मेरो एउटा सानो शल्यक्रिया गर्नु थियो। एकाबिहानै त्यसैका लागि अस्पताल गएँ। शल्यक्रियाको पैसा जम्मा गर्नेदेखि भर्नाको सबै प्रक्रिया पूरा गरियो। एक घण्टा जतिको पर्खाइपछि मलाई शल्यक्रिया वार्डमा लगियो।
थोरै समय त्यहाँ कुरिसकेपछि क्यानुला राखियो र शल्यक्रिया गर्न लग्नु भयो। त्यहाँ पुगेपछि मेरो शल्यक्रियाको लागि गरिने अगाडिको प्रक्रिया सुरु भयो। म बेहोस भएको थाहा नि पाइनँ।
मेरो आँखा खोल्दा म अर्कै वार्डमा थिएँ। आँखा खोल्दै बन्द गर्दै गर्दा तेस्रो प्रयासमा मैले पूरा आँखा खोल्न सकेँ।
त्यसपछि नर्सहरू आउनु भयो, फ्लुड चढाउनु भयो।
यता उता हेर्दै जाँदा आफ्नो पुरै होस आएपछि सबैको मुखबाट एउटै नाम सुनियो, आरती।
कसैले आरती दिदी, त कसैले आरती। राउन्डमा आउने सबै डक्टरको मुखबाट एउटै नाम सुनिन्थ्यो, आरती।
अरू पनि धेरै नर्स छन् तर उसको नाम मात्र किन भनेको होला भनी सोचिरहेको थिएँ। हेर्दै जाँदा उसको काम व्यवहारले मेरो मन लोभियो। मेरो आफन्त दुई जना आउँदा अर्को नर्सले मजाक गर्दै ‘अब तपाईंलाई भित्र आउन दिन्नँ’ भनिन्। मेरो आफन्तले पनि जिस्केर ‘तपाईंले नै यस्तो भनेर हुन्छ त’ भनेपछि उनले मुसुक्क मुस्कुराउँदै भनिन्, ‘तपाईंहरू पनि दुई जना आउन त नहुने हो’ भनिन्। अनि आफन्तले एकछिनमा जान्छौँ भन्नुभयो। उनले नि हस् भनिन्।
केही समय चुपचाप भयो। एकछिनमा उनले मेरो डकुमेन्ट हेरेर म भएको ठाउँमा डकुमेन्ट मिलाउँदै भनिन्, ‘तपाईंको घर पश्चिम हो?’
मैले हो भनेँ।
उनले कुन ठाउँ भनिन्।
मैले अछाम हो भनेँ र साथै किन भनेर सोधेँ।
उनले भनिन्, ‘विष्ट प्रायः पश्चिमकै हुन्छन्। म पनि पश्चिमकै हो, महेन्द्रनगरको पहाड डडेलधुराको।’
मैले ए आफ्नै ठाउँको हुनु हुँदो रहेछ भनेँ।
सानो कुरा सकियो अनि उनी आफ्नो काममा व्यस्त भइन्। त्यहाँ भएको सबै नर्सले ‘दिदी यो के गर्न, त्यो के गर्ने?’ भन्दै सोधिरहेकै हुन्थे। सानो-सानो कुरा पनि अरूलाई नभनेर अगाडि आफै काम गर्न सक्रिय थिइन् उनी।
बिरामले खाएको चिया पोखिँदा समेत आफूले खाने ग्रिन-टी बनाएर बिरामीलाई खुवाउने गर्थिन्। अनि पोखेको चिया सफा गर्दिने सब आफै गर्थिन्। सरसफाइ गर्ने दिदी नि हुनु हुन्थ्यो तर उनी आफैँले सबै काम गर्थिन्।
अस्पताल बसाइ भर उनी एकचोटि नि बसेको देखिनँ मैले।
मैले एकछिनमा सोधिहालेँ, ‘ड्युटी कति बजेसम्म हो?’
उनले भनिन्, ‘एकछिन पछिसम्म हो। यो ह्यान्डओभर दिँदा १ घण्टा जस्तै लाग्छ।’
मैले ड्युटी सुरु कति बेलाबाट हो भनेर सोध्दा बिहान ६:३० बाट हो भनिन्। अनि ड्युटी सकिने बेलुका ७ बजेपछि। त्यसमा पनि ह्यान्डओभर दिँदा झन्डै ८ बज्दो रहिछ।
एक चोटि नि नबसी अनि त्यही माथि मिठो मुस्कानसहित बिरामीको स्याहार गर्ने। सायद यही होला एउटा नर्समा हुनु पर्ने गुण। बिहानबाट न खाना खाने समय न त बस्ने समय। त्यही नि पुरै जोसको साथ कति पनि इनर्जी कम नभए जसरी काम गर्नु। छुट्टी हुँदा अरू नर्स कति बेला सकेर जाऊँ हुँदा उसले फर्की फर्की एक-एक कुरा बुझाएर जानु। अबेर राति हुँदा नि बिना हतार सबै सकाएर जानु। अरू नर्सले पनि आरती दिदी छन् भनेर ढुक्क भएर विश्वास गरेर बस्नु। यति गरेर उनी घर गइन्।
राती अन्य नर्सको ड्युटी थियो। उहाँले सबै काम गर्नु भयो। सबै नर्सहरू नै राम्रो हुनु हुन्थ्यो। तर उनी त्यो वार्डको लागि महान् नै हुन्। राति सुतियो, बिहान उज्यालो भयो अनि म बिस्तारै उठेर ब्रस गर्न जाँदा उनी आएर पनि ड्रेस लगाइसकेको थिइन्। मैले मर्निङ भनेँ।
एकछिनमा फेरि उही लयमा काम देख्दा अझै म उनको कामको फ्यान भएँ। एकछिनमा फ्रेस भएर आउँदा उनी डकुमेन्ट मिलाउँदै थिइन्। मैले कति छिटो आएको भन्दा ‘यस्तै हो’ भनिन्।
‘खाना खाने बनाउने टाइम हुन्छ र? एक्लै भए त खाना खान मन नि लाग्दैन होला यस्तो भएपछि,’ भनेँ।
उनले ‘उम् निद्रा नि पुग्दैन’ भन्दै थिइन्। त्यही नि उनी एक्टिभ भएरै काम गर्दै थिइन्। एकछिनमा राउन्डमा डक्टर आउनु भयो। अरू धेरै नर्स हुँदा पनि जुन डक्टर आउँदा पनि आरती यो ल्याऊ न, यसलाई के भएको, के-के गरेको सबै उनलाई नै सोध्नेदेखि काम गराउने गर्थे।
सानो-सानो कुराहरू पनि आफैँले गर्ने, अरूलाई नभन्ने बानी नि थियो।
बिहानदेखि बेलुकीसम्म एक चोटि नबस्दा थकाइ लाग्दैन र भन्दा अब बानी नै भइसक्यो भनिन्।
त्यो समयमा उनले गर्ने काम भनेको बिरामीलाई औषधि दिने, बेड मिलाउने, बिरामीलाई खाना के खान मन छ सोधेर खाना मगाउने, डकुमेन्ट मिलाउँदै बिरामीसँग हँसिलो तरिकाले बोल्ने, बुझाउने, साना फोहोर सफा गर्ने तथा रिपोर्टिङ गर्ने, खानेकुराहरू बिरामीलाई खुवाइदिनु, राउन्डमा आउने डक्टरलाई सबै रिपोर्ट बुझाउनु, गर्ने कामको जिम्मा लिनु इत्यादि उनले गरिराख्ने काम हुन्।
यो काम त अरूले नि गर्छ भन्ने होला। तर उनले त्यसमा १००% दिएर काम गरेको देखेको छु। उसको काम प्रतिको इमानदारिता देखेँ। उसले मनबाट नै चाहेर गरेको देखेँ। धन्यवाद तिमीलाई जो आफूलाई भन्दा बढी माया आफ्नो कामलाई गर्छौ। तिमी नर्स मात्र होइन, भगवान् हौ। तिमी माता हौ, तिमी बिरामीको लागि सबै थोक हौ।