काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले योजना अनुगमन गर्नु अघिका सबै प्रक्रिया पूरा गर्न आग्रह गरेकी छन्।
सोमबार बसेको अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उपप्रमुख डंगोलले उक्त कुरा बताएकी हुन्।
‘योजनाको लागत अनुमान, ड्रइङ् डिजाइन, सार्वजनिक खरिद प्रक्रियामा जाँदाका सर्त, निर्माण पक्षसँग गरिएको सम्झौताका बुँदासँग सम्बन्धित प्रगतिका प्रारम्भिक सूचनासहितको प्रतिवेदन तयार पार्नुहोस्,' उनले भनि, 'सोही आधारमा प्राविधिक लिएर अनुगमन थालौं।’
योजना सम्पन्न भएपछि गरिने अनुगमनभन्दा काम भइरहेकै बेला गरिने अनुगमन प्रभावकारी हुने उनको भनाइ छ। त्यसबेला गरिएका अनुगमनमा सामान्य त्रुटि भेटिए सच्याउने अवसर पाइने उपप्रमुख डंगोलले बताइन्
‘योजना निर्माण सम्पन्न भएपछि कतिपय प्राविधिक कुरा परीक्षण गर्न नसकिने हुन सक्छ। प्राविधिक त्रुटि भेटिए यसलाई सच्याउन सकिँदैन,' उनले भनिन्, 'यसबाट अर्को समस्या सिर्जना हुने हुन्छ। योजना सम्पन्न पछिका सूचक बोकेर होइन, निर्माण कार्य हुँदै गर्दाका आधारमा अनुगमन गरौं।’
यस्तै, बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, संघ तथा प्रदेश सरकारले तर्जुमा गरेका योजना अनुगमनका सूचकलाई आधार मानेर महानगर आफैंले सूचक बनाउनु बताएका छन्।
त्यस्तै सहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारीले, भौतिक पूर्वाधार निर्माण सम्बन्धी योजना तयार पार्दा निर्माण सामग्रीको गुणस्तर, मात्रा, निर्माण शैलीजस्ता पक्षको तोकेर मापदण्ड बनाउने कामबाट अनुगमन जोडिने बताए। नयाँ योजना तयारीमा ध्यान दिएर पुराना योजनाको अनुगमन गर्नुपर्ने उनको सुझाव छ।
पूर्वाधार निर्माणअन्तर्गत पैदल मार्ग निर्माण तथा स्तरोन्नति, पार्क निर्माण, सडक कालोपत्रे गर्ने, स्तरोन्नति गर्ने, भवन निर्माण कार्य भइरहेको महानगरपालिकाले जनाएको छ।