विगतका वर्षझैं यसवर्ष पनि चाडपर्वको समयमा यात्रुहरू ठगिन सक्ने समस्यालाई मध्यनजर गरी बुटवल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
बुटवल उपमहानगरपालिकाले यातायात व्यवसायी, सुरक्षा निकाय लगायतको सहकार्यमा सहायता कक्ष स्थापना गरेको हो।
बिहीबारदेखि संचालन गरिएको उक्त सहायता कक्षमा यात्रुहरु अलपत्र पर्ने, ठगिने, असुरक्षा हुने र स्वास्थ्यसम्बन्धि कुनै समस्यामा परे सम्पर्क गर्न आग्रह गरिएको छ।
सहायता कक्षबाट यात्रुहरुले स्वास्थ्य चेकजाँच, परामर्श, केही अत्यावश्यक औषधी, मास्कजस्ता सुविधा पाउने उपमहानगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले जानकारी दिए।
उपमहानगरपालिकाले बसपार्कमा स्वास्थ्य सहायता, यात्रु सहायता र सरसफाईसम्बन्धि युनिट समेत परिचालन गरेको उपमहानगरपालिकाका नगर प्रमुख सावित्रादेवी अर्यालले जानकारी दिइन्।
‘हामीले बसपार्कमा आउने यात्रुको यात्रुहरुको स्वास्थ्य परीक्षण गर्ने, यात्रुलाई परेका समस्या समाधानसँगै बसपार्कभित्रको सरसफाइ गर्ने कामको पनि सुरुवात गरेका छौं', अर्यालले भनिन्।
यी कामको लागि उपमहानगरपालिकाबाट तीनवटा युनिटलाई चाडपर्व भरी खटाइएको प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले जानकारी दिए।