प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले दुर्घटना न्यूनीकरण र सुरक्षा निगरानी बढाउनका लागि प्रदेशका जिल्लामा सिसिटिभी जडान गरेको बताएका छन्।
प्रदेश नं. ५ ट्राफिक कार्यालयमा सिसिटिभी कन्ट्रोल रूमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले दुर्घटना न्यूनीकरणका साथै प्रहरीको निगरानी र पारदर्शिताका लागि सिसिटिभी जडान गरिएको बताए।
प्रदेशको रोल्पा बाहेक ११ जिल्लामा सिसिटिभी जडान भएको भन्दै मुख्यमन्त्री पोखरेलले सिसिटिभी जडानपछि सुरक्षाप्रति जनताको विश्वास अझ बढ्ने बताए।
उनले ट्राफिक व्यवस्थापनमा समस्या र बढी दुर्घटना हुने क्षेत्रमा समेत सिसिटिभी निगरानी बढाउनुपर्ने भन्दै त्यस्ता स्थानको पहिचान गर्न समेत आग्रह गरे।
सडक जाम, दुर्घटनाको जानकारी, दुर्घटना पछिको रेस्क्यू, अपराधपछि भाग्ने अवस्थाको अन्त्य पनि सिसिटिभी जडानले हुने अपेक्षा उनले गरे। प्रदेश नं. ५ ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मधुसुदन लुइँटेलले अपराध नियन्त्रण र दुर्घटना न्यूनीकरणमा सिसिटिभी जडानले महत्वपूर्ण भूमिका खेल्ने बताए।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अघिल्लो आर्थिक वर्षमा सिसिटिभी जडानका लागि ३ करोड बजेट विनियोजन भएपछि सिसिटीभी जडान गरिएको उनले बताए।
बुटवलमा मात्र आठ स्थानमा सिसिटिभी क्यामरा जडान गरिएको छ।