दसैँ आउँछ, देशभर रमाइलो र भेटघाटको माहौल चल्छ। सहरदेखि गाउँसम्म माला, टीका, मिठाई र खुसीको रौनक फैलिन्छ। घर–घरमा मिलनको भावना, परम्पराको सुगन्ध र परिवारको माया मिसिएको दसैँले नेपाली मनमा उत्साह भरिदिन्छ। तर अब त्यस्तो दृश्य हरेक गाउँमा पाइँदैन। कतिपय गाउँहरूमा त्यो पुरानो चहलपहल हराइसकेको छ।
पहिले दसैँ नजिकिँदै गर्दा गाउँका हरेक घरमा रौनक हुन्थ्यो। भालेको डाँक, बालबालिकाको हर्ष, बूढाबूढीको तयारी— सबैले मिलेर गाउँलाई उत्सवमय बनाउँथे। बाबियो उठाएर पिङ बनाइन्थ्यो, वरको रुखमा बाँधिएको ठुलो पिङमा मच्चिने रमाइलो हुन्थ्यो। पिङ खेल्न त लाइन लाग्थ्यो, को धेरै उचालिन्छ भन्ने होडबाजी चल्थ्यो। त्यो गाउँको रमाइलो देख्दा लाग्थ्यो, दसैँले गाउँमा साँच्चै प्राण भरेको छ।
तर अहिले त्यो गाउँ सुनसान छ। पिङ बनाउने मान्छे छैनन्, बनाए पनि खेल्ने कोही छैन। धेरै घरमा ढोका छन् तर ढोका ढकढक्याउने मान्छे छैनन्। गाउँमा आवाज छैन, हाँसो छैन, रमाइलो छैन।
काम र अवसरको खोजीमा अधिकांश युवा परदेशिएका छन्। कोही खाडीमा छन्, कोही मलेसिया, कोही कोरिया, कोही जापान, अमेरिका वा अस्ट्रेलियामा। गाउँमा अब बुढाबुढी मात्र बाँकी छन्— जसले दसैँको पर्खाइ अझै पनि गर्छन्, तर अब कोही फर्कँदैनन्।
पहिले जसरी टीका लगाइन्थ्यो, परिवार जम्मा हुन्थ्यो, हाँसो-ठट्टा हुन्थ्यो, अब त्यो परम्परा मोबाइलको स्क्रिनमा सीमित छ। भिडियो कलमै आशिष् र सम्झना बाँडिन्छ तर त्यो माया अब मुहारमा होइन, पर्दामा बाँकी छ। गाउँका खेतबारी बाँझा छन्, आँगन सुनसान छन्।
परम्परा, संस्कार र सम्बन्ध सबै परदेशिएको महसुस हुन्छ। दसैँ अब केवल मितिमा बाँधिएको उत्सव बनेको छ, भावना हराउँदै गएको छ।अवस्था यस्तो छ कि, गाउँको चुलोमा धुवा निस्कँदैन, आँगनमा रमाइलो हुँदैन। गाउँको आत्मा हराएको छ।
नेपालीको ठुलो चाड दसैँले पनि अब ल्याउन नसकेको त्यो पुरानो रौनक कहिले फर्केला?
दसैँ आउँछ जान्छ तर खुसी फर्किँदैन। पिँढीमा बस्ने बुबाआमाहरू छोराछोरीको बाटो हेर्दै आँसु झार्छन्। ‘अब त म नातिनातिनाको मुख नदेखी मर्ने पो हो कि’ भनेर डराउँछन्। ‘एक पटक मात्र नातिको अनुहार देख्न पाएँ भने धन्य हुन्थेँ’ भन्ने पल्लाघरे ८७ वर्षका हजुरबाको गुनासोले गाउँको पीडा बयान गर्छ।
म स्वयम् वर्षको एक पटक गाउँ पुग्छु। तर त्यो गाउँ जहाँ पहिले गीत बज्थे, रमाइलो हुन्थ्यो— अब सुनसान छ। ढोका खुलेका छन् तर घरभित्र जीवन छैन। खै! मेरो गाउँमा पहिलेजस्तो रौनक फर्किएला कि नाइँ?
दसैँले पनि ल्याउन नसकेको त्यो खुसी, खै अब केले ल्याउने होला?
म अझै पनि प्रतीक्षामा छु त्यो क्षणको, जब गाउँ फेरि हाँसोले गुन्जिनेछ, पिङमा मच्चिने रमाइलो सुन्नेछु।