जेन–जी आन्दोलनपछि भदौ २४ गते सिंहदरबारमा भएको आगजनीमा परेर गृह मन्त्रालयमा भएका ५३ हजार अंगीकृत नागरिकताको अभिलेख जलेर नष्ट भएको छ।
गृह मन्त्रालयका सहायक प्रवक्ता रविन्द्र आचार्यका अनुसार अंगीकृत नागरिकता सम्बन्धी मन्त्रालयमा भएका अभिलेख नष्ट भएका हुन्।
‘अंगीकृत नागरिकताको अभिलेख मन्त्रालयमा थियो,’ आचार्यले भने, ‘नयाँ दरखास्त दिनेदेखि प्रारम्भिक अभिलेखहरू सबै जल्यो।’
गृह मन्त्रालयको नागरिकता महाशाखाका अनुसार हालसम्म झण्डै ५३ हजार जनाले अंगीकृत नागरिकता प्राप्त गरेका थिए। जसमध्ये १७ हजार व्यक्तिको अभिलेख स्क्यान गरेर कम्प्युटरको हार्डड्राइभमा राखिएको थियो। स्क्यान कपी भएका ल्यापटप, कम्प्युटर सहित सबै उपकरण समेत ध्वस्त भएका छन्।
अंगीकृत नागरिकताको विवरण सरकारको एकीकृत डेटा व्यवस्थापन केन्द्र (जिआइडिसी) मा राखिएको थिएन। जिल्लाहरूबाट वितरण हुने नागरिकताको विवरण सिटिजनसिप म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (सिआइएमएस) मा हुँदै एकीकृत डेटा व्यवस्थापन केन्द्रमा सुरक्षित रहन्छ। तर अंगिकृत नागरिकताको विवरण भने गृह मन्त्रालयमा मात्र थियो।
महाशाखा प्रमुख सुरेश पन्थीका अनुसार अंगीकृत नागरिकताको विवरण धमाधम डिजिटाइज गर्ने काम भइरेहको थियो।
‘अंगीकृत नागरिकताको विवरण मन्त्रालयले अहिलेसम्म डिजिटाइज गरिसकेको थिएन। अहिले डिजिटाइज गर्ने प्रक्रियामा थियौँ,’ पन्थीले भने, ‘१७ हजार नागरिकता सम्बन्धी विवरण डिजिटाइज भइसकेका थिए। तर प्रणालीमा राखिएको थिएन। स्क्यान गरेर राखिएको थियो। हार्डडाइभमा भएका यी सबै विवरण कम्प्युटरसँगै नष्ट भएका छन्।’
पन्थीका अनुसार झण्डै ५३ हजार अंगीकृत नागरिकतासम्बन्धी विवरण सम्पूर्ण रूपमा नष्ट भएका छन्। नागरिकता महाशाखामा भएका सबै कागजात ध्वस्त भएका छन्।
नागरिकता महाशाखाको विवरण जलेपछि नागरिकताको प्रतिलिपी निकाल्ने र अन्य परिवारका सदस्यलाई नागरिकता दिने काम प्रभावित हुने देखिएको छ। तर गृह मन्त्रालयले नागरिकताको काम नरोक्न ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई जारी भएका नागरिकताका आधारमा नागरिकता प्रदान सम्बन्धी कार्यविधि बनाएर पठाएको छ।
‘हामीले असोज २० गते सबै ७७ जिल्ला प्रशासनहरूलाई अंगीकृत नागरिकताको विवरण जलेको उल्लेख गर्दै परिपत्र गरेका छौँ,’ सहायक प्रवक्ता आचार्यले भने, ‘डिजिटाइज गरेका र भौतिक विवरण जलेको भनेर परिपत्र गरेका छौँ।’
मन्त्रालयका अनुसार परिपत्रमा अंगीकृत नागरिकता भएको व्यक्ति सेवा प्राप्त गर्न आए कसरी सेवा (प्रतिलिपी निकाल्न, परिवार सदस्यको नागरिकता दिलाउन) दिने भन्ने उल्लेख छ।