एउटा जागिरबाट स्वेच्छाले हात धोएपछि अर्को जागिरको खोजीमा थिएँ। आखिर जागिर खाने सोच बोकेको एक बबुरो म जागिरको मालामा कहीँ न कहीँ उनिन चाहन्थ्यो किनकि जागिर मलाई भन्दा देखाउनका लागि पनि खानुपर्ने थियो। सायद हाम्रो समाजको आडम्बर त्यही थियो या मेरो दृष्टिदोष।
एक निजी कम्पनीमा जागिरको अवसर आयो। एक मित्रमार्फत मित्रलाई बायोडाटा पठाएँ। सिभी हेरेर उनीहरूले मसँग कुरा गरे। कम्पनीका गएँ, मालिकसँग कुरा भयो, जागिर तय भयो। भोलिपल्टदेखि हाजिर भएँ।
जागिरमा गएकै दिनदेखि इलेकट्रोनिक हाजिरको लागि औँठा छाप समेत उपलब्ध गराएँ। बिहानी सत्रमा पनि अर्को ठाउँमा काम गर्ने भएकाले त्यहाँ ९:३० मा पुग्न हम्मे हम्मे थियो। बेलुकी ५:३० बजे अफिस बिदा हुन्थ्यो। तर १०/१५ मिनेट बढी नै बस्दथेँ। करिब ४० जना जति कर्मचारीहरू थिए। मालिक भुइँतल्लाको भर्याङ नेरको कोठामा कार्यकक्ष बनाएका थिए। उता अर्को पार्ट टाइम बिहानको कामका मालिकले मेरो हतारो र समयको हम्मे हम्मे देखिरहेका थिए।
काम चल्दै थियो, आफू जीवनभर गैरसरकारीमा काम गरेको मान्छे निजी कम्पनीमा काम गरेको अनुभव थिएन। तर पनि धेरै ठाउँमा जागिर गरेको अनुभव भने थियो, यसैले काम गर्दै थिएँ। निजी कम्पनी भएकाले कामको सीमा दायरा पदीय जिम्मेवारीभन्दा पनि जे अगाडि आउँछ त्यो गर्ने भन्ने थियो।
हामीलाई लाग्दो हो कम्पनी भन्नासाथ व्यवस्थित, अनुशासित र नियमसंगत लाग्छ र कागजमा त हो नै तर व्यवहारमा कम्पनी धारण गर्ने पात्र र त्यो पात्र रहेको समाज, त्यो पात्रलाई ऐन, नियम परिपालना गराउने सरकार र संयन्त्र पनि जिम्मेवार छ।
कहिले मालिकको टिकट, कहिले मालिक्नीको टिकट, कहिले के जस्ता काम गर्नुपर्ने, खास मूल काममा प्रवेश गर्न मुस्किल थियो। अर्कोतर्फ मालिकका आफन्ती र रिस्तेदारले भरिएको कम्पनीमा कामभन्दा गुलामी तथा चाप्लुसी गर्नुपर्ने रहेछ। कान भर्ने खतरा त्यतिकै थियो नै। अर्को अचम्म! मालिक पनि खासमा को हो चिन्न मुस्किल, सबै मालिक जस्ता। काम जिम्मेवारी जुन कर्मचारी भर्ना गर्ने बेलामा मालिकसँग भएको टिओआरभन्दा वहाँका रिस्तेदार र आफन्तीका फर्माइस र अर्डरका काम हुन्थ्यो। सायद मालिकलाई त्यो सब कहाँ ज्ञात होस? या ज्ञात भए पनि आफ्नै मजबुरी पनि हुन सक्छ।
सात दिन के-के काम गरेँ भन्ने कुरा म आफै चकित छु। कम्पनीभित्र धेरै अरू कम्पनी पनि भएकाले कामको दायरा थिएन। मालिकले मेरो काम, कम्पनीको स्वभाव, काम उद्देश्य, गर्ने विधि र तरिका परम्परा आदि राम्रोसँग बुझाउनु भएको थिएन। उहाँलाई लाग्दो हो कलेज र युनिमा सबै कुरा सिकाउँछ। उहाँ पनि पढे लेखेकै भएकाले बुझ्नु त पर्ने हो तर उहाँमा ज्ञान रहेनछ सायद, या निजीमा संस्कार यस्तै हो कि! अघिल्लो अफिसमा पनि मालिकले मोबाइलको खोल किन्न पठाएको याद ताजै थियो। म सोझो भएर हो या निजी अफिसमा संस्कार नै यही हो, म अझ बुझ्न सकिरहेको छैन।
जागिर भन्ने कुरा अजीवको छ। कम्पनीको मूल उद्देश्य र कर्मचारी भर्ना गरिएको उद्देश्यभन्दा पनि अनेक थरी र नानाभाँती काम गर्न पर्दथ्यो। मालिकहरू पनि अजीव हुन्छन् कि उनीहरू तलब दिएपछि कर्मचारीले जे पनि गर्दछन् भन्ने भ्रम पालेका हुँदा रहेछन् कि?
सरकारी अफिसमा पनि मन्त्रीले सचिव जस्तालाई थुनेको थर्काएको समाचार सुनेका छौँ नै। निजीमा त के भन्ने बेलगाम नै छन्, लगाम छ भने इमान, नैतिक र मानवताको। धन देखेपछि महादेवका तीन नेत्र भन्दछन्, उनीहरू पनि के कम! फेरि इमान, धर्म, नैतिकता र मानवताको कुनै नियम छैन, माने पनि भयो नमाने पनि भयो।
कम्पनीले पैसा कमाउन सिपालु भए पनि थिति मिलाउन सकेको रहेनछ; फाइल, रेकर्ड, विवरण केही थिएन। राम भरोसामा चलेको जस्तो थियो। कामदार कर्मचारी छोइ नसक्ने, बोल्नै नहुने महाराज थिए। उनीहरूलाई भेट्न गाह्रो। कसैको केही कागजपत्र, विवरण र डकुमेन्ट थिएन। लाग्दथ्यो सबै पछाडिको ढोकाबाट छिरे जस्तो। हुन त मेरो पनि सिभी पेस गरेर काम सुरु गरेँ। कुनै प्रमाणपत्र पेस गर्न परेन। सायद साथीको सिफारिस भएर हो या त्यहाँ नियम त्यस्तै हो।
राम्रो पक्ष भनेको खाजा पनि भित्रै खान पाइने थियो। तर कामदार बिच, मालिक बिच सद्भाव पटक्कै पाइनँ। थियो भने हतार, दबाब, तनाव र पेलाई। जे जसो भए पनि काम दिने महान् हुन्, साथै काम दिनेको काम गरिदिने उद्देश्यमा जुट्ने पनि त्यतिकै महान् हुन्। श्रमको सम्मान गर्नका साथै श्रमको सिर्जना गर्नेको सम्मान गरौँ।
एक दिन ६:०० बजे अफिस सकाएर इलेकट्रोनिक हाजिर गर्न जाँदै थिएँ, मालिकले बोलाउनु भयो र भन्नुभयो, ‘तपाईं सबै अफिस बन्द गरेपछि जाने र बिहान अफिस नखोल्दै आउनुपर्छ।’
म अचम्म परेँ। केही बोलिनँ। उहाँलाई जवाफ फर्काउन पनि मनासिब ठानिनँ।
भोलिपल्ट काममा गयल भएँ। रिसेप्सनबाट फोन आयो, म आउन्न भन्दिएँ। किनकि तपाईंलाई एमबिए गरेको पाले चाहिएको रहेछ, अरू अफिस कुरेर बस्ने मान्छे खोजेर राख्नुस् भन्ने उत्तर दिएँ।
लाउजुका अनुसार विगतमा जिउनेहरू निराशावादी, भविष्यमा जिउनेहरू चिन्तित तर वर्तमानमा जिउनेहरू शान्त हुन्छन् भनेझैँ आखिर जिउने वर्तमान नै हो र पनि यदाकदा विगतलाई खोतल्नु अर्के मज्जा हुन्छ; आफू पनि सचेत हुने र अरूलाई पनि ज्ञान होस भन्ने मनसाय हो।
जीवनमा अनौठो अनुभव गरेँ। अहिले लाग्छ उहाँ मालिकको पनि दोष होइन होला, मेरो बुझाइमा कमजोरी हो। कम्युनिकेसनको समस्या, यसरी छँदो खाँदो जागिर छाडेँ। धेरै मान्छेले अचानक राम्रो जागिर छाड्छन् किनभने मेरो जस्तै सञ्चारको कमी होला सायद। हुन त आखिरमा मालिकलाई कामदार चाहिने र कामदारलाई मालिक चाहिने।