पोखरा महानगरपालिकाले ‘पोखरा प्रज्ञा प्रतिष्ठान’ स्थापना गरेको छ।
प्रतिष्ठानका नवनियुक्त कुलपति र प्राज्ञ सदस्यहरूले बुधबार सपथ ग्रहण गरेका छन्।
महानगरका मेयर मानबहादुर जिसीले प्रतिष्ठानका कुलपति पदमराज ढकाललाई सपथ खुवाए भने ढकालले सदस्यहरूलाई सपथ ग्रहण गराए।
प्रतिष्ठानका प्राज्ञ सदस्यहरूमा लोकदोहोरी गायक जीवन दाहाल, जनवादी गायक कृष्ण भण्डारी, साहित्यकार प्रकाश ज्ञवाली, कलाकार मिलन शेरचन, कवयत्री सरस्वती श्रेष्ठ र संगीतकार दिलीप गायक छन्। प्रज्ञा प्रतिष्ठानमा उपकुलपति र दुई सदस्य रिक्त छन्। ती पदमा पछि नियुक्त गरिने मेयर जिसीले जानकारी दिए।
११ सदस्यीय प्रज्ञा प्रतिष्ठानबाट २ जना महानगरको कार्यपालिका सदस्य रहने व्यवस्था गरिएको छ। प्रतिष्ठानको सदस्य सचिव महानगरकै प्रमुख प्रशासकीय अधिकृत रहने महानगरले बनाएको प्रज्ञा प्रतिष्ठान ऐनले व्यवस्था गरेको छ।
प्रतिष्ठानको कुलपतिलगायत प्राज्ञ सदस्य छान्न पोखरा महानगर वडा नं. ७ का वडा अध्यक्ष रामचन्द्र बराल, सूचना अधिकारी भरतराज पौडेल र विज्ञ सदस्यमा मनकुमार श्रेष्ठ सदस्य रहेको समिति बनाएको थियो।
उक्त समितिले गत असोजमै कुलपति र प्राज्ञ सदस्यको सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा प्रतिष्ठानमा कुलपति र सदस्यहरू नियुक्त गरेको मेयर जिसीले बताए।
सपथ ग्रहणपश्चात बोल्दै मेयर जिसीले पोखराको कला, साहित्य, संस्कृतिलगायत सम्पूर्ण विधिको संरक्षणमा प्रतिष्ठानले सरोकारवालसँग छलफल गरेर गुरूयोजना निर्माण गर्न आग्रह गरे।
पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरूङले पोखरा कला, संगीत, साहित्य र संस्कृतिको उर्वर भूमि भएको बताउँदै सबैलाई एकीकृत गरेर महानगरको पुँजी बनाउन प्रतिष्ठानले भूमिका खेल्नुपर्ने बताइन्।
नवनियुक्त कुलपति पदमराज ढकालले प्रतिष्ठानको उद्देश्य अनुरूप अगाडि बढ्ने बताए।