इलाम क्षेत्र नम्बर २ मा आफ्नै उम्मेदवार उठाउने कि नउठाउने भन्नेबारे सत्तारूढ नेकपा (माओवादी केन्द्र) अन्योलमा देखिएको छ।
सत्तारूढ नेकपा (एमाले) ले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।
नेपाली कांग्रेस, राप्रपालगायत दलहरूले उम्मेदवारका आकांक्षीका नाम क्षेत्रबाट जिल्ला कार्यसमितिमा पठाएका छन्। ती नाम प्रदेश हुँदै केन्द्रमा आएपछि छलफल गरी उम्मेदवारी तय हुनेछ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार तय गर्न प्राइमरी इलेक्सन गर्ने तयारी गरेको छ। सत्तारूढ नेकपा (एकीकृत समाजवादी) पनि आफ्नै उम्मेदवार उठाउने कि नउठाउनेमा अन्योलमै छ। अन्य दल तथा स्वतन्त्र रूपमा पनि इलाम २ मा उम्मेदवारीको चर्चा भइरहेको छ।
माओवादीका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले इलाम-२ को बारेमा अहिलेसम्म पार्टीभित्र कुनै छलफल नभएको बताए। ‘हामीले पार्टीमा अहिलेसम्म यसबारे छलफल नै गरेका छैनौं। के गर्ने भन्नेबारे छिट्टै कुराकानी हुन्छ होला,’ उनले भने।
गत फागुन १६ गते बसेको माओवादी स्थायी कमिटी बैठकले आगामी निर्वाचनमा माओवादी एक्लै चुनाव लड्ने निर्णय गरेको थियो।
त्यसबेला तत्कालीन सत्ता गठबन्धनमा रहेको कांग्रेससँग माओवादीको मतभेद बढेको थियो। फागुन २१ गते माओवादीले एमालेसहितका पार्टीहरूसँग नयाँ समीकरण बनाएपछि इलाम-२ को निर्वाचनबारे मौनता साँधेको छ।
यसअघि माओवादीको कोशी प्रदेश कमिटीले पनि एक्लै निर्वाचन लड्नुपर्ने सिफारिस माओवादीको केन्द्रीय कमिटीमा पठाएको थियो। तर त्यसबारेमा कुनै निर्णय भने आइनसकेको माओवादीका कोशी प्रदेश अध्यक्ष हर्क नेम्वाङले बताए।
‘जिल्ला कमिटीले आफ्नै उम्मेदवार, आफ्नै चुनाव चिन्हमा प्रतिष्पर्धा गर्नुपर्छ भनेको छ, हाम्रो अडान पनि त्यही हो, मैले अध्यक्ष प्रचण्डलाई पनि भनेको छु,’ नेम्वाङले भने,‘तर केन्द्रबाट कस्तो निर्णय आउँछ हामीले पर्खेर बसेका छौं।’
उनले दुई दिनभित्रमा माओवादी केन्द्रले उम्मेदवारहरूको सिफारिस पार्टी केन्द्रीय कमिटीमा पठाउने पनि बताए। निर्वाचन आयोगको कार्यतालिका अनुसार यही चैत २४ गते उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुपर्नेछ।
२०७९ को प्रतिनिधि सभा चुनावमा इलाम २ मा नेपाली कांग्रेसका डम्बरबहादुर खड्का र एमालेका सुवास नेम्वाङबीच मुख्य प्रतिस्पर्धा भएकोमा नेम्वाङ विजयी भएका थिए। गत भदौ २६ गते एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको निधन भएपछि यो क्षेत्र रिक्त छ।
त्यसबेला नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए। कांग्रेसका खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। तत्कालीन सत्ता गठबन्धनबाट खड्का साझा उम्मेदवार थिए।
रास्वपाका प्रकाश सापकोटाले एक हजार तीन सय ८० मत ल्याएका थिए भने मंगोल नेशनल अर्गनाइजेसनका मनिबहादुर लिम्बूले एक हजार तीन सय ६३ मत ल्याएका थिए। राप्रपाका गणेशबहादुर दुलालले ५१० मत ल्याएका थिए।
समानुपातिकतर्फ इलाम २ मा एमालेले २६ हजार ५ सय ६२, कांग्रेसले २२ हजार ३ सय ३३, माओवादीले ५ हजार एक सय ५३, रास्वपाले ४ हजार ६ सय ८६, मंगोल नेशनल अर्गनाइजेसनले १ हजार ६ सय ६१, राप्रपाले १ हजार १ सय ९१, जसपाले ९०६, एकीकृत समाजवादीले ५८६ मत ल्याएका थिए।