कोरोना महामारी सुरू भएदेखि चितवनको सौराहाका हात्तीहरू कामविहीन छन्। उनीहरूको मुख्य काम पर्यटक घुमाउनु हुन्थ्यो।
तर, विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको संक्रमणले गर्दा पर्यटक घुम्न आएका छैनन्। बेकामे हात्ती पाल्न सौराहाका पर्यटन व्यवसायीलाई हम्मे भइरहेको छ।
महिनाकै एक लाख रूपैयाँ भन्दा बढी खर्च गर्नुपर्ने हात्ती पाल्न सहज होस् भन्ने उद्देश्यले कामविहीन मान्छेहरूलाई राहत बाँडिएजस्तै सौराहाका हात्तीहरूलाई पनि राहत बाँडिएको छ।
दुई वटा संरक्षणवादी संस्थाले ती हात्तीहरूले नियमित खाने चना र सख्खर सहयोग गरेका हुन्।
हात्ती संरक्षणको क्षेत्रमा काम गर्दै आएको नेपाल एलिफेन्ट वाक स्याङ्च्युरी र जेन्टल जाएन्ट्स स्टे होम प्रोजेक्टको संयुक्त प्रयासमा शुक्रबार सौरहामा ती सामग्री वितरण गरिएको हो।
सो क्रममा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीमार्फत हात्तीहरूलाई १ हजार २५ किलोग्राम चना र ८ सय २० किलोग्राम सख्खर दिइएको नेपाल एलिफेन्ट वाक स्याङ्च्युरीका अध्यक्ष सुुधा ढकालले जानकारी दिइन्। ती सामग्री सौराहामा रहेका ४१ हात्तीहरूलाई दिइएको हो।
‘मान्छेले जस्तै हात्तीले पनि अहिले पर्याप्त खान पाएका छैनन्,’ उनले भनिन्, ‘त्यही भएर हामीले सानो सहयोग गरेका हौँ।’ उनले कोभिड महामारी रहुञ्जेसम्म सौराहाका हात्तीहरूलाई यस्तै सहयोग जारी राख्ने बताइन्।
६० भन्दा बढी हात्ती सञ्चालन गर्दै आएको सौराहाको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था अन्तर्गत अहिले ४० भन्दा कम हात्तीहरु छन्। अघिल्लो वर्षको लकडाउनमा पाल्न समस्या भएपछि केही महिना अघि यहाँका दर्जन बढी हात्तीहरु भारतमा विक्री गरिएका थिए।