स्कुल बसले किचेर मोरङमा एक जना नाबालकको ज्यान लिएको छ।
मोरङको बेलबारी नगरपालिका-५ मा स्कुल बसले किचेर बुधबार बिहान एक वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहान सवा ९ बजे बेलवारी नगरपालिका-५ रामपुरस्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ क ३०४६ नम्बरको कसेनी बोर्डिङ स्कुलको बसले किच्दा स्थानीय प्रमोद साहका छोरा यसराज साहको मृत्यु भएको हो। ५ वर्षीय छोरालाई विद्यालय पठाउनको लागि साहकी श्रीमती शिवकुमारी साहले दुवै छोरालाई सँगै लिएर गएकी थिइन्।
सानो छोरालाई भुइँमा राखेर ठूलो छोरालाई बसमा चढाएकी थिइन्। त्यहीबेला गुड्ने क्रममा भुइँमा रहेको नाबालकलाई बसले किच्दा घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ।
बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।