१९ वर्षीय गोविन्द माझी दुई दिनदेखि अस्पतालमा उपचाररत् छन्।
कुनै रोगले सताएर उनी अस्पताल भर्ना भएका होइनन्। चोरीको शंका लागेर उनीमाथि निर्घात् कुटपिट गरिएकाले उनलाई अस्पताल ल्याउनुपरेको हो।
सर्लाहीको ईश्वर नगरपालिका-९ रामनगरका गोविन्द दसैंको दिन गाउँमा लागेको नाच हेरेर राति १२ तिर घर फर्किँदै थिए।
घर आउने बेला उनी बाटो नजिकैको पोखरी डिलमा शौच गर्न बसे। त्यतिकैमा नजिकैको झाड़ीबाट केही मान्छे भागेको देखे। मान्छे भागेको देखेर उनी डराए। त्यहीबेला गाउँमा चोर आएको हल्ला भयो।
‘स्थानीयले टर्च बालेर चोर खोज्दा मलाई देखे,’ गोविन्दले भने, ‘सुरूमा को हो भनेर मेरो नाम ठेगाना सोधे। मैले सबै भनिदिएँ। तिमी यहीँ बस, हामी गाउँका मान्छेलाई बोलाएर ल्याउँछौं भनेर दुई-तीन जनाबाहेक सबै गए।’
चोरी नगरेकाले आफू ढुक्कसँग बसे।
'केही गरेको थिइनँ, किन डराउनु। फेरि म पनि त्यही गाउँको थिएँ। आमा बुवाको नाम पनि सही नै भनेको हुँ,’ उनले भने ‘तर अरू गाउँले आएपछि मलाई अन्धाधुन्ध कुटपिट गर्न थाले।’
माझीका अनुसार गाउँलेले चोरेको स्वीकार्न खुट्टामा पटक-पटक सुई घोचेका थिए, शरीरमा करेन्ट लगाएका थिए।
‘मेरो घाँटी डोरीले कसेर यसअघि गाउँमा भएका सबै चोरी स्वीकार भनेर शारीरिक रूपमा चोट दिए,’ उनले सेतोपाटीसँग भने।
मंगलबार बिहान वडाध्यक्ष अमिरीलाल साहसहितका व्यक्तिले फेरि गोविन्दलाई कुटपिट गरेको आमा लाली माझीले बताइन्।
‘वडाध्यक्ष साह राति त्यहाँ थिएनन्। अर्को बिहान उनी पनि गाउँका अन्य व्यक्तिसँगै त्यहाँ उपस्थित थिए,’ लालीले भनिन्, ‘मेरैअगाडि वडाध्यक्ष साहले बाँसको लठ्ठीले कुटे। मेरो छोरा मर्छ भनेर उनको खुट्टासमेत ढोगें तर लात्ताले हानेर धकेलिदिए।’
लालीका अनुसार कुटपिटले गम्भीर भएका गोविन्दलाई प्रहरीकै रोहवर अस्पतालमा भर्ना गरिएको हो।
‘मंगलबार करिब ३ बजेतिर उनलाई हस्पिटलमा ल्याइयो। लगातार स्लाइन पानी चढ्दैछ,’ लालीले भनिन्, ‘कुटाइले शरीरका विभिन्न भाग फुटेका छन्, छोराले गल्ती नै गरेको थियो भने समाजमा बसेर छलफल गर्न सकिन्थ्यो यसरी गम्भीर बनाएर के पाए।’
चोरी नै गर्न गएको भए चोरीका सामग्री बोकेर गएका हुन्थे तर टर्च बोकेरै गएको आधारमा छोरालाई चोर बनाएर मरणासन्न हुने गरी कुटपिट गरेको आमा लालीको आरोप छ।
गोविन्दको बयलबाँसमा रहेको सिद्धिविनायक पोलिक्लिनिकमा उपचार भइरहेको छ।
घटनाबारे सोध्दा वडाध्यक्ष अमिरीलाल साहले ३ महिनामा वडा कार्यालयसहित गाउँका अन्य व्यक्तिको घरमा १४ वटा चोरी भएको र चोरी गर्न लागेकै अवस्थामा पक्रिएकाले गोविन्दमाथि कुटपिट भएको बताए।
‘उनीहरूले २५ लाखभन्दा बढी रकम बराबरको सरसामान लुटिसकेका छन्, यस्तो चोर पक्राउ परेपछि आक्रोशमा दुई-चार झापड लाग्नु सामान्य हो,’ उनले भने।
कुटपिटमा पनि तपाई पनि संलग्न हुनुहुन्छ भन्ने छ नि भन्ने प्रश्नमा उनले भने, ‘म त्यो दिन रामनगरमा थिइनँ, बयलबाँस गएको थिए मेरो नाम आउनु सरासर गलत हो।’
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरिक्षक सन्तोषसिंह राठौरले युवकलाई कुटपिट गरिएको र बाँकी कुरा अनुसन्धानपछि खुल्ने बताए।
‘कुनै पनि आरोपमा कानुन हातमा लिएर कसैलाई कुटपिट गर्न मिल्दैन्,’ एसपी सिंहले भने, ‘यसका लागि कानुनी प्रक्रिया छँदैछ कसैलाई शंकाकै आधारमा कुटपिट गर्नु गैरकानुनी हो।’
एसपी सिंहका अनुसार मंगलबार वडाध्यक्ष साहसहितका व्यक्तिले नै चोर हो भन्दै कुटपिट गरिएको अवस्थामा ती युवकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएका थिए।
घटनाबारे पीडक र पीडित दुबै पक्षबाट निवेदन परेको उनले बताए। दोषी जो कोही भए पनि कानुनबमोजिम कारबाही हुने प्रहरी उपरीक्षक राठौरले बताए।