नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद महेश बस्नेतले समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवको अपहरणको आरोप खण्डन गरेका छन्।
सेतोपाटीसँगको कुराकानीमा उनले यादवसँग महोत्तरीमा भेट भएको र सँगै काठमाडौं आएको बताए।
'हामी उहाँको घरमा गएर खाना खाएर सँगै आएका हौं। उहाँको श्रीमतीले अपहरण भन्नु भएको छैन, भिनाजु र पिएसओसँगै आएका छन्', बस्नेतले भने, 'यो विश्वदीप जीको फण्डा हो। आफूले गरे, आफ्ना भए मजुर, अरूले गरे सुंगुर।'
समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले बुधबार दिउँसो र बिहीबार बिहानसम्म आफ्ना पार्टीका सांसदलाई बस्नेतसहित पूर्वआइजिपी सर्वेन्द्र खनाल र नेकपाकै अर्का सांसद किसान श्रेष्ठले ‘अपहरण’ गरेको आरोप लगाएका थिए।
बस्नेतले भक्तपुरमा अलपत्र मजदूरहरूलाई पुर्याउन काभ्रेको भकुण्डेबेंसी पुगेको र त्यसैक्रममा किसान श्रेष्ठ सँगै महोत्तरी पुगेको बताए।
सर्वेन्द्र खनालसँग पनि भकुण्डेबेंसीमा भेट भएको उनले उल्लेख गरे।
'सुरेन्द्रजीसँग भेटपछि राजनीतिक कुराकानी भए। उहाँको पार्टीमा गम्भीर समस्या रहेछन्', बस्नेतले भने, 'हिजोसँगै सरकारमा रहेकाले मित्रता हुने कुरा स्वभाविक भयो। त्यसक्रममा राजनीतिक कुराकानी भए।'
उनले सुरेन्द्र यादवको घरमा खाना खाएपछि फर्कनेक्रममा सुरेन्द्र यादवले समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियासँग कुराकानी गरेको बताए।
'उहाँले पार्टीका समस्या राख्नुभयो। भोगाइ राख्नुभयो। २ बजेसम्म उहाँकै घरमा बस्यौं। उहाँले आफ्नै पार्टीका धनुषाका माननीय भेट्न चाहनुभयो', बस्नेतले भने, 'त्यसपछि उहाँहरूले पार्टीका समस्याबारे प्रधानमन्त्रीलाई सन्देश दिनुहोस् भन्नुभयो।'
उनले 'काठमाडौंको सांसद गएर देहातबाट कुनै सांसद अपहरण गर्न सम्भव छ?' भन्दै प्रतिप्रश्न गरे।
बस्नेतले अपहरणको नाममा आफूहरूको चरित्रमाथि प्रहार भएको बताए। 'बाबुरामले अरू नेतासँग बसेर गरेको राजनीतिक गफ हुने हामीले कुरा गरे अपहरण हुने', बस्नेतले भने, 'उहाँहरूले बरू आङकाजी शेर्पाको मान्छे खटाएर राति मेरियट होटलबाट उहाँहरूलाई ल्याउनु भएछ।'
'राति तीन वटा गाडी लिएर गएर उहाँलाई फुत्काइएछ', बस्नेतले भने, 'अशोक राई पनि हुनुहुन्थ्यो भन्ने सुनियो। तर सुरेन्द्र यादवको फोन अफ भएकाले कुरा हुन सकेको छैन। त्यो अपहरण हो कि खुसीले जानुभयो भन्न सकिन्न। तर बाबुरामजी र विश्वदीपको योजनामा जबरजस्ती लैजानुभयो।'
राई समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष हुन्। त्यस्तै आङकाजी शेर्पा जनजाति आन्दोलनका अभियन्ता हुन्।
यो पनि पढ्नुस्:
उनले समाजवादी पार्टीभित्र विद्रोहको सम्भावना देखिएकै कारण राजपा र समाजवादी पार्टीबीच एकता भएको बताए।
'कत्रो समस्या पार्टीमा रहेछ भन्नेले उहाँहरूको पार्टी रातारात एकता भएकोबाट देखिन्छ', बस्नेतले भने, 'अब माछा पोखरीबाट बाहिर आउन खोज्दा घाममा मार्नुभन्दा पानी हालेर जीवित तुल्याउनु उचित हैन र! '
उनले समाजवादीका सांसदले फोनमा प्रधानमन्त्रीसँग प्रत्यक्ष कुराकानी गरेको विषयमा उल्लेख गरेनन्।
'अप्रत्यक्ष कुराकानी भयो', बस्नेतले भने, 'प्रधानमन्त्रीको पहलमा पार्टी फोरेको भन्ने होइन। उहाँहरूको असन्तुष्टि रहेको थाहा भएपछि राजनीतिक भविष्य बोकेका मान्छेसँग कुरा भैहाल्छ।'
उनले पूर्वआइजिपी सर्वेन्द्र खनाल रिटार्यड भैसकेकाले राजनीतिक कुराकानीमा सरिक हुनु सामान्य भएको टिप्पणी गरे।
'स्वभाविक ढंगले सचेत नागरिकले यस्ता छलफल बहसमा भाग लिन्छ', बस्नेतले भने।
उनले यादवसँग प्रधानमन्त्रीको बिहीबार बिहान भेट गराउने कुरा भएको बताए। 'प्रधानमन्त्रीलाई हामीले सांसद यादवले भेट्न चाहेको कुरा गरेका थियौं। सहकार्यको कुरा थियो', बस्नेतले भने, 'हामीले रेस्ट गर्नका लागि होटल मेरियट छाडेका थियौं।'