नेपालमा 'पदमार्गका पिता' उपमा पाएका बेलायती नागरिक जिम्मी रोबर्ट पदमार्गको खोजी गर्न सन् १९७० को दशकमा कास्कीको पिपर पुगेका थिए।
पिपरमा उनले डाँफे, मुनाल, फोक्रास, प्युरा लगायत कालिज समुहका चराका बथान देखे। जंगलमा कस्तुरी मृग उफ्रिरहेको देखे। चराप्रेमी पर्यटकलाई पिपर उपयुक्त गन्तव्य हुन सक्ने रोबर्टले ठाने।
बेलायतमा सन् १९७५ मा कालिज समुहका चराको अध्यन, अनुसन्धान र संरक्षण गर्न 'वर्ल्ड फेजेन्ट असोसिएसन (डब्लुपिए)' स्थापना भएको थियो।
रोबर्टले नेपालको पिपर क्षेत्रमा प्रशस्त मात्रामा कालिज समूहका चराचुरूंगी पाइने जानकारी डब्लुपिएका चराविद एवं संरक्षणकर्मीलाई दिए। डब्लुपिएको टोलीले सन् १९७९ मा नेपाल आए। पिपरमा पहिलो पटक चरा गणना गरे।
पिपरमा पाइएको चराका विविधता देखेर बेलायती टोलीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) स्थापना अघि नै त्यहाँ चराको विविधता देखेर फेजेन्ट सेञ्चुरी र पिपर रिजर्भका रूपमा व्याख्या ब्याख्या गरेका छन्। डब्लुपिएले आफ्नै अग्रसरतामा ४६ वर्षदेखि पिपरमा चरा गणना, अनुसन्धान र संरक्षणमा चासो दिइरहेका छन्।
विदेशी संरक्षणकर्मीमाझ चर्चित पिपर सेन्चुरीमा चरालाई पहिले जस्तो सजिलो अहिले छैन। पिपरमा चरा हिड्ने बाटोभरि पासो थापिएका छन्। पानीका मूल र पोखरी जाने बाटोभरि पासोका घेरा छन्।
चरा मार्न पासो थापिएको देखेर पर्यावरणविद डा. पारस विक्रम सिंह आश्चर्यमा परे। उनी सन् २०२२ मा माछापुच्छ्रे हिमाल अगाडि उभिएको खुमैडाँडा पदयात्रा जाँदै थिए। लुब्रूचु (रेस्ट क्याम्प) पुग्दा उनी शौच गर्न झाडीतिर गए। झाडीमा उनले माछालाई जाल हाल्ने धागो र काठ प्रयोग गरेर थापिएको पासो देखे। सुरूमा उनले चराको पासो भनेर ठम्याएनन्।
उनीसँगै गएका अरू ३ जना साथीलाई के रहेछ भनेर देखाउँदा बल्ल पत्तो पाए, यो त चरालाई थापिएको पासो रहेछ!
'चरा मार्न पासो थापिएको देखेर म सरप्राइज भएँ। माछालाई जाल थाप्ने, घुर, ढडिया थाप्ने कुरा त पहिल्यैदेखि देखेको थिएँ,' उनले सेतोपाटीलाई भने, 'चराको शिकार गर्न पनि पासो थापिँदो रहेछ।'
-1746368164.jpeg)
पासो थापिएको ठाउँमा स–साना काठका टुक्रा गाडेर बार हालिएको थियो। जसले चरालाई पासोभन्दा बाहिर जान दिँदैनथ्यो। चराको टाउको पासोमा परेपछि डोरी कसिने र चरा झुण्डिने गरी बनाइएको थियो। चरालाई पासो थापिएको ठाउँ अन्यत्र नभई विश्वचर्चित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र थियो।
पारसले संरक्षित क्षेत्रभित्रै चरा असुरक्षित देखे।
खुमैडाँडा–पिपरा–सन्थाल क्षेत्रमा पारस निर्देशक रहेको संस्था जैविक विविधता संरक्षण समाज नेपाल (बायोकोस) ले डाँफे, मुनाल, कस्तुरी संरक्षण अभियान नामक कार्यक्रम सञ्चालन गर्न थाल्यो। जसको उदेश्य कालिज प्रजातिका चराचुरूंगीको अध्यन, अनुसन्धान, चरा गणना र संरक्षण थियो।
बायोकोसका कार्यक्रम अधिकृत पवन राई अर्को वर्ष सन् २०२३ मा पारस हिँडेकै बाटो अनुसन्धानका क्रममा खुमैडाँडा हिँडे। पारसले पासो मात्र देखेको लुब्रुचे खोजीनीति गर्दा पवनको टोलीले २ वटा मुनाल पासोमा परेको भेटायो।
पासोमा झुण्डिएको मुनाल मृत अवस्थामा थियो। अर्को, मुनाल घाँटीमा डोरी बाँधिएर भुइँमै ढलिरहेको थियो। पवनको टोलीले पासोमा परेका जिउँदो मुनालको पासो खोलिदिए। पासोमुक्त भएर मुनाल भुर्रर उडेर गयो। पासोमा झुण्डिएको मृत मुनालको मुचुल्का उठाएर एक्यापमा बुझाइदिए।
हिमालको शोभा मानिने रंगीचंगी मुनाल मात्र होइन, डाँफे, फोग्रास, लुइँचे अर्थात वन कुखुरा लगायत चरा पनि यसरी पासोमा पार्ने गरिएको रहेछ। कालिज समूहमा पर्ने यी चराह्मरूको चोरीसिकारीबारे बुझ्न बायोकोसका संरक्षणकर्मी गाउँका विद्यालयहरूमा पुगे।
कक्षाकोठामा उनीहरूले बालबालिकासँग सोधे, 'तपाईंहरू क–कसले कालिजको मासु खानुभएको छ, हात उठाउनुस् त।'
सबैजसो बालबालिकाले निर्धक्क हात उठाए। अधिकांशले कालिजको मासु खाएको बताए। बालबालिकाले ढाटेनन्। गाउँभरि नै कालिजको चोरीसिकारी भइरहेको तथ्य पत्ता लाग्यो। कालिज प्रजातिका डाँफे, मुनाल लगायत चराचुरूंगी संरक्षण कति चुनौतीपूर्ण छ भनेर यसले उनीहरूलाई छनक दियो।
बायोकोसले चरालाई थापिएका पासो खोजी गरेर नस्ट गर्ने अभियान चलायो। पासोको खोजी गर्दा अधिकांश पानीका स्रोत वरिपरि देखियो। पानी पोखरी वा मूल भएतिर जाने बाटोमा सिकारीले स–साना काठ–दाउरा गाडेर बार हालेका थिए। एक ठाउँमा मात्र सानो बाटो खुला राखिएका थिए। खुला राखिएका ठाउँमा पासो थियो।
'सिकारीले कति परफेक्ट तरिकाले पासो थापेका! पासोमा पर्नुबाहेक विकल्प नै थिएन। पासो पनि घाँटीमा झुण्डिने र खुट्टामा अल्झिने खालका थिए,' पारसले भने।
संरक्षणकर्मीको टोलीले चरा गणना गर्नुअघि पासोको खोजी र नस्ट अभियान चलाए। पानीका मुहान, चरा हिँड्ने बाटो र सम्भावित बासस्थानमा धेरै पासो भेटिए। पासो नस्ट अभियानमा मात्र उनीहरूले ४२० वटा पासो भेटाए। उनीहरूले सबै नस्ट पारे।
'हामीले पासो खोजी गर्दा भेटिएका ४२० वटै पासो नस्ट गर्यौं। यति धेरै पासो भेटिनु भनेको यहाँ डाँफे, मुनाल लगायत चराचुरूंगीको व्यापक चोरीसिकारी हुने रहेछ भन्ने प्रमाण हो,' उनले भने।
पासो नस्ट गरेर उनीहरूले चरा गणना गर्न थाले। १९ जनाको दुइटा समूह विभाजन गरेर चरा गणना गर्दा पिपर क्षेत्रमा हालसम्म ३१४ प्रजातिका चरा भेटिए।
बायोकोसले वैशाख ४ गतेदेखि १८ गतेसम्म गरेको गणनामा उक्त क्षेत्रमा डाँफे १४६, मुनाल १४८, प्युरा १७० र फोक्रास १९ वटा भेटायो। उनीहरूको गणनामा लुइँचे अर्थात वन कुखुरा एउटा पनि देखिएन।

यसअघि भेटिएका सबै पासोमा चरा परेका भए अरू डाँफे र मुनाल पनि सकिने रहेछ। विगत ४६ वर्षदेखि गरिएको गणनाका अधारमा उनीहरूले पिपर क्षेत्रमा चराका संख्या घटिरहेको पत्ता लगाए। यसको कारण, चोरीसिकारी नै भएको पासोले देखायो।
अन्नपूर्ण क्षेत्रमा हालसम्म ५१८ प्रजातिका चरा रेकर्ड गरिएका छन्। जसका आधाभन्दा बढी प्रजाति पिपरमा मात्र देखिएका छन्। पिपरमा देखिएको चराका विविधताले यहाँका जैविक विविधता उजागर गरेको नेपाल पंक्षी संरक्षण समाजका अध्यक्ष हठन चौधरीले बताए।
'यति सानो ठाउँमा यति धेरै प्रजातिका चराहरू रेकर्ड भएका छन्। नेपालमा मात्र पाइने काँडे भ्याकुरदेखि डाँफे, मुनाल र लोपोन्मुख चरा पनि यहाँ छन्,' उनले भने।
पिपरमा ४० वर्षदेखि चरा भइरहेको चरा गणनाको रेकर्ड अनुसार विगत २५ वर्षयता चराको संख्या घटिरहेको छ। चरा गणना हुन थालेको १५ वर्षसम्म चराको संख्या स्थिर देखिए पनि त्यसपछि घट्न थालेको रेकर्डमा देखिएको छ।
एक्याप स्थापना भएपछि संरक्षण अभियान चलाइए पनि पिपरा क्षेत्रमा चरा संरक्षण हुन नसक्नु चिन्ताजनक भएको पारसले बताए। यसका पछाडि डाँफे, मुनाल जस्ता चराचुरूंगीको व्यापार बढ्नु भएको उनले बताए।
'मानिसले पहिले खान मात्र सिकार गर्थे। पिपरमै पनि सन् १९७९ देखि १५ वर्षसम्म चराको संख्या घटेको देखिँदैन,' उनले भने, 'जब चराको व्यापार हुन थाल्यो, त्यसपछि तीव्र गतिमा सिकार हुन थाले।'
पासो थाप्ने प्रवृत्ति बढ्नुमा चोरीसिकारीका अरू उपाय भन्दा सजिलो देखिएको पनि संरक्षणकर्मीले बताएका छन्। बन्दुक प्रयोग गर्दा आवाज आउने र अरू मान्छेले थाहा पाउने हुन सक्छ। बन्दुकले वा गुलेलीले हान्न कालिज आउने बाटोमा आफै ढुकेर बस्नुपर्ने हुन्छ। पासो थापेर छाडिदिँदा आवाज पनि नआउने र ढुकेर पनि बस्न नपर्ने भएकाले चोरीसिकारी सजिलो देखिएको अध्यनले देखाएको छ।
कालिज प्रजातिका चराका गुणले पनि यसलाई सिकारीले सजिलै पासोमा पार्न सक्ने देखिएको छ। डाँफे, मुनाल जस्ता कालिज प्रजातिका चरा अरू चरा जस्तो उडेर लामो यात्रा गर्न सक्दैनन्। यिनीहरू हिँड्न र दौडिन सक्छन्। जमिनमा हिँड्ने भएकाले बाटोमा पासो थाप्न सिकारीलाई सजिलो देखिएको अध्यनले देखाएको छ।
चराका लागि पासो थाप्ने प्रचलन पुरानो नभएको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मिनबहादुर गुरूङ बताउँछन्। उनका अनुसार गाउँलेहरू उहिले उहिले भरूवा बन्दुक प्रयोग गरेर वन्यजन्तु सिकार खेल्थे। पासो थाप्ने प्रचलन थिएन।
एक्याप स्थापना भएसँगै संरक्षण शिक्षा दिन थालेपछि वन्यजन्तुको चोरी शिकारी र जथाभावी रूख काटान नियन्त्रण भएको उनले बताए। पदयात्राको विकाससँगै आउने नेपाली पदयात्री र मजदुरले पासो पनि भित्राएको हुन सक्ने उनको अनुमान छ।
'म पनि सानोमा गोठमा धेरै समय बसेँ। त्यति बेला बन्दुकबाट सिकार गर्ने चलन थियो, पासोको चलन नै थिएन,' उनले भने, 'गाउँलेले पासो थाप्न जानेकै थिएन। पर्यटक आउन थालेपछि बाहिरबाट पासो थाप्ने चलन पनि भित्रियो।'
माओवादी द्वन्द्वकालमा प्रहरीले घरघरबाट भरूवा बन्दुक लैजान थालेपछि बन्दुकको प्रयोग गरेर हुने गरेको चोरीसिकारी घटेको उनले बताए।
डाँफे र मुनालका लागि सिकारीले थापेको पासो भन्दा खतरनाक बनेको छ, वन डढेलो।
भुइँमै गुँड बनाएर बच्चा कोरल्ने कालिज प्रजातिका चराको गुँड डढेलोले जलाइदिन्छ। अण्डा र बचेरा पनि जोगिँदैनन्। उडेर टाढा जान नसक्ने भएकाले वयष्क डाँफे र मुनाल पनि ठूलो डढेलोमा पर्न सक्ने पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउँछन्।
'डढेलोको खतरा डाँफे, मुनाल जस्ता कालिज समूहका चरालाई बढी छ,' उनले भने, 'भुइँमै पात पतिंगर जम्मा गरेर गुँड बनाउने भएकाले डढेलोबाट यी चराका अण्डा र बचेरा पनि जोगिँदैनन्।'
हिमाली क्षेत्रमा जथाभावी लगाउने डोजर, जलविद्युत आयोजना बनाउँदा पड्काइने बम, पदमार्गमा नेपालीले गर्ने फोहोर पनि चराका लागि हानिकारक हुने उनले बताए।
चरा सिकारीको सजिलै पहुँच पुगेको पिपरमा चरा अनुसन्धान र पर्यटन प्रवर्द्धनमा भने सरकारी पक्ष र पर्यटन व्यवसायीको चासो पुगेको छैन।
वर्ल्ड फेजेन्ट असोसिएसन (डब्लुपिए) ले विगत ४६ बर्षदेखि निरन्तर अनुसन्धान गरिरहेको उक्त क्षेत्र विश्वका संरक्षणकर्मीमाझ भने चर्चित रहेको बायोकोसका निर्देशक पारसले बताए।

उनका अनुसार, डब्लुपिएका टोलीले पिपरमा सन् १९७९ देखि १९९३ सम्म आफै आएर चरा गणना गरेका थियो। त्यसपछि उनीहरूले भारतीय विज्ञ समूहलाई सहयोग गरेर पिपरमा चरा गणना गर्न पठाए। डब्लुपिएसँग मिलेर सन् २००३ देखि नेपाली विज्ञले चरा गणना र अनुसन्धानलाई निरन्तरता दिएका छन्।
यसपालि पनि पिपरमा चरा गणना र संरक्षणका कार्य गर्न डब्लुपिएले बायोकोस नेपालसँग साझेदारी गरेको छ।
भाले डाँफेको प्वाँख निलो र सेतो रङ मिसिएको हुन्छ भने भाले मुनालको प्वाँखमा रातो र कालो छिर्कामिर्का हुन्छ। दुवै चराको पोथीको रङ भने भिन्नभिन्न हुन सक्ने नेपाल पंक्षी संरक्षण समाजका अध्यक्ष चौधरीले बताए। उनका अनुसार डाँफेको सिउर हुन्छ, मुनालको हुँदैन। यी चराका रंगीचंगी प्वाँख केही वर्ष अघिसम्म तस्करी हुने गरेको चौधरीले बताए।
'टोपी र ज्याकेटमा सजाउन डाँफे र मुनालका प्वाँख तस्करी हुन्थे,' उनले भने, 'नेपालमा पनि घरमा सजाएर राखेको मैले देखेको छु।'
चैत, वैशाखको समय डाँफे र मुनालले अण्डा कोरल्ने समय भएकाले पनि सिकारीलाई सजिलो भएको उनको अनुमान छ। चैत र वैशाखमा लाग्ने डढेलोले कोरल्न बसेका डाँफे र मुनाल जल्न सक्ने उनको चिन्ता छ।
मारेर भन्दा पर्यटकलाई देखाएर फाइदा
पिपरमा देखिएको चराको विविधता देखेर विदेशी संरक्षणकर्मीले फेजेन्ट सेन्चुरी र पिपर ल्याण्डस्केपका रूपमा यो क्षेत्रलाई सम्बोधन गरेका छन्।
विदेशमा चर्चा पाएको यही ब्राण्डलाई प्रवर्द्धन गरेर पिपर क्षेत्रलाई चरा पर्यटनको गन्तव्य बनाउन सकिने एक्याप निर्देशक डा. रविन कडरिया बताउँछन्।
'हामीले पदयात्रामा खाली हिमाल हेर्ने कुरा मात्र गर्यौं, अब पिपरमा डाँफे र मुनाल हेर्न जाऔं, फरक पर्दैन भनेर प्रवर्द्धन गर्नुपर्छ,' उनले भने।
हिमालसँगै लेकमा फुल्ने फूलहरू र जैविक विविधताका बारेमा प्रवर्द्धन गर्न पछाडि परेको उनले बताए।
पर्यटकलाई चरा देखाएर लामो समय अड्याउन सकिने पनि उनले बताए। डोजर लगाएपछि पदमार्ग खुम्चिएर २८ दिनको बाट १० दिनमा र १२ दिनको ७ दिनमा खुम्चिएको भन्दै उनले अब चराले पर्यटक अड्याउन सक्ने उनले बताए।
'अब पदमार्गमा डाँफे, मुनाल जस्ता चराचुरूंगी देखाएर पर्यटक अड्याउन सक्नुपर्छ। एक दिनका लागि आउनेलाई दुई दिन बस्ने वातावरण बनाउनुपर्छ,' उनले भने, चरा देख्यो कि ढुंगा हान्ने होइन, हेरेर रमाउने बानी बसाउनुपर्छ।'
बर्डलाइफ इन्टरनेसनलका एसिया म्यानेजर डा. हुमबहादुर गुरूङले चरा पर्यटनमार्फत स्थानीयको आयआर्जनमा जोड दिए। विश्वभर नै चरा हेर्ने पर्यटकको संख्या बढेको भन्दै उनले गुणस्तरीय पर्यटक आकर्षण गर्न चरा जोगाउनुपर्ने धारणा राखे।
'चरा हेर्न आउने पर्यटकले धेरै पैसा खर्च गर्छन्। लामो समयसम्म बस्छन्,' उनले भने, 'थोरै पर्यटकबाट पनि धेरै आम्दानी गर्न चरा पर्यटनको प्रवर्द्धन गर्नुपर्छ। चरा जोगाउनुपर्छ।'
नेपालमा हिमाल मात्र नभएर चराको विविधता र संस्कृति देखाउनुपर्ने उनले बताए। चरा मार्ने प्रवृत्ति बढ्दा वातावरणलाई पनि हानि पुग्ने उनले बताए।
'चरा मारेर होइन, चरा देखाएर फाइदा लिन सकिन्छ,' उनले भने, 'पर्यटन मन्त्रालयले पनि वेबसाइटमा चरा पर्यटनलाई स्पेसल प्रडक्टका रूपमा राखेको छ।'


