कर्णाली प्रदेशसभाको चौथो अधिवेशनको ३२औँ बैठकबाट ‘प्रदेशमा खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ पारित भएको छ ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले सामाजिक विकास समितिको भएको छलफलको प्रतिवेदन पेश गरेका थिए । तत्पश्चात् सामाजिक विकासमन्त्री रावलले प्रतिवेदनसहितको प्रस्ताव प्रदेशसभामा पेश गरेलगत्तै ‘प्रदेशमा खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सर्वसम्मतले पारित भएको थियो ।
त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले सभामा ‘उपभोक्ता संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ छलफलका लागि सभामा पेश गरेका थिए भने सामाजिक विकासमन्त्री दल रावलले ‘प्रदेशमा स्वास्थ्य सेवा प्रवाह गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ प्रदेशसभामा पेश गरे ।
दुवै विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्यहरु अमृता शाही, देवी ओली, सीताकुमारी ओली, कृष्णा शाह, दिनबन्धु श्रेष्ठ, अमरबहादुर थापा, गोपाल शर्माले भाग लिएका थिए ।
प्रदेशसभामा छलफलपछि सभामुख शाहीको निर्देशनबमोजिम उद्योगमन्त्री बुढा र विकासमन्त्री रावलले ‘उपभोक्ता संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ र ‘प्रदेशमा स्वास्थ्य सेवा प्रवाह गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ थप छलफलका लागि समितिमा पठाउन प्रस्ताव गरे ।
उपभोक्ता संरक्षण विधेयक र स्वास्थ्य प्रवाह गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक थप छलफलका लागि अर्थ तथा प्राकृतिक स्रोत समिति र सामजिक विकास समितिमा पठाउन गरिएको प्रस्ताव पनि प्रदेशसभाबाट पारित भएको छ ।
(रासस)