म भर्खर कक्षा बाह्रको परीक्षा पास गरेर बिए प्रथम वर्षमा भर्ना भएको थिएँ।
बिहानी सत्रको पढाइ थियो, त्यसैले दिनभरि फुर्सद हुन्थ्यो। घरमा यत्तिकै बस्न अल्छि लाग्थ्यो। टिभी पनि कति हेर्नु जस्तो लाग्थ्यो। त्यसैले फेवातालको किनारमा रहेका धेरै डुंगा घाटहरूमध्येको एउटा घाट, अम्बोट घाटमा गएर बस्न थालेको थिएँ। त्यहाँ धेरै आँपका बोटहरू छन्, त्यसैले त्यो ठाउँको नाम अम्बोट रहन गएको हो भन्ने गरिन्छ।
कहिलेकाहीँ पर्यटकहरू धेरै हुँदा फाट्टफुट्ट डुंगा चलाउने मौका पनि मिल्थ्यो। पकेट खर्च पनि हुने, र हल्का अंग्रेजी बोल्ने अभ्यास पनि हुने हुँदा मलाई त्यतातिर चाख बस्न थालेको थियो।
एक पटकको कुरा हो। दुई दिनदेखि लगातार पानी परेर बिदो भएको थियो। आकाशमा बादलको नामोनिशान थिएन। उत्तरतिरको माछापुच्छ्रे जलवायु परिवर्तनले उतारिदिएको आफ्नो बर्को खोलेर फेवातालमा पौडी खेल्न मस्त थियो।
एक जना थिए, उनका धेरै डुंगाहरू थिए। उनी मजस्ता केटाहरूलाई आफ्नो डुंगा चलाउन दिन्थे। नियम अनुसार, डुंगा आफै चलाएर लगेँ, यात्रुले घण्टा अनुसारको डुंगा भाडा मात्र तिरे पुग्थ्यो। तर चालक लिएर गएको खण्डमा डुंगाको भाडा बाहेक चालकको ज्याला पनि छुट्टै तिर्नुपर्थ्यो। यसरी नै डुंगाको भाडादर निर्धारण हुन्थ्यो। त्यसमा यात्रुले बुझाउने डुंगाको भाडा साहुको हुन्थ्यो भने ज्याला पूरै चालकको। अनि अर्को कुरा, डुंगाको नम्बर अनुसार डुंगाको पालो निर्धारण हुन्थ्यो। त्यो एउटा अलिखित नियम जस्तै थियो। पालो मिच्न पाइँदैन्थ्यो। मान्छेहरू इमानदार थिए, त्यसैले मिच्दैन्थे पनि।
अबको पालो सात नम्बर डुंगाको थियो। अर्थात् पालो हाम्रो थियो। म यात्रु पर्खिरहेको थिएँ। यस्तैमा एक जोडी अमेरिकनलाई तालपारि टिपिकल लिएर जानेगरी हाम्रो पालो आयो। मेरो मन बगैँचा बगैँचा भयो। छेउमै रहेको कटेरोबाट बहाना लिएर आएपछि उनीहरू डुंगामा बसे। उनीहरू बसेपछि मैले डुंगा धकेलेर माउमा बसेँ, र बिस्तारै खियाउन थालेँ।
फरासिला ती जोडी स्वच्छन्द ताललाई छोएर आउने बताससँगै घरी एकअर्कालाई चुम्थे, घरि अंगालोमा बेर्थे, र आँखा चिम्म गरेर ध्यानस्थ कतै हराउँथे। तालको कुनाकुना जाँदा लगभग ४५ मिनेटमा टिपिकल पुगिन्थ्यो।
मैले उनीहरूलाई टिपिकलमा उतारेपछि उनीहरू त्यहाँबाट शान्ति स्तूप हिँडेर जाने सुर कसे। म फाल्तू भएँ। उनीहरूले तोकेको भाडामा ५०० टिप्स थपेर दिएपछि भने म मख्ख परेँ।
धन्यवाद र दिन शुभ रहोस् भन्ने औपचारिक शुभकामना दिएर म किनारको गेगरमा धसिएको डुंगा धकेल्नतिर लागेँ। डुंगा धकेलेर बुरूक्क उफ्रिएँ, र माउमाथि बसेर डुंगा घाटतिर सोझिएँ।
बहानाले बनाएका भुमरीलाई पछि छोड्दै, आफू हिँडेको पाइला मेट्दै म फेवातालको छेउछेउ डुंगा घाटतिर बढिरहेको थिएँ।
मेवा खोला कटेर अगाडि बढ्दै थिएँ। परिवेश व्याण्डको 'ट्याक्सी गुड्यो सरर, पोखराको बजारमा' गीत खुब चलेको थियो तिनताका।
त्यही गीत गुनगुनाउँदै त्यसकै तालमा बहनाले खियाइरहेको थिएँ।
एक्कासि नजिकैबाट आएको कसैको आवाजले झस्किएँ।
चारैतिर आँखा डुलाएँ, तर केही देखिनँ। सोचेँ, सायद मेरो कान बजिरहेको छ। त्यसैले फेरि अगाडि बढ्न बहानाले खियाउन थालेँ।
फेरि त्यही आवाज गुञ्जियो कानमा।
फेरि आवाजको दिशा र स्रोत पत्ता लगाउन चारैतिर हेरेँ। त्यो आवाज कुनै युवतीको जस्तो थियो। सरर नजर डुलाएपछि चिलाउनेको बोटमुन्तिरको एउटा झाडीको बीचबाट सहयोगको आशामा हल्लिरहेका एक जोर हातहरू देखेँ। हातहरूको मालिक त्यस्तै बीस/बाइस वर्षकी युवती थिइन्।
उनलाई देखेर मलाई नै बोलाएकी हुन् भन्ने यकिन भएपछि म उनी नजिकै डुंगा लिएर गएँ। उनी सिधै आएर डुंगामा बसिन्, र आफू आएको ठाउँतिर हेर्दै आत्तिएर भनिन्, 'मलाई पारि तारिदिनु न, प्लिज!'
म त माझी न थिएँ!
यात्रुहरूलाई तार्नु मेरो काम थियो। धर्म थियो। त्यसैले म चुपचाप अघि बढेँ।
डुंगा किनारबाट केही पर पुगेपछि उनले आवेगमा आएर भनिन्, 'होइन, आखिर के सोच्छन् हँ, यी केटाहरूले आफूले आफूलाई!'
मलाई सोध्न मन थियो, किन के भयो र?
तर सोधिनँ।
'चिन्नु न जान्नु, घचेटी माग्नु!' भनेजस्तो पनि लाग्यो।
उनी एकैछिन चुप लागिन्। यस बीचमा कम्तिमा तीन पटक जस्तो हामीले पछाडि छोडेर आएको किनारलाई फर्केर हेरेकी थिइन्। खै के थियो, कुन्नी त्यहाँ!
हामी बीचको शून्यतालाई मैले बहानाले खियाउने पाटो बदल्दा आउने पानीको आवाजले बिथोलिरहेको थियो।
केही क्षणको मौनता चिर्दै उनले फेरि आफ्नो रिस पोख्दै भनिन्, 'के हाम्रो स्वनिर्णयको अधिकार हुँदैन? के हामीलाई सधैँ वस्तुकै रूपमा मात्र हेर्न पर्ने? के हामी हाम्रो शरीरबारे, इच्छाबारे निर्णय लिन पनि नपाउने? के हामी चाहिँ चोखो माया गर्न नि नपाउने? के हामीले चैँ आफूलाई मन नपरेको कुरामा नाइँ पनि भन्न नपाउने?'
उनका प्रसंग बिनाका प्रश्नहरू सुनेर मलाई अलिअलि रिस र अलिअलि सहानुभूति दुबै जागेर आएको थियो। के भएको रैछ भन्ने कुराको उत्सुकता पनि नजागेको त कहाँ हो र!
अन्ततः म बोल्न बाध्य भएँ।
त्यसैले भनेँ, 'हजुर कुन कुरालाई लिएर यसरी आफ्नो आवेग पोखिरहनु भएको छ, त्यो त मलाई थाहा छैन। तर पनि संसारका सबै मान्छेहरू एउटै कहाँ हुन्छन् र!'
उनले केही शान्त भएर मतिर हेर्दै भनिन्, 'होइन, होइन! मेरो भनाइको आशय त्यो थिएन। मेरो आवेगको कारण छुट्टै छ, जुन तपाईंलाई थाहा छैन। त्यसैले मेरो कुरा हजुरलाई अन्यथा लागिरहेको छ।'
मैले पनि कारण जान्न पाउने अवसर गुमाउन चाहिनँ, र सोधेँ, 'कुरा के हो? भन्न मिले भन्नुस् न त! तपाईंको कुरा सुन्दा लाग्छ, विषय निकै गम्भीर छ।'
उनी फेरि केहीबेर मौन रहिन्।
म पनि हावाको तालमेल नमिलेर झर्नुपर्ने ठाउँभन्दा पर आइपुगेको प्यारासुट हेर्दै डुंगा खियाइरहेँ। केहीबेर बहानाले खियाउँदा आउने आवाज र रानीवनका झ्याउँकिरीको आवाजको समिश्रणले हामी बीचको मौनतालाई चिरिरहे।
अन्ततः लामो उच्छवास फालेर उनी बोलिन्।
भनिन्, 'तपाईं एउटा अपरिचित छोरा मान्छे, मैले आफ्ना कुराहरू हजुरलाई केही नभन्दा पनि फरक पर्दैन, तर जुन किसिमको सहयोग हजुर मलाई गरिरहनु भएको छ, त्यसको अगाडि म नतमस्तक छु। र अर्को कुरा, आशा छ, मैले मेरो समस्या सुनाएपछि हजुरले मलाई थप सहयोग गर्नु हुनेछ।'
ममा उसको कुरा जान्ने उत्सुकता त थियो नै, तर उसको 'थप सहयोग भन्ने कुराले भने मनमा अलिकति संकोच पैदा भयो। तैपनि भनेँ, 'भनेर त हेर्नुस, मेरो तागतले भ्याउने सक्दो सहयोग गरूँला नि।
उनी भन्न सुरू गरिन्।
'मेरो घर काठमाडौं हो। म आजै पोखरा आएकी हुँ। खासमा म मेरो प्रेमीसँग घुम्न यहाँ आएकी थिएँ। हामी दुवैजना डुंगा लिएर हिँडेका थियौं। उसले डुंगा चलाउँदै बियर पिइरहेको थियो, दुवैजना खुसी नै थियौं। बिस्तारै उसलाई बियर चढ्दै गएपछि उसले डुंगा किनार लगायो, र जंगलमा घुम्न जाने भन्दै मलाई डुंगाबाट ओर्लन भन्यो।
मैले उसलाई विश्वास गर्थें त्यसैले निसंकोच डुंगाबाट उत्रिएँ। उसले जंगलभित्र पुगेपछि मसँऊ जबरजस्ती गर्न खोज्यो। मैले बारम्बार प्रतिवाद गर्दा पनि उसले मेरो कुरा सुनेन। मेरो भावना र असहमति बुझेन। ऊ नशाले मात्तिसकेको थियो। विवेकशून्य भइसकेको थियो। उसले मेरो कुनै आग्रह सुनेन। जतिभन्दा पनि नसुनेपछि मेरो हात रूखबाट भाँचिएर खसेको हाँगामा पुग्यो। त्यो चिर्कटोले उसको टाउकोमा जोडले हानिदिएँ।
चोटले रन्थनिएर ऊ सोही डुंगामा त्यहाँबाट भाग्यो। तर एकपटक पनि पछाडि फर्किएर हेरेन। बिरानो जंगलमा एक्लै छाडेर गयो।
तर पनि आउँछ कि भन्न आश थियो। तर ऊ आएन। त्यसपछि बल्ल बुझेँ, उसले मेरो शरीरसँग प्रेम गरेको रहेछ। म मूर्ख भएर उसको विश्वासमा घरमा झुट बोलेर यहाँसम्म आएँ।
ऊ गएर मात्रै त बरू केही थिएन तर सँगै आएका सँगै फर्किने सोचेर साथमा केही बोकिनँ। मेरो सामान, पैसा, फोन सबै उसैको गाडिमा छुट्यो। मसँग त हजुरलाई दिन केही छैन।'
यत्ति भनेर उनी बहनाले खियाउदाँ बनेका स-साना छालहरू हेरेर टोलाउन थालिन्।
मलाई भने उसको समस्या सुनेपछि केही प्रतिक्रिया दिनै आएन। हामी बीचमा फेरि मौनता छायो। मौनता चिर्दै हामी नजिकै एउटा माछो उफ्रियो। उनले माछा उफ्रिएतिर हेरिन्, मैले उनीतिर।
फेरि उनैले सोधिन्, 'तपाईंले कसैसँग प्रेम गर्नुभएको छ?'
सुरूमा त उसको प्रश्नले मलाई लाज लाग्यो। तैपनि मुन्टो हल्लाएर प्रेम नगरेको संकेत दिएँ।
'किन र?', उनले फेरि सोधिहालिन्।
'आजसम्म त्यस्तो मान्छे भेटेकै छैन, त्यसैले।'
उनले भनिन्, 'केटाहरुलाई त कति सजिलो है! जे गरे पनि भयो, जसो गरे पनि भयो, जवाफ कसैलाई दिन पर्दैन। प्रेम गरेको नाटक गर्यो, केटीहरूको जीवन र भावनासँग खेल्यो। त्यसलाई पुरूषार्थको नाम दियो, फूर्ति हाँक्यो, हिँड्यो। हाइसन्चै छ नि! होइन र?'
मलाई पनि उनले यसरी सबैलाई सामान्यीकरण गरेको देखेर झोक नै चल्यो। सायद उनको कुराले मेरो पुरूसत्वको दम्भलाई चोट पुगेको थियो। त्यसैले मैले भनेँ, 'तपाईं कसरी यो सब भन्न सक्नुहुन्छ? तपाईंले रोजेको एउटा पुरूष त्यस्तो पर्यो भन्दैमा संसारका सबै पुरूषहरू एउटै हुन्छन् भन्ने सोच्नु गलत हो। सबै पुरूषहरूले अर्काको जीवन र भावनासँग खेलबाड गर्छन् भनेर बुझ्नु पनि मूर्खता हुन्छ। र, अर्को कुरा तपाईंले विश्वास गरेको पुरूषलाई आँखा चिम्लेर विश्वास गर्दै घरमा झुट बोलेर आउनु तपाईंको चै गल्ती होइन र?'
उसलाई मेरो कुराले बिझिसक्यो भनेर थाहा पाइसकेको थिएँ। लगभग शान्त भइसकेकी उनी फेरि केही रिसाएझैंं गरी भनिन्, 'मेरो कुरा के सही लाग्थ्यो र हजुरलाई! आखिर हजुर पनि एउटा पुरूष न पर्नुभयो। पुरूष प्रधान हाम्रो समाजमा एउटा पुरूषले अर्को पुरूषको वकालत नगरे कसले गर्ने, हैन र!'
'यहाँ कुरा पुरूष र महिलाकोभन्दा पनि दृष्टिकोणको हो, जुन निकै परिवर्तनशील हुन्छ। तपाईं संसारका सबै पुरूषलाई एउटै तराजुमा हालेर जोख्दै हुनुहुन्छ, त्यसैले म त्यो सोचको मात्र प्रतिवाद गर्दैछु। म गलतलाई गलत भन्न सक्ने सामर्थ्य राख्छु। तपाईंमाथि गलत भएकै हो, उसले गलत गरेकै हो, म मान्छु तर तपाईंले उक्त घटनापछि पुरूषहरूप्रति जुन नकारात्मक धारणा राख्न थाल्नुभयो, त्यो पनि त गलत छ। मेरो विमति यत्ति हो,' मैले जवाफ दिएँ।
उनले हार्न चाहिनन् र भनिन्, 'म अब जीवनभरि कुनै पनि पुरूषको विश्वास गर्ने छैन।'
'त्यो त हजुरको कुरा हो। अनि अधिकारको पनि। तर अहिले यो जुन धारणा तपाईंले पुरूषहरूप्रति बनाउनुभएको छ नि, त्यो पनि परिवर्तन भएर जानेछ। एकैछिन सोच्नुस् त, अहिले तपाईं कोसँग हुनुहुन्छ? पुरूषहरूप्रति यस्तो धारणा राख्ने तपाईं? म एउटा अपरिचित पुरूषलाई नै विश्वास गरेर मेरै डुंगामा एक्लै सयर गरिरहनु भएको छ। अनि फेरि भन्नुहुन्छ, मलाई तपाईंलाई दिने केही छैन। के अब म मानवताको ख्यालै नराखि, तपाईंको पुरूषहरूप्रति आएको नकारात्मक धारणाले बिच्किएर तपाईंलाई फेरि त्यही छोडिदिनु?'
उनी नाजवाफ भएपछि मैले उनलाई सहज तुल्याउन भने, 'तर म त्यस्तो कदापि गर्न सक्तिनँ। मानवताभन्दा ठूलो धर्म केही छैन यो संसारमा। म त अर्काको डुंगा चलाउने मान्छे हुँ। मैले बेलुका साहुलाई दिनभरिको हिसाब बुझाउनु पर्छ। तपाईंसँग पैसा छैन भन्ने जान्दाजान्दै मैले जबरजस्ती गर्न पनि मिल्दैन। उस्तै परे तपाईंको पैसा पनि उल्टै मैले नै हालिदिनु पर्छ। के अझै पनि त्यो केटा र ममा समानता देख्नुहुन्छ? अझै पनि सबै पुरूषहरू एकै हुन् भन्न सक्नु हुन्छ?'
त्यसपछि उनी पुरै शान्त भइन्। बोल्नलाई शब्द भेटिनन् या बोल्न जरूरी ठानिनन्। त्यो त उनै जानून्। तर उनी चुप लागिन्।
दिउँसोको दुइ बजेको थियो। मैले डुंगा किनारमा लगेर बाधेँ। धन्न डुंगा घाटमा साहु थिएनन्, र उनको हिसाब बुझाउन परेन। मलाई ठूलो राहत मिल्यो।
उनले डुंगामा 'अझै सहयोग गर्नुपर्छ' भनेकी थिइन्।
उनको परिस्थिति बुझेपछि मैले उनलाई घरसम्म पुर्याउन सहयोग गर्नुपर्छ भन्ने लाग्यो।
त्यसैले मैले चिनेको एकजना ट्याक्सी ड्राइभर दाइलाई हामी दुइलाई बसपार्कसम्म छोड्दिन आग्रह गरेँ।
पृथ्वीचोकबाट छुट्ने माइक्रोबसको तीन बजेको टिकट पाइयो। टिकटसँगै गाडिमा पिउनलाई एक बोतल पानी पनि लिइदिएँ। यति गर्दा मेरो त्यो दिनको कमाई लगभग सबै सक्किसकेको थियो। तर पनि अचम्मसँग, गोजीसँगै मेरो मन पनि हल्का भएको थियो।
अघि अमेरिकन जोडीले दिएको टिप्स खल्तिमा थियो। तर मैले बिर्सेको रहेछु। सम्झिएपछि त्यसैबाट दुई सय रुपैयाँ उनैलाई 'बाटोमा खाजा खानू” भनेर दिएँ।
उनले मलाई धन्यवादको मुद्रामा एकटकले हेरिरहिन्, तर केही बोल्न सकिनन्। बाटोमा केही परे फोन गर्नु भनेर मैले आफ्नो फोन नम्बर पनि दिएँ। बोल्ने कुरै सकिएझैं गरी उनले मलाई गाडिको झ्यालबाट चुपचाप हेरिरहिन्।
ठिक तीन बजे उनको बस हिँड्यो। म पनि लोकल माइक्रो समातेर घरतिर फर्किएँ। एकै दिनमा यति धेरै घट्ना निकै कम घट्थे मेरो जीवनमा, त्यसैले होला मलाई त्यो दिन निकै लामो लागेको थियो।
---
बेलुका एघार बजेतिर नयाँ नम्बरबाट म्यासेज आयो। म्यासेज उनैको रहेछ। घर पुगेर बाबाको मोबाइलबाट पठाएको भन्ने व्यहोरा सहितको म्यासेज थियो।
म्यासेजमा लेखिएको थियो, 'म सकुशल घर आइपुगेँ। आज मैले एकै दिन पुरूषका दुई रूपहरू नजिकबाट देख्ने मौका पाएँ। एकैदिनमा मैले दुइ पटक आफ्नो धारणा बदल्नुपर्यो। तपाईंको व्यवहार र विचारले मेरो पुरूषप्रतिको नकारात्मक विचार पनि केही मत्थर भयो।
बसभरि तपाईंकै अनुहार झलझली सम्झिरहेँ। तपाईंका विचारहरू जति विशिष्ट छन्, उत्तिकै तपाईंका व्यवहारहरू पनि। तपाईंले मलाई देखाउनु भएको सदाशयता र आजको गुन म कहिल्यै भुल्ने छैन। सहयोगको लागि हृदयदेखि नै धन्यवाद छ!'
उक्त म्यासेज मैले मुस्कुराएरै तीन पटक पढेँ, जिन्दगीमा कसैले पहिलो पटक तारिफ जो गरेको थियो।
एकैछिन एउटा भावनात्मक प्रक्रियाबाट गुज्रिएपछि मैले मुस्कानको इमोजी मात्र हालेर म्यासेजको रिप्लाई गरेँ। मनमनै विशेष खालको आनन्द अनुभूति भइरहेको थियो। दिउँसोको घट्नालाई एक/एक गरेर सम्झिँदा सम्झिँदै कतिबेला भुसुक्क भएछु थाहै भएन।