नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीका चयनको जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ।
प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा प्रचण्डले बुधबारको केन्द्रीय कमिटी बैठकमा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने जानकारी दिएका थिए।
बुधबारको बैठकले १ सय २५ सदस्यीय पोलिटब्युरो, ४१ सदस्यीय स्थायी कमिटी र पदाधिकारीको चयन गर्ने माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले बताए।
‘स्थायी कमिटी र पोलिटब्युरोमा रहने व्यक्तिबारे सामान्य छलफल भयो तर पदाधिकारीबारे भएन,' उनले भने,'भोलिको बैठकमा अध्यक्षले पेश गर्नुहुन्छ। त्यसपछि थप छलफल हुन्छ।'
माओवादी केन्द्रमा कति पदाधिकारी रहने अझै टुंगो लागिसकेको छैन। गत पुसमा भएको आठौं महाधिवेशनले पदाधिकारीको संख्या र चयन गर्ने जिम्मेवारी केन्द्रीय कमिटीलाई दिएको थियो। गत फागुनमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी चयन गर्न सकेको थिएन।
आइतबारदेखि जारी केन्द्रीय कमिटीको बैठकमा समेत पदाधिकारी चयन गर्नुपर्ने आवाज उठेको छ।
मंगलबारको बैठकमा प्रचण्डले जवाफ दिने कार्यक्रम थियो। तयारी नपुगेको भन्दै बुधबारका लागि बैठक सरेको छ।