नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सरकारले धाँधलीको प्रयास गर्ने बताएका छन्।
धनुषाको विदेह नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले धाँधलीको तयारी प्रहरी प्रशासनमा व्यापक सरूवा गरी थालनी गरेको आरोप लगाए।
सत्ता गठबन्धनले सहयोग नगर्ने प्रहरी र कर्मचारीको धमाधम सरूवा गरेको उनको आरोप छ।
‘सरकारले हरेक ठाउँमा धाँधलीको तयारी गरिरहेको छ। कोही प्रहरी गठबन्धनको पक्षमा लाग्दैन भने प्रहरी सरुवा गरेको छ। कर्मचारी सरूवा गरेको छ’, ओलीले भने।
उनले सरकारले मूलुकलाई हिंसातर्फ धकेल्न खोजेको जिकिर समेत गरेका छन्। मूलुकमा एमाले पनि रहेको हेक्का राख्न उनले सरकारलाई चेतावनी दिएका छन्।
ओली लोसपाका नेता उमाशंकर अरगरियालाई पार्टीमा भित्र्याउन धनुषा पुगेका हुन्।
अरगरियासहित अन्यलाई पार्टीमा प्रवेश गराएपछि उनले एमालेमा आउनेहरूलाई उचित अवसर दिइने प्रतिवद्धता समेत जनाए।
‘तपाईहरूलाई अवसर दिएर नै अगाडि बढाउनेछौं। तपाईहरूलाई कुनै पछुतो हुने छैन’, उनले भने।
एमालेमा आउनेहरू अलपत्र नपर्ने ओलीको भनाइ छ।
प्रकाशित मिति: शनिबार, असोज ८, २०७९, ०७:४४:००