अभिभावकत्व केवल जैविक प्रक्रियाको परिणाम होइन, यो सृष्टिको सबभन्दा गहन जिम्मेवारी र नैतिक दायित्व पनि हो।
हामी आफ्ना सन्तानलाई सानो काँडा बिझ्न नदिन कति सचेत हुन्छौँ? उनीहरूको खाना, नाना र छानाका लागि हामी कति संघर्ष गर्छौं? तर, जब हामी तिनै 'मुटुका टुक्रा' भनिने सन्तानलाई लिएर सडकमा निस्कन्छौं, तब हाम्रो अभिभावकीय दायित्व किन एकाएक कमजोर बन्न पुग्छ? यो प्रश्न निकै पेचिलो छ, तर आजको सडक सुरक्षाको यथार्थ यही हो। सवारी दुर्घटनाको बढ्दो ग्राफलाई मात्र दोष दिएर हामी उम्कन मिल्दैन। विडम्बना के छ भने- यात्रा गर्दा अभिभावक आफू 'हेल्मेट, मास्क, चस्मा, पन्जा र हावा, चिसो र हल्का वर्षाबाट शरीरलाई जोगाउने पोशाक '(Wind-cheater)' ले सु-सज्जित हुन्छन् तर आफ्ना कलिला सन्तानलाई भने कुनै सुरक्षा कवच बिना नै जोखिमको अग्रपंक्तिमा उभ्याउँछन्।
तथ्यांकले बोल्ने कहालीलाग्दो सत्य
हाम्रो सानो लापरबाहीले कति ठूलो क्षति निम्त्याइरहेको छ भन्ने कुरा भावनामा होइन, नेपाल प्रहरी प्रधान कार्यालय, ट्राफिक निर्देशनालयको तथ्यांकले बोल्छ।
गत आर्थिक वर्षको विवरण मात्र पल्टाएर हेर्ने हो भने, सवारी दुर्घटनामा बालबालिकाको जोखिमको अवस्था निकै भयावह देखिन्छ। एक वर्षको अवधिमा सडक दुर्घटनामा परी ११८ बालक र ८२ बालिका गरी कुल २०० जना बालबालिकाले अकालमा ज्यान गुमाएका छन्।
सोच्नुहोस् त, ती २०० घरका आँगन कति सुनसान भए होलान्? अभिभावकको काख कति र कसरी रित्तिए होलान्? क्षति यतिमा मात्र सीमित छैन; ५१८ बालक र २८७ बालिका गम्भीर घाइते भएर जीवन र मृत्युको दोसाँधमा संघर्ष गर्न बाध्य भए। साथै, २ हजार ५ सय ७४ बालक र १ हजार ७ सय ४५ बालिका साधारण घाइते भएको तथ्यांक छ।
एकै वर्षमा ५ हजारभन्दा बढी बालबालिका सडक दुर्घटनाको शिकार हुनु सामान्य संयोग मात्र होइन, यो हाम्रो असुरक्षित यात्रा संस्कारको परिणाम पनि हो। आखिर किन भइरहेछन् यति धेरै बालबालिका दुर्घटनाको शिकार? यसका पछाडि तीनवटा मुख्य आयाम जिम्मेवार छन्:
१. दुई पाङ्ग्रे सवारी: आकर्षणभित्र लुकेको खतरा
नेपाली समाजमा मोटरसाइकल वा स्कुटर पारिवारिक सवारीको साधन बनेको छ। तपाईं हाम्रो अधिकांशको यात्राको सहयात्री दुई पाङ्ग्रे सवारी नै हो भन्दा सायद अत्युक्ति नहोला। चित्ताकर्षक डिजाइन, उच्चतम गति, मूल्य तथा प्रविधिको कारणले गर्दा यी दुई पाङ्ग्रे सवारी साधन लोकप्रिय बनेका हुन्। सडकमा गुड्ने संख्याका आधारमा होस् अथवा सडकमा हुने सवारी दुर्घटनामा संलग्न सवारी साधनको संख्यात्मक रूपमा नै किन नहोस् यी दुबैमा दुई पाङ्ग्रे सवारी नै अग्रपंक्तिमा छ। तर, यसको प्रयोगमा हामीले बालबालिकालाई जसरी समावेश गर्छौं, त्यो अत्यन्तै अवैज्ञानिक र घातक छ।
धेरैजसो अभिभावकले साना नानीबाबुलाई मोटरसाइकलको इन्धन ट्यांकीमाथि वा स्कुटरको अगाडि (Leg space) मा उभ्याएर यात्रा गराउँछन्। भौतिक विज्ञानको नियम अनुसार, गुडिरहेको सवारी साधन एक्कासि रोकिँदा वा ठोक्किँदा, त्यसमा बसेका यात्रुको शरीर भने सोही गतिमा अगाडि हुत्तिन्छ। यस्तो अवस्थामा ट्यांकीमा बसेको अबोध बच्चा अगाडिबाट फलामको ह्यान्डल र पछाडिबाट हुत्तिएर आएको अभिभावकको भारी तौलको बीचमा नराम्ररी चेपिन पुग्छ। माथिको तथ्यांकमा देखिएका गम्भीर घाइते बालबालिकामध्ये धेरैजसो यस्तै प्रकृतिका दुर्घटनाका शिकार भएका हुन्। अझ हेल्मेट र चस्मा बिनाको यात्राले सडकको धुलो र हावा सिधै फोक्सो र आँखामा पर्दा बालबालिका दीर्घकालीन रोगी बनिरहेका छन्।
२. चार पाङ्ग्रेको भ्रम र एयर ब्यागको जोखिम
'कारमा त सुरक्षित भइहाल्छ नि' भन्ने सोच पनि अर्को त्रुटिपूर्ण मानसिकता हो। कार वा जीपमा बालबालिकालाई अगाडिको सिटमा राख्ने वा काखमा राखेर यात्रा गर्ने प्रवृत्ति सर्वत्र देखिन्छ।
आधुनिक गाडीहरूमा हुने एयर ब्याग वयस्क यात्रुको 'छाती' जोगाउन डिजाइन गरिएको सुरक्षा कवच हो, बालबालिकाका लागि होइन।
दुर्घटनाको क्षणमा एयर ब्याग बन्दुकको गोली छुट्दा हुने विष्फोटक गति (करिब ३०० कि.मि. प्रतिघन्टा) मा खुल्छ। बालबालिकाको उचाइ कम हुने भएकाले, त्यो विष्फोटक वेग सिधै उनीहरूको कलिलो घाँटी वा अनुहारमा बज्रिन पुग्छ। यसरी जीवन बचाउने साधन नै बालबालिकाको हकमा भने 'घाँटी भाँच्ने' वा 'सास थुन्ने' मृत्युको कारण बन्न पुग्छ।
सुरक्षाका दृष्टिकोणले विकसित मुलुकहरूमा १२ वर्षमुनिका बालबालिकालाई अगाडिको सिटमा राख्न पूर्णतः बन्देज छ।
वयस्क मानिसका लागि डिजाइन गरिएको 'सिट बेल्ट' र 'एयर ब्याग' साना बालबालिकाका लागि उल्टै प्राणघातक बन्न सक्ने हुनाले, उनीहरूलाई पछाडिको सिटमा विशेष प्रकारको ‘चाइल्ड सिट’ (Child Seat) मा बाँधेर राख्नुपर्ने कानुनी बाध्यता छ। तर, हाम्रो विडम्बना बेग्लै छ। यहाँ 'चाइल्ड सिट' त परको कुरा, हामी गाडी निर्माताले नै दिएको ‘चाइल्ड लक’ (Child Lock) जस्तो आधारभूत सुरक्षा फिचर पनि प्रयोग गर्दैनौँ। पछाडिको ढोकामा हुने यो सानो स्विच प्रयोग गर्दा गुडिरहेको गाडीको ढोका बच्चाले भित्रबाट खोल्न सक्दैनन् र सडकमा खस्ने जोखिम टर्छ। तर, हामी यो सामान्य सावधानी अपनाउनुलाई पनि ‘झन्झट’ ठान्छौँ, जसको मूल्य बालबालिकाले चुकाउनु परिरहेको छ।'
३. सार्वजनिक सवारीमा निगरानीको अभाव
सार्वजनिक सवारीमा यात्रा गर्दा बालबालिकाको चञ्चलतालाई नियन्त्रण गर्न नसक्नु अभिभावकको अर्को कमजोरी हो। झ्यालबाट टाउको वा हात बाहिर निकाल्ने, गुडिरहेको बसको ढोकामा झुन्डिने, गुड्दा गुड्दैको साधनबाट छतमा चढ्ने, वा सिटमा उफ्रिने जस्ता क्रियाकलापलाई धेरैले 'बच्चा त हो नि' भनेर नजरअन्दाज गर्छन्। तर, विपरित दिशाबाट आएको सवारी वा सडक छेउका पोलमा ठोक्किएर बालबालिकाले अकालमा ज्यान गुमाएका वा अपांग भएका हृदयविदारक घटनाहरू हाम्रै अगाडि छन्।
बालबालिका भोलिका कर्णधार हुन्, राष्ट्रका सम्पत्ति हुन्। उनीहरूको सुरक्षामा गरिएको बेवास्ता समग्र राष्ट्रको भविष्य माथिको जोखिम हो, साथै यो 'बाल अधिकारको हनन्' पनि हो। शब्दहरू सुन्नमा निकै कर्णप्रिय र राम्रा लाग्छन्। तर यथार्थको धरातल भने बेग्लै छ। के हामीले साँच्चै उनीहरूलाई 'सम्पत्ति' मानेका छौँ त? यदि हो भने, गत वर्ष मात्रै सडकमा अनाहकमा ज्यान गुमाएका २०० अबोध बालबालिका र घाइते भएका हजारौँ नानीबाबुहरूको पीडाले हाम्रो अभिभावकीय दायित्वलाई गिज्याइरहेको छ।
ट्राफिक प्रहरीको रूपमा, हामी निरन्तर नियमनको प्रयास गर्छौं, तर सडकमा बालबालिकाको असुरक्षित यात्रा तबसम्म जारी रहन्छ जबसम्म हरेक अभिभावकले 'मेरो बच्चा, मेरो जिम्मेवारी' भन्ने नैतिक दायित्व महसुस गर्दैनन्।
तपाईंको घरको आँगनबाट निस्कने बित्तिकै तपाईंको सन्तानको सुरक्षाको जिम्मा तपाईंको आफ्नै विवेकमा निर्भर हुन्छ। कानुनको डरले होइन, आफ्ना सन्तानको जीवन प्रतिको मोहले सुरक्षाका उपाय अपनाऔँ।
त्यसैले, अर्को पटक बच्चालाई मोटरसाइकलको ट्यांकीमा, स्कुटरको अगाडी (Leg space) वा कारको अगाडिको सिटमा राख्दै गर्दा एकपटक गम्भीर भएर आफ्नो अन्तर आत्मालाई सोध्नुहोस् - 'के म मेरो सन्तानको संरक्षक बन्दै छु, कि अनजानमै उनीहरूको जीवनसँग जुवा खेल्दै छु?'
याद राख्नुहोस्, सडक निष्ठुर हुन्छ; यसले गल्ती सच्याउने दोस्रो मौका विरलै दिन्छ। एउटा सानो भूलले जीवनभरको आँसु निम्त्याउन नदिन आजै सजग र सचेत बनौँ।
सुरक्षित यात्रा, जिम्मेवार अभिभावकत्व।
ट्राफिक नियम जानौं पनि, मानौं पनि।
(लेखक जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोका प्रमुख हुन्।)