लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको हिरासतमा केही दिनयता तीन जना विदेशी नागरिक छन्।
लागुऔषध कोकिनको कारोबार र ओसारपसार गरेको आरोपमा तीन जनालाई ब्युरोले पक्राउ गरेको थियो। यसबारे सार्वजनिक गर्न ब्युरोले बिहीबार दिउँसो पत्रकार सम्मेलन राखेको थियो।
प्रहरीले युगाण्डाका दुई जना र एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।
युगाण्डाका ४४ वर्षीया केभिना मुगाला, लिलियन सुसन वेनेन्ज र ३३ वर्षीया भारतीय नागरिक देवाजनी पाललाई ब्युरोले सार्वजनिक गरेको हो।
केही दिनअघि ब्युरोलाई एउटा गोप्य सूचना आएको थियो- ठूलो मात्रामा कोकिन आउँदैछ!
त्यसरी आएको सूचनाको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीको सुरक्षा तैनाथ थियो। त्यही बेला अर्थात् वैशाख २८ गते इथियोपियाबाट दुई जना युगाण्डाका महिलाहरू दोहा पुगेका थिए। दोहाबाट उनीहरू वैशाख ३० गते काठमाडौं आइपुगे।
विमानस्थलमा लागुऔषध ब्युरोलाई निगरानी राख्ने अधिकारी भए पनि चेकचाँज गर्ने अधिकारी भने दिइएको छैन। त्यहाँको एक्सरे मेसिनले पनि मेटलहरू मात्रै देखिने भएकाले लागुऔषध नदेखिएको ब्युरोका एसएसपी गोविन्द थपलियाले बताए।
विमानस्थलमा दुई जना महिलाको गतिविधिमाथि प्रहरीलाई शंकास्पद लागेको थियो। त्यसकै आधारमा प्रहरीको टोलीले दुबै जना महिलाहरूलाई पछ्याएको एसएसपी थपलियाले बताए।
‘उनीहरू होटलमा बस्न पुगेका थिए। हाम्रो टोलीले उनीहरूलाई पछ्याएर सुरूमा एक जनालाई पक्राउ गरेका थियौं,’ उनले भने।
सुरूमा प्रहरीले केभिना मुगालालाई पक्राउ गरेको थियो। उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि कोकिन प्लास्टिकले बेरेर निलेर ल्याएको भन्ने प्रहरीले पत्ता लगायो। त्यसपछि उनलाई नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा लगिएको थियो।
‘अस्पतालमा लगेर सुरूमा एक्सरे गर्न लगायौं। एक्सरेमा पनि शंकास्पद वस्तुहरू देखिएका थिए। औषधि दिएर ९० वटा कोकिन क्याप्सुलहरू पेट भित्रबाट निकालिएको छ,’ उनले भने, ‘त्यसलाई तौल गर्दा एक किलो २६० ग्राम थियो।’
यस्तै, प्रहरीको टोली लिलियन सुसन बस्ने ठमेलको होटलमा पनि पुग्यो। जहाँ सुसनकै सुटकेसमा उक्त लागुऔषध बरामद भयो।
होटलमा बरामद भएको कोकिन भने लिलियनले निलेकी थिइनन्। उनले चकलेटको र्यापरमा राखेर कोकिन ल्याएकी थिइन्।
उनीबाट प्रहरीले एक किलो ३९४ ग्राम कोकिन बरामद गरेको हो।
उनीहरू दुबैबाट प्रहरीले २ किलो ६५४ ग्राम कोकिन बरामद भएको हो।
उनीहरू दुबै जना पक्राउ परे पनि प्रहरीले यसको थप अनुसन्धान अघि बढाएको थियो।
नेपालमा कोकिनको खपत थोरै मात्रामा मात्रै हुने भएकाले यसको गन्तव्य नेपालभन्दा बाहिर हुनुपर्नेमा प्रहरी विश्वस्त थियो।
यससँगै प्रहरीले दुई जना महिलालाई नियन्त्रणमा लिएर लिन आउने व्यक्तिलाई कुरेर बसेको थियो।
‘हामीले उनीहरूलाई नियन्त्रणमा लिएर कुर्यौं। त्यसपछि एक जना भारतीय महिला लिन आइपुगेकी थिइन्,’ थपलियाले भने, ‘उनीबाट यो कोकिन भारतीय बजारका लागि हो भन्ने थाहा भयो। धेरैजसो कोकिन भारतीय बजारमा लगिन्छ। त्यहाँबाट थाइल्याण्ड लगायत अन्य देशमा लगिन्छ। नेपालमा कम प्रयोगकर्ता छन्।’
युगाण्डाकी महिलाहरूलाई दुई हजार डलर दिने भनेर नेपाल पठाइएको एसएसपी थपलियाले बताए। यस्तै भारतीय महिलाले भने २० हजार भारू पाउने भनिएको थियो।
‘कोकिन बोक्नेहरूलाई खाने-बस्ने सुविधा पनि दिने भनिएको थियो। यहाँबाट एक जना ५ दिन र एक जना ९ दिनमा फर्किने टिकट समेत पहिल्यै तयार थियो,’ उनले भने।
उनीहरू यसअघि नेपाल आएका भने थिएनन्।
कोकिनको बिरूवा विशेषगरी दक्षिण अमेरिकाको पहाड र जंगल क्षेत्रमा पाइने ब्युरोले जनाएको छ। ब्राजिल, पेरू, कोलोम्बिया, बोलिभिया र चिलीमा कोकिन उत्पादन हुने गरेको छ।
यहाँबाट आउने कोकिन भारत पुर्याउन लागुऔषध कारोबारीहरूले नेपाललाई ट्रान्जिट बनाउने गरेका छन्। यसअघि पनि प्रहरीले पटकपटक कोकिन बरामद गरेको छ।
२०७६/७७ मा ब्युरोले १५ किलो कोकिन बरामद गरेको थियो। २०७७/७८ मा एक किलो, २०७८/७९ मा दुई किलो, २०७९/८० मा १५ किलो र २०८०/८१ मा ७ किलो बरामद भएको छ।
प्रहरीले पछिल्लो समय बरामद गरेको २.६५४ किलो कोकिन अवैध बजारमा ७ करोड ९६ लाख २० हजार रुपैयाँ पर्ने ब्युरोले जनाएको छ।