कोशीदेखि गण्डकी प्रदेशसम्म उधुम पानी पारेर मैझारो गर्दै यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज २४ गते शुक्रबार नेपालका सम्पूर्ण भूभागबाट मनसुन बाहिरिएको जानकारी दिएको हो।
बाहिरिनुअघि यसै साताको सुरूआतमा मनसुनी विपदको केन्द्र कोशी प्रदेश बनेको थियो। कोशीको पहाडी जिल्ला इलाम त 'इपिसेन्टर' नै बन्यो, जहाँ अहिलेसम्म ३८ जनाले बाढीपहिरोबाट ज्यान गुमाइसकेका छन्। त्यसबाहेक पाँचथरमा २, सुनसरीमा १, उदयपुरमा २, खोटाङमा १ र मोरङमा १ जनाको ज्यान गएको तथ्यांक छ।
महाशाखाका अनुसार असोज २० गते सुदूरपश्चिम, कर्णाली लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट मनसुन बाहिरिने क्रम सुरू भएको थियो।
नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो। यस वर्ष भने ८ दिन ढिलो गरी बाहिरिएको महाशाखाले जनाएको छ।
देशका सम्पूर्ण भूभागबाट मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहन सक्ने महाशाखाले जारी गरेको मनसुनसम्बन्धी बुलेटिनमा उल्लेख छ।