दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा प्रथम ‘राष्ट्रिय अनुसन्धानात्मक गोष्ठी’ को शुक्रबारदेखि सुरू भएको छ।
शनिबारसम्म चल्ने गोष्ठीमा नेपालका साथै भारत र अमेरिकाका शिक्षाविद् तथा प्राध्यापकहरूको सहभागिता छ।
कार्यक्रमलाई सम्बोधन गर्दै भारतका प्राफेसर डा. सुशान्त चौधरीले विज्ञान र दर्शनको समिश्रणबाट शिक्षाको उन्नयनका लागि अनुसन्धानात्मक ज्ञान आर्जन गर्न सम्भव हुने बताए।
मानिस नै कुनै पनि भूगोलको वास्तविक स्रोत भएको भन्दै उनले तर पछिल्लो एआईको उचित उपयोग र अध्ययन गर्न सक्ने दक्ष जनशक्ति आजको आवश्यकता भएको बताए।
‘नयाँ ज्ञान र सृजनाले समस्याको समाधान गर्न सघाउ पुर्याउँछ,’ प्राध्यापक चौधरीले भने, ‘ त्यसले समस्या समाधान गर्ने नयाँ बाटो पत्ता लगाउँछ।’
त्रिभुवन विश्वविद्यालयका प्रा. डा. शंकरप्रसाद खनालले मुलुकभर रहेका विभिन्न २४ वटा विश्वविद्यालयले झेल्दै आएको समस्या र समाधानका उपाय के हुन सक्छन् भन्नेबारे धारणा राखेका थिए।
नेपाल सरकारले उच्च शिक्षाका लागि विनियोजन गर्ने बजेट अपर्याप्त रहेको, कक्षा कोठामा विद्यार्थीको बढी भीड हुने गरेको, भौतिक पूर्वाधार कमजोर रहेको, आधुनिक र पर्याप्त पुस्तकालयको अभाव रहेको जस्ता समस्या समाधान गर्न सके शिक्षामा देखिएका समस्या समाधान गर्न सम्भव हुने बताएका थिए।
तुलसीपुरका मेयर टीकाराम खड्काले गोष्ठीले शैक्षिक क्षेत्रमा व्याप्त निराशा चिर्न तथा प्लस टुपछि विदेश पलायन हुने युवालाई स्वदेशमै रोक्ने खाले शिक्षाको आवश्यकता औंल्याएका थिए।