वीगरन्ज महानगरपालिका- १६ का वडाध्यक्ष श्यामबाबुप्रसाद चौरसियालाई १ लाख ७७ हजारको भ्रष्टाचार मुद्दा लागेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व छल्ने मनसायले जग्गा किनबेच गर्ने अन्य २ जनालाई पनि उनीसँगै मुद्दा चलाएको छ।
जहराती मिया धुनियाको ३३ लाख पर्ने जग्गालाई ७ लाखको थैली देखाएको, मिलेमतोमा गलत घरबाटो सिफारिस गरेर न्यूनतम मूल्याङ्कनभन्दा पनि कम मूल्य देखाएको आरोप उनीहरूमाथि छ।
बढी मूल्य परेको जग्गालाई कम मूल्य देखाएर राजस्व छली गरेको भन्दै अख्तियारले चौरसियाविरूद्ध तीन महिनादेखि तीन वर्षसम्म कैद र १ लाख ७७ हजार जरिवाना नै हुनुपर्ने मागसहित अख्तियार शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
जग्गाधनी मियाले जग्गा बेच्दा पुँजीगत लाभकर छल्न खोजेको भन्दै जग्गाको पुँजीगत लाभकर ८२ हजार रूपैँया बीगो कायम गरेको छ। उनलाई २ वर्षसम्म कैद र ८२ हजार नै जरिवाना तिराउन अख्तियारको माग छ। उनीबाट बीगो पनि जफत हुनुपर्ने अख्तियारको अभियोपत्रमा उल्लेख छ।
जग्गा किन्ने गयन्ती देवीले रजिष्ट्रेसन शुल्क कम तिर्न दुबैसँग मिलेमतो गरेको भन्दै ९४ हजार बीगो कायम गरेको छ। उनलाई पनि बीगो जफत, बीगो जति नै जरिवाना र दुई वर्षसम्म कैद सजाय माग गरिएको छ।