सो इजी टु ब्रेकअप ! त्यसैले मैले त कैले लभ नै गरिनँ, हा हा!’
‘र त मेरो आमा सधैं भन्नु हुन्थ्यो, हामी त सरमहारा र स्वार्थी पिँढी अरे। मायाप्रेम के हो हामीलाई ज्ञान नै छैन अरे।’ ऊ आमालाई सम्झी एकछिन टोलाई।
अनि फेरि हाँस्दै बोली, ‘हाम्रो आमालाई बेलाबेलामा उहाँको विगत कोट्याई दिनु पर्थ्यो अनि माया प्रितीका कुराहरू निकाली दिनु पर्थ्यो, यसै दंग परी आफ्नो पूरै राम कहानी सुनाउनु हुन्थ्यो!’ तारा मुस्कुराई।
‘साँच्चै हो, हरेक मानिस भित्र एक निर्लज पशुको बास हुने! आमा भित्र पनि एक पशु थियो। त्यतिखेरको समाजको बन्देजले त्यो पशु जाग्न मात्र पा’को थे’न। तर म बेलाबेलामा त्यस पशुलाई जगाउने प्रयास गर्थें!’
‘नटी नटी,’ मैले तारालाई जिस्काएँ।
‘बुढी हजुरआमासँग पनि जे पायो त्यही कुरा गर्ने ! छी!’ तारा रमाई।
‘ठिक भन्यौ। म अलि नटी नै’थे। फेरि आमा पनि त नटी कुरा गर्दा रमाउनु हुन्थ्यो !’ ऊ हाँसी, ‘एउटा इन्ट्रेस्टिङ कुरा सुन्छौ ?’
‘सुनाऊ।’
‘केही वर्ष अघिको कुरा। माघ महिना थियो। हुस्सु फाड्दै सूर्यका किरणहरूले घरको कौसीलाई चुमी रहेथ्यो। ए नानी, घाम आयो जस्तो छ कौसीमा। मलाई लई’देन, आमाले भन्नु’भो। आज घुँडा अलिक बढी नै दुखेछ। चिसो त यो बुढो हड्डीलाई हुँदै हुँदैन।
के को बुढो हुनु नि हजुर! मैले जिस्काएँ। हजुर त ममी झैं जवान देखिनु हुन्छ। ममी त के ? सान्दी जस्तो भने नि हुन्छ। झन् जामा लगायो भने त ठ्याक्कै सान्दी!’
‘को सान्दी ? तेरो आमाको बैनी भनेकी ! रा...म ! के को देखिनु उनी जस्ती ! तिनी त पुतली हुन्, पुतली!’
‘हजुर पनि पुतली। सत्ते, कपालमा अलिक कालो हाल्ने बेला भएछ हजुरको। कपालमा कालो हाली जामा लगायो भने त...!’
आमा लजाऊनु’भो। अनि आफ्नो कपाल चुल्ठोलाई छातीतिर तानी थप्नु’भो, यी कपाल घोडाका पुच्छर झैं बाक्ला र सर्लक्क परेका’थे। क्यार्नु, झरे सबै! अनि मुस्काउँदै टाउको मेरो कानैनिर ल्यायी भन्नु’भो, ए बा, सुन न यता। अर्को पाली सहर जाँदा एक भाँडो कालो ल्याइ’देन है।’
‘हस्, कालो नि ल्याउला अनि जामा नि!’
‘लौ के बोलेकी त्यो! अहिले जामा लाउने उमेर छ मेरो!’
‘सानोमा लाउँथें भन्नु हुन्थ्यो नि त!’
‘तो त सानोको कुरो!’ उहाँ आफ्नो बालक कालको सम्झनामा मुस्कुराउनु’भो।
‘सानो छँदा बा’ले एक बाजी बनारसबाट जामा किनेर ल्याइदिनु भ’थ्यो। सबैले कति सुहाको भन्थे। गाउँका साथीहरू डहार गर्थे। एकदिन छिमेकीको घरमा बिहे थियो। म आमासँग त्यही जामा लाएर ग’थे। मलाई नाच्न पनि औधी मनपर्ने। जामा लाएर छिमेकीको बिहेमा मज्जाले नाचे। तेरो बाजेले त्यही देखेर मलाई मन पराई माग्न पठा’का अरे। उहाँ फेरि लजाउनु’भो तर अलि उदास भई भन्नु’भो, क्यार्नु ! जामा लाएर नाचेको मन परी बिहे गरेँ तर बिहेपछि न त जामा लाउन दिए न त नाच्न! एकबाजी देवरको बे’मा नाच्दा त झन्डै खुट्टो भाँचेनन्! नाच्ने र जामा लाउने रहर त यसै मनमा रह्यो!,’ आमा पर हेरेर टोलाउनु भो’।
‘अब जामा लाउनोस् अनि नाच्नोस् पनि! अब त बाजे पनि हुनु हुन्न केरे। कसको डर!’
‘समाजको डर हुन्न! के बोल्छे यो!’ उहाँ झट्ट रिसाउनु भो।
‘हस हस। ल नरिसाउनोस्। भनेको पो त! कालो रंग मात्र ल्याइदिन्छु नि त। अनि कालो कपाल पारे पछि त, बेहुला खोजे पनि भो, ही ही ही।’
‘कोल्लाई? तँलाई?’
‘हैन, हजुरलाई।’
‘उत्ताउली मोरी! मोर्ने बेला भा’की बजैलाई बेहुला खोज्छेस्। गिज्याउछे। नकचरी!’
‘केको मोर्ने बेला हुनु नि। नातिनी ज्वाइँ, पनाति हेर्न परेन?’
म ताराको कुरामा मज्जाले हाँसेँ।
भनेँ, ‘यू आर रियल्ली फन्नी!’
‘सुन न पूरा कुरा!’ ऊ झन् उत्साहित भई, ‘अनि मैले नातिनी ज्वाइँ र पनातिको कुरा गरेपछि आमा सन्कीनु’भो। भन्नु’भो, ‘राम ! राम ! अचेलका केटीहरूलाई न लाज न सरम! भो नसकिने! उहाँले मुन्टो अर्कोतिर बटारी भन्नु’भो, ‘लु अब त्यो पारिलो घाम भा’को ठाममा दरी ओछयाइ’दे। म त्यहीँ पल्टन्छु। तँ नकचरीसँग के बात मार्नु! बरू ठुंग हान टाउकोमा!’
‘भर्खर सुतेर उठेको! फेरि पल्टने! हुन्न। ऊ त्यो मुढामा बस्नुस्। बरू ठुंग चाहिँ हानी दिम्ला!’
आमालाई धेरै सुत्यो त भन्नै हुन्न’थ्यो, रिसाउनु हुन्थ्यो। त्यस दिन भन्नु’भो, ‘आज तेरो बाजे सपनामा आउनु भा’थ्यो। कैले आउछ्यौ भन्दै हुनु हुन्थ्यो बरा। धेरै बिलौना गरी बोलाउनु’भो। म त यसरी तर्सेर ब्युँझें कि त्यसपछि निद्रानै छैन। तँ भने खाली सुत्यो भन्छेस्!’
‘ओहो। बाजेको अझै कति मया नि हजुरलाई। राति राति बाजे सपनामा आएर हजुर निदाउन पनि नस्कने! लौन ! त्यो पनि यो उमेरमा! के गर्नु हुन्छ नि सपनामा बाजेले?’
‘लु हेर यो छाड़ा भा’की,’ उहाँ मुसुमुसु गर्दै रिसाएझैं गरी टाउको हल्लाउनु’भो तर बाजेको कुराले उहाँको त्यो चाउरिएको गालामा पनि लाली चड्यो। त्यो उमेरमा पनि लजाउँदा त गुलाफको फूल नै देखिनु हुन्थ्यो आमा!’ तारा फेरि एकछिन बजै सम्झी मक्ख परी। ‘भन्नु हुन्थ्यो, तिमीहरूलाई के था’ मया के हो भन्ने! तिमीहरू त कलीको कालमा जन्मेका खोक्रो मन भ’को पिँढी! सरम भन्ने कुरा अलिकति पनि नभा’का! फेरि हाम्रो जमाना कहाँ तिम’रको जस्तो थियो र मन लागि गरेर हिँड्न पाउने! हाम्रो बा’ले त हाम’लाई घरबाट बाहिरसम्म एक्लै जना दिन्न’थे। पिराती लाउने, मया गर्ने भन्ने त त्यस्तै हो।’
‘अनि कसरी मया बस्यो त बाजेसँग?’
‘यसै बसथ्यो मया!’ आमा रमाउनु’भो। भेट्न पाइन्न’थ्यो केरे। लुकी लुकी झ्यालबाट चिहाएर हेर्दै मया बस्थ्यो। अनि उनको एक झल्को हेर्नलाई दिनभरी झ्यालमा बसेर कुर्नुको मजै अर्कै थियो। एक शब्द बोल्नलाई डराई डराई, लुकी लुकी बोल्न पर्ने! सबै कुरा आँखाको भाकामा बुझ्नुपर्ने अनि इसारा बुझेर कहिले बारीको काल्लामा अनि कैले खेतमा गाई चराउने निउले भेट्नु पर्ने! बरा, खेतमा पनि के को बोल्न पाउनु ! परैबाट यसो चिहाएर हेरी मन बुझाउनु पर्ने!’
‘किन र? खेतमा वस्तुभाउको लाज लाग्ने र बोल्न नपाउनु?’
‘लु हेर के बोलेकी? आफै सोध्छे अनि आफै गिज्याउँछे। हामीलाई मया गर्न न भेट्न पर्थ्यो न बोल्न! इसारा नै काफी। तिम’रको हुन्छ त्यस्तो मया?’
‘लौ त्यस्तो पनि माया रे! त्यस्तो कसरी माया हुन्छ? नबोलेको छ, न मनको कुरा खोलेको छ? हेरेर मात्र नि माया हुन्छ?’ हँसाउनु’भो हजुरले।
‘अनि कसरी हुन्छ त मया ? चुचो मुचो जोडेर?’
‘माया हुन त भेट्नु पर्छ। मनको कुरा भन्नुपर्छ। एक अर्कालाई माया गर्छु भन्नु पर्छ। एक अर्काको बानी चिन्नुपर्छ। त्यसै हुन्छ माया!’
‘लौ, त्यस्तै हुन्छ मया उसो’भे! कुरो गर्छे!’ उहाँ फेरि सन्किनु’भो। बानी चिन्न, समय बिताउन, एक अर्कालाई मनाउन, बुझ्न बुझाउन त सिंगै जीवन बाँकी भइहाल्छ नि ! सुरू मै सबै बुझेर मया गर्यो भने त त्यो मयै भएन। फेरि मन्छेले वर्षौसँगै जिन्दगी बिताउँदा त एक अर्काको बानी चिन्दैनन् अब एक दुई पाली भेटेर चिनिस् मन्छे तैले! तिम’रको यही सोचले त यो जमाना बिग्रेको!'
‘के भ’को छ हाम्रो जमानालाई? सबै जना समान हुनु पर्यो नि आमा। स्वास्नी मानिसले पनि त स्वतन्त्र हुन पाउनु पर्यो नि?’
‘तिम’रको लागि स्वतन्त्रता भनेको खै क्या हो। खुलेआम चुचोमुचो जोड्न पाए तिम’रलाई स्वतन्त्रता भइ’गो’। त्यो टिभीमा आउँछन् नि ति नौटंकीहरू। त्यो जम्मै छाती देखाउने लुगा अनि त्यो...! उनीहरू त्यति छाड़ा भएर हिँड्दा पनि सरम मान्दैनन् केरे। आफूलाई ची भन्न पनि सरम आउँछ ! रा...म रा...म!’
‘अब के भो त, मान्छे जन्मँदा पनि नाङ्गै जन्मन्छन्, मरेपछि पनि नाङ्गै जलाउँछन् अब यो बीचको समयमा पनि नाङ्गै हिँड्न मन लाग्यो होला नि त। हामीलाई के को टाउको दुखाई!’
‘भो नकरा अब। तेसो भे’ तँ पनि नांगै हिँड्नु! अब तेरो बाउलाई भनेर तेरो बिहे चै म नगराई छोड्दिनँ। घरको नाक कटाउने मन्छेको चाला यस्तै हुन्छ।’
‘छ्या हजुर त। जिस्केको पनि नबुझ्ने। अनि कुराको सिलसिला बदल्दै मैले उहाँलाई रमाइलो लाग्ने कुरा सोधेँ, ‘साँच्चि, त्यो बुगेलबाट चिहाएर हजुरले बाजेलाई हेर्दा, बाजेले पनि हेर्नु हुन्थ्यो त?’
उहाँको अनुहारमा फेरि रौनक छायो।
भन्नु’भो, ‘हेर्नु हुन्थ्यो नि, किन नहेर्नु! हुरूक्क भे’र त बिहे गर्नु भ’को तेरो बाजेले मोलाई। ऐलेको जस्तो हो र! त्यतिखेर त एकपटक बिहे गरेपछि जीवन भरको साथ!’
‘भो’ जीवनभरको साथ! भन्ने मात्र हो, कसले दिन्छ र जिन्दगीभरी साथ! अनि हुरूक्क हुनु भ’को भे’ किन फेरि कान्छीआमा ल्याउनु भो’ त बाजेले?’
‘लौने मान्छेले त जे गरे पनि हुन्छ। त्यति फेर त कानूनले पनि कान्छी ल्याउन दिन्थ्यो केरे।’ उहाँको आवाज मसीनो भो’।
‘बाजेले कान्छी ल्याउँदा हजुर कसरी रुनु भा’थ्यो, सम्झिनुस् त!’
‘अब लौने मान्छेले अर्की ल्यायो भन्दैमा आइमाईहरूले पनि जोडका तोड गर्न हुन्छ? लौने मन्छेसँग स्वस्नी मानिसले जोरी खोजेर क्यार्ने! उनले अर्को बिहे गरे पनि त मेरो साथ त छोडेनन् केरे।’
‘त्यस्तो साथको के काम जब आफ्नो सट्टामा अर्को ल्याउँछ अनि माया बाँडिन्छ!’
‘यै सोचले त अचेलको नातो, सम्बन्ध नटिकेको!’ अनि फेरि आमा एकछिन टोलाउँदै उदास हुनु’भो, ‘हुन त नानी, तेरो बाजेले कन्छी ल्याउँदा मन त सारै रोए’थो मेरो पनि! तर मया भन्ने चिजै यस्तो रै’छ के। आफूले मया गरेको मान्छेले जे गरे पनि माफी दिन मन लाग्ने। मोईले पनि उनलाई माफी दिएँ।’ ताराले मलाई हेरी, ‘ल हेर त। त्यति खेरको मया प्रेम कति पवित्रको हुने! खुसी साथ स्वीकारी दिनु’भो सौता पनि!’
मैले टाउको हल्लाएँ। भनेँ, ‘हैन। त्यो पवित्र प्रेम हैन। इट्स इन्सेक्युरिटी!’
‘भन्नाले?’
‘भन्नाले, तिम्रो आमाले संरक्षण र सुरक्षाको लागि गरेको सम्झौता हो त्यो। उहाँसँग अर्को अप्सन हुँदो हो त बाजेले कान्छी ल्या’कै दिन आमा घर परिवार छोडेर जानु हुन्थ्यो, नो डाउट।’
‘त्यो त हो,’ ताराले सही थापी।
‘अनि फेरि आमालाई पनि सौता भएपछि आफ्नो भ्यालु हुँदैन भन्ने फिल त हुँदो हो। तर डर पक्कै थियो कि बाजेले घरबाट निकाली दिनु’भो भने फेरि कहाँ जाने! राइट?’
‘कुरो त गलत हैन!’ तारा केही सोचमा परी अनि समर्थन गर्दै टाउको हल्लाई, ‘वास्तवमा नारीहरू त्यतिखेर पनि लाचार थिए अनि अहिले पनि कैयौं नारीहरू लाचार नै छन्। के गर्ने ! मारे पाप पाले पुण्य भनी दान दिने वस्तु ठाने नारीलाई! लाचार त हुने नै भए!’
‘द्याट वाज देन,’ मैले भनेँ।
‘अहिले त नेपालमा त्यस्तो छैन नि। सबै चेन्ज भैसक्यो।’
‘सबै चेन्ज भा’को छैन। पर गाउँ घरमा हेर्न जाऊ न! केही त बदलेको छैन। आइमाईहरूको जीवन त्यस्तै छ। तर एउटा कुरा, त्यति खेरको प्रेम अहिलेको जस्तो सेलफिस चाहिँ हैन। अहिले त केटा होस् कि केटी सबै सेलफिस!’
‘वास्तवमा लभ इट सेल्फ इज सेलफिस! अहिले होस् कि पहिले! मलाई त लाग्छ लभ उमेरसँगै मन भित्र जन्मन्छ अनि सायद उमेर सँगै मर्छ, हा हा।’
‘सही हो। फेरि, न त प्रेम जन्माउँछु भनेर जन्मिने रै’छ न त मर्न लागेको प्रेमलाई बचाउँछु भनेर बचाउन सकिने! समयसँगै यौवन बनी फुल्ने प्रेम वृद्ध बनी ढल्दो रै’छ, निरस र निरास भई! आमाको जस्तै!’ तारा टोलाउँदै बोली, ‘तर प्रेमको कस्ती कहाँ होला र उतारचडावको छालमा नतैरीएको? खैर, जे जस्तो भने पनि अनि प्रेम बदलिएर जे’मा परिणत भए पनि आखिरमा पहिलो प्रेमको पहिलो झस्काले मुटुमा दिने कम्पन भने सधैं अजर अमर नै हुन्छ। म त अहिलेसम्म पनि आफ्नो फर्स्ट लभ सम्झन्छु, ही ही ही।’
‘सायद तिम्रो बाजे पनि आमा’को फर्स्ट लभ होला। त्यसैले सी गेट्स अम्यूजड टु टक अबाउट हिम!’
तारा यसरी नै मलाई आफ्नो बजैको रमाइलो कुराहरू सुनाई रहन्थी।
ताराले आमा’को भिसा लाग्यो भनेको करिब दुई महिनापछि उहाँ सिड्नी आइपुग्नु’भो। तारा सारै खुसी थी’। उसले मलाई पनि उसको आमासँग भेटाई। आज फेरि ताराले उसको घरमा आमा आ’को उपलक्ष्यमा सानो जमघट छ भन्दै मलाई बोलाई। उसको घरमा निकै मानिसहरू भेला भए’थे। सायद सबै उसका आफन्तहरू। म त्यहा पुग्दा बाहिर परगोलामा केही महिला र केटाकेटीहरू नेपाली गीतमा मस्त नाचिरहेथे। त्यही नाच्नेहरूको भिडमा एक जना मिड्डी लगा’की बुढी आमा पनि निर्धक्क नाची रहनु भएथ्यो। कपाल पनि कालै रंगाएको बुढीआमा ताराको आमा झैं लाग्यो।
मैले तारालाई सोधेँ, ‘त्यो नाच्ने बुढीआमा तिम्रो आमा हैन?’
‘हो त। जामामा आमा!’ ऊ मुस्काई।
‘बालककालदेखि गुम्सेको रहर अहिले आएर पुर्याउँदै हुनु हुन्छ! हेर न कस्तो मस्त नाची र’नु भा’छ !’ ऊ आमा हेरी दंग परी। अनि तारा र म पनि रमाउँदै उहाँसँगै नाच्न गयौं।
आमा खुसी हुँदै हाम्रो हात समाई एकछिन हामीसँग नाच्नु’भो।
‘हजुर त कपालमा कालो हाली मिड्डी लाउँदा त कस्तो जवान देखिनु’भो! मैले त चिन्नै नसकेको!’ मैले उहाँको कानैनिर मुख लगेर खुसुक्क भने। उहाँ लजाएर हाँस्नु’भो।
केही छिन नाचेपछि हामी आमासँगै पर काउचमा गएर बस्यौं। मैले फेरि तारालाई भने, ‘आमालाई मिड्डी कति राम्रो सुहाको! अनि फेरि आमाले नाचेको पनि कति राम्रो!’
‘हो त कस्तो सुहाछ नि जामा!’ ताराले आमा’लाई हेरी। ‘अब सधैं जामा लाउने अनि नाच्ने, हैन त आमा!’
उहाँ थोतो दाँत देखाउँदै खुत खुत हाँस्नु’भो।
भन्नु’भो, ‘कतिले गिज्याए होलान् बा’। भने होलान्, मोर्ने बेला भा’की बुढी! यो उमेरमा जामा ला’छे। नाचे’छे! राम राम!’ उहाँ आफ्नो कुरामा फेरि खुत खुत हाँस्नु’भो। ‘तिमीहरू भने मोलाई उक्साउँछौ!’
‘हा हा। कल्ले गिज्याउने हजुरलाई! यहाँ कसैले नि गिज्याउँदैन। अब त आमा, सधैं लाउने जामा, हा हा!’
‘लु हेर नानी! अरूलाई के भन्नु, यसैले गिज्याउँछे मोलाई।’ अनि एकछिन खोक्दै थप्नु’भो, ‘क्यार्नु। आइमाईको रहरलाई नि बा’ उमेरले रोकटोक लाउन्न र’छ। रोकटोक लाउने त समाज र’छ! फेरि यहाँको समाजमा त कसैलाई कसैको मतलबै नहुने! कल्ले के भन्ला भन्ने चिन्तै नाइँ! त्यसैले मैले पनि आफ्नो रहर पुर्याइहालेँ!’
आमा जामा सरक्क मिलाउँदै दंग परी हाँस्नु’भो। अनि तारालाई भन्नु’भो, ‘ए नानी, तेरो फुन खै हँ? यता ले’र आइज त बा! यी नानी सँगै एउटा स्यालफी हान् हान्!’
उहाँको कुरामा हामी मज्जाले हाँस्यौं।
ताराले भनी, ‘उमेर जे सुकै होस् न, जिन्दगीको मजा त यसरी लिनु पर्छ! ल आउनोस् आमा सेल्फी हानौं !’
उहाँले सेल्फी खिच्न कपाल मिलाउँदै पोज दिनु’भो। जामा फेरि तानेर सपक्क पार्नु’भो अनि थोतो दाँत देखाई मज्जाले हाँस्नु’भो।
‘बिचरी आमा’लाई यति सानो रहर पुर्याउन यत्रो वर्ष कुर्नु पर्यो !’ ताराले सेल्फी फोटो हेर्दै भनी।
‘ढिलै भए पनि रहर त पुग्यो!’ मैले भनेँ।
‘सही भन्यौ। अब फोटो गयो इन्स्टामा! क्याप्सन भयो, ‘जामामा आमा’! हा हा।’