आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा जुटेको सत्ता गठबन्धनको बैठकबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहभागी भएको छ।
लोसपा नेताहरू कांग्रेससँग छुट्टै छलफल गरेर गठबन्धनको बैठकमा सामेल भएको स्रोतले जानकारी दियो।
बिहीबारदेखि सत्ता गठबन्धन बैठकमा सहभागी नभएको जसपाले एमालेसँग चुनावी तालमेलको प्रयास गरिरहेको छ।
एमाले र जसपा नेताहरूको शुक्रबार बिहानसम्म बैठक भए पनि औपचारिक सहमति हुन सकेको छैन। एमाले नेताहरूसँगको बैठकमा सहभागी जसपा कार्यकारिणी सदस्य रामसहाय प्रसाद यादवले सत्ता गठबन्धनले गर्ने प्रस्तावका आधारमा आफूहरूले निर्णय गर्ने बताए।
‘हामी आजको बैठकमा बालुवाटार जान्छौं। सत्ता गठबन्धनले कस्तो प्रस्ताव गर्छ भन्ने हो। हामी तालमेलका लागि सबैसँग खुला छौं,’ उनले सेतोपाटीसँग भने, ‘एमालेसँग पनि हामी सहमतिको नजिक छौं। तर हाम्रो प्राथमिकता सत्ता गठबन्धन हो।’