हिमालको काखबाट जन्मिएको मर्स्याङ्दी नदी ऊर्जा, पिउने पानी, कृषि र साहसिक पर्यटन ― सबैको आधार हो।
तर पछिल्ला वर्षहरूमा अनियन्त्रित उत्खनन, प्रदूषण, जलविद्युत् संरचनाको दबाब र जलवायु परिवर्तनका कारण यसको स्वरूप बदलिन थालेको छ।
देशलाई उज्यालो दिने यो नदी आज एक संवेदनशील मोडमा छ― जहाँ सही निर्णय ढिला भयो भने यसको प्राकृतिक धारा, पारिस्थितिक र सांस्कृतिक विरासत दुवै संकटमा पर्न सक्छन्।
उद्गमदेखि संगमसम्मको यात्रा
मर्स्याङ्दी नदीको उद्गम मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिकामै पर्छ भन्नेमा सबैको सहमति छ। तर ठ्याक्कै कुन स्थानलाई उद्गम मान्ने? भन्ने प्रश्नमा भने अध्ययन–प्रतिवेदन र स्थानीय परम्पराबीच फरक–फरक बुझाइ पाइन्छ।
अधिकांश भौगोलिक अध्ययनहरू भन्छन् ― मर्स्याङ्दीको आधिकारिक जन्मस्थान खाङसार खोला र झार्साङ खोला मिसिने दोभान हो। यो दोभान मनाङ गाउँको नजिकै पर्छ, र समुद्री सतहदेखि करिब ३,६०० मिटर उचाइमा अवस्थित छ। यही कारणले धेरैले यसलाई मर्स्याङ्दीको 'मुख्य उद्गम' भनेर उल्लेख गर्छन्।
तर स्थानीयहरूको बुझाइ निकै फरक छ।
उनीहरू प्रायः खाङसार – झार्साङ खोलाबारे नै अनविज्ञता व्यक्त गर्छन्।
उनीहरूका अनुसार, मर्स्याङ्दीको वास्तविक जीवन त थोराङ खोला र तिलिचो ताल छेउबाट बग्ने मर्स्याङ्दी खोलाबाट नै सुरू हुन्छ।
यी दुई खोला मनाङ गाउँ नजिकै मिसिन्छन्, र उनीहरू गर्वका साथ भन्छन् ―
'मर्स्याङ्दी यहीँबाट साँच्चिकै बग्न थाल्छ।'
यी स्रोतबाट बगेको नदी मनाङ, लमजुङ, गोरखा र तनहुँ हुँदै करिब १५३ किलोमिटर यात्रा पूरा गरी चितवनको मुग्लिन नजिक त्रिशूलीमा मिसिन्छ।
स्रोतदेखि मुग्लिनसम्म बग्दा नदीले करिब ३,३५० मिटर उचाइ घटाउँछ ― यही ओरालो यात्राले मर्स्याङ्दीलाई अझै बलियो, तीव्र र आकर्षक बनाएको छ।
ऊर्जा विकास र पारिस्थितिक मूल्यबीचको संघर्ष
मर्स्याङ्दी नेपालकै एक प्रमुख जलविद्युत् उत्पादन क्षमता बोकेको नदी हो। यो नदीमा सञ्चालित तीन ठूला आयोजनाबाट कुल १८९ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको विद्युत विकास विभागका अनुसार, हाल तीन आयोजनाले जलविद्युत सर्वेक्षण अनुमति (करिब ४०८ मेगावाट) र चार आयोजनाले जलविद्युत निर्माण अनुमति (करिब ४६२ मेगावाट) पाइसकेका छन्। हाल थप दुई कम्पनीले नयाँ जलविद्युत सर्वेक्षणका लागि, र दुईले जलविद्युत उत्पादन अनुमतिका लागि आवेदन दिएका छन्।
ऊर्जा विस्तारले देशलाई फाइदा पुर्याए पनि नदीको प्राकृतिक प्रवाहमा प्रत्यक्ष – अप्रत्यक्ष प्रभाव बढेको छ। प्रवाह चक्रमा अवरोध, तलछट जम्ने समस्या, माछा प्रजातिको कमी तथा नदीको न्यूनतम बहाव घट्नु जलविद्युत संरचनाको प्रमुख पारिस्थितिक चुनौती हुन्।
यदि ऊर्जा विकाससँगै वैज्ञानिक संरक्षण नअपनाइए, दीर्घकालीन संकट थप गहिरिन सक्छ।
मर्स्याङ्दीको पानी: पिउने र कृषि जीवनको आधार
मर्स्याङ्दी नदी लमजुङ, गोरखा र तनहुँका हजारौं बस्तीहरूका लागि पिउने पानी, पशुपालन र सिँचाइको भरपर्दो स्रोत बन्न सक्छ। तर हालसम्म यसको पानी प्रभावकारी रूपमा प्रयोग गर्न सकिएको छैन। ठूला बहुउपयोगी पानी व्यवस्थापन तथा सिँचाइ आयोजना नहुँदा मर्स्याङ्दी नदीको सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन।
विशेषज्ञहरूका अनुसार, यदि भविष्यमा वैज्ञानिक योजना र दिगो पानी व्यवस्थापन प्रणाली लागू गर्न सकियो भने, यस नदीको पानीले पहिलो, स्थानीय बासिन्दाहरूका लागि पिउने पानीको आपूर्ति सुनिश्चित गर्ने, दोस्रो, पशुपालनका लागि आवश्यक पानीको स्थायी जोहो गर्ने र तेस्रो, सिँचाइमार्फत कृषि उत्पादनमा उल्लेखनीय वृद्धि गरी स्थानीय खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने सम्भावना छ।
साहसिक पर्यटनको गन्तव्य
मर्स्याङ्दी नदी साहसिक पर्यटकहरूका लागि विश्वकै आकर्षक राफ्टिङ – कयाकिङ मार्गमध्ये एक हो। तीन दिनसम्म चल्ने यो यात्रामा स्वच्छ हिमनदी पानी, तीव्र प्रवाह र अन्नपूर्ण – माछापुच्छ्रे क्षेत्रका दृश्यहरूले पर्यटकलाई मोहित बनाउँछन्।
अन्नपूर्ण सर्किटसँग जोडिएको पर्यटनले स्थानीय रोजगारी र आय वृद्धि दुवैलाई टेवा दिएको छ। तर नदीको स्वच्छता र प्राकृतिक सौन्दर्य बिग्रन थाल्यो भने यो सम्भावना कमजोर बन्नेछ। दिगो पर्यटनका लागि नदी – क्षेत्रको वातावरणीय स्वास्थ्य पहिलो शर्त हो।
प्रदूषण र उत्खनन बढ्दो संकट
सन् २०२५ मा सागर खड्का र उनको टोलीले 'लमजुङ जिल्लाभित्र पर्ने मर्स्याङ्दी नदीमा माछाको विविधता सम्बन्धी अध्ययन' शीर्षकमा अनुसन्धान गरेको थियो, त्यो अनुसन्धान प्रतिवेदन मलेशियन एनिमल हस्बेन्ड्री जर्नल, जुन २०२५ मा प्रकाशित भएको छ। सो लेख अनुसार, मर्स्याङ्दी नदीमा गर्मी महिनामा २३ प्रजातिका माछा पाइएका थिए। तीमध्ये एक प्रजाति यथा अवस्थामा लोप हुने उच्च सम्भावना (संकटापन्न) भएको, अर्को एक प्रजाति मध्यकालीन भविष्यमा लोप हुने सम्भावना (असुरक्षित) भएको, र अन्य तीन प्रजाति निकट भविष्यमा संकटापन्न बन्ने सम्भावना (खतरामा नजिक) भएका माछा हुन्।
तर पछिल्ला वर्षहरूमा नदी प्रदूषण, अनियन्त्रित उत्खनन, माछा मार्ने विषादीको प्रयोग, सवारी साधन सफाइ, र जलविद्युत् आयोजनाका कारण नदीको प्रवाह चक्रमा अव्यवस्था देखिएको छ।
जलवायु परिवर्तनका कारण हिमनदी पग्लने दर बढेको र वर्षा अनियमित बनेकोले बाढी – सुख्खा दुबै जोखिम बढ्दै छन्।
पुराना पोखरी, कुवा र कुला सुक्दै जानु, नहर मासिनु र सिजन बाहेक नदीको पानी घट्नु ― यी सबैले संकेत गर्छन् कि मर्स्याङ्दी केवल ऊर्जा स्रोत होइन, संकटको नदी बन्दैछ।
नीति–पत्रमा संरक्षण, व्यवहारमा उपेक्षा
मर्स्याङ्दी क्षेत्रमा तयार गरिने वातावरणीय अध्ययन प्रतिवेदनहरू प्रायः कागजी औपचारिकतामै सीमित हुँदा व्यावहारिक कार्यान्वयन न्यून देखिन्छ।
स्थानीय तहदेखि संघीय तहसम्म दीर्घकालीन संरक्षण रणनीति अझै स्पष्ट छैन।
फोहोर व्यवस्थापन, उत्खनन नियमन, न्यूनतम बहाव कायम राख्ने नियम, नदी स्वास्थ्य अनुगमन—सबै क्षेत्रमा सुधारको ठूलो आवश्यकता छ।
नदीबाट लाभ उठाइने काम त भइरहेको छ, तर नदीलाई बचाउने प्रतिबद्धता व्यवहारमा देखिँदैन।
निष्कर्ष: विकास र संरक्षणको सहयात्रा
मर्स्याङ्दी नदी ऊर्जा, कृषि, पिउने पानी र पर्यटन ― सबैको मेरूदण्ड हो। तर यस नदीमा बढ्दो मानवीय दबाब, अनियन्त्रित उत्खनन, कमजोर अनुगमन र जलवायु जोखिमले यसको भविष्य धमिलिँदै छ।
दिगो विकासको अर्थ विकास थाम्नु होइन, विकासलाई प्रकृतिसँग तालमेल मिलाएर अघि बढाउनु हो।
अब आवश्यक छ ―
- नदीको न्यूनतम बहाव सुरक्षित राख्ने कानूनको कडाइ
- उत्खनन र प्रदूषण नियन्त्रणका ठोस कदम
- जलविद्युत् विस्तारसँगै पारिस्थितिक क्षतिपूर्ति व्यवस्था
- नदी स्वास्थ्यको नियमित वैज्ञानिक अनुगमन
- स्थानीय तहलाई अधिकार र जिम्मेवारी दुवै दिने संरचना
मर्स्याङ्दी बच्यो भने देशको ऊर्जा, कृषि, पानी सुरक्षा र पर्यटन ― सबै सुरक्षित हुन्छन्। मर्स्याङ्दी संकटमा पर्यो भने विकासका सबै आधार स्तम्भहरू जोखिममा पर्छन्।
निर्णय हाम्रो हातमा छ ― आजै, अहिल्यै।
(लेखक त्रिभुवन विश्वविद्यालय, वातातावारण विज्ञान केन्द्रीय विभागका विद्यावारिधि सोधकर्ता हुन्।)