धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार डिन कार्यालय ३६ दिनदेखि बन्द छ।
बन्दले पठनपाठन र परीक्षा भने प्रभावित नभएको विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालय ऐन, नियम र पद्धतिबाट सञ्चालन हुनुपर्ने, आर्थिक तथा नीतिगत अनियमिततालाई नियन्त्रण गर्न र प्राध्यापक/कर्मचारीको वृत्तिविकाससम्बन्धी माग राखेर प्राध्यापक संघ र कर्मचारी संघले कार्यालय बन्द गरेका हुन्।
प्राध्यापक संघका सभापति वेदमणि दाहाल र कर्मचारी संघका अध्यक्ष सुरेन्द्र केसीले बिहीबार विज्ञप्ति जारी गरेर उपकुलपति, रजिष्ट्रार डिन कार्यालय बन्द गरे पनि पठनपाठनमा प्रभावित नपारेको उल्लेख गरेका छन्।
‘गैरजिम्मेवार पदाधिकारीको अनुपस्थितिमा पनि विश्वविद्यालयका प्राज्ञिक कार्यहरू सुचारू गर्न सकिन्छ भन्ने सन्देश विज्ञप्तिमार्फत् दिन चाहन्छौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।