‘लाइब्रेरी अफ कांग्रेस’ र ‘न्यूयोर्क पब्लिक लाइब्रेरी’ टेकेको दिन म भित्रको हृदय सगरमाथाको चुचुरोमा पुगेको आरोहीभन्दा अझ रोमाञ्चित थियो। त्यो क्षण शब्दभन्दा परको अनुभव थियो। मानौँ, हजारौँ वर्षको तिर्खा एकै पटक मेटिएको होस्।
अमेरिका टेक्न पुग्ने विरलै नेपाली हुन्छन्, जो त्यो ज्ञानको महासागरमा पौडन पुगेका हुन्। गौरवका साथ भन्छु– म त्यही तिर्खा मेटाउन त्यहाँ पुगेको थिएँ। पुस्तकालयको त्यो चारधाममा पुग्ने धमिलो परिकल्पना स्कुले वयमै रोपिएको थियो।
हाजिरीजवाफमा शिक्षकले सोध्ने प्रश्न– ‘संसारको सबैभन्दा ठुलो पुस्तकालयको नाम के हो?’
म तत्कालै रटेको जवाफ दिन्थेँ– ‘लाइब्रेरी अफ कांग्रेस, अमेरिका।’
शिक्षकले ‘सही’ भन्नासाथ म आफूलाई संसार जित्ने विजेता ठान्थेँ।
त्यो बाल्यकालमा काठमाडौँ नै कल्पनाभन्दा टाढा थियो। स्याङ्जा त्यसमाथि पनि विर्घा गाउँको दूरीबाट। अनि काठमाडौँभन्दा परको अमेरिका त तारा छुन जत्तिकै असम्भव लाग्थ्यो। तर संयोग के भयो भने, हाम्रो गाउँमा आएका अमेरिकी स्वयंसेवी टोनीले बालमस्तिष्कमा एक प्रकारको चमत्कारी चेतना र प्रज्ञा भरेर गए। अमेरिका त्यति बेला हाम्रो लागि सम्पत्ति वा शक्ति होइन, टोनीको जन्मभूमिको आकर्षणका कारण प्रिय बनेको थियो।
पुर्खाले नासोका रूपमा छोडिदिएको मातृभूमि पुस्तकालयसँगको आबद्धता मेरा निम्ति देवतासँग पुजारीको सम्बन्ध जस्तै छ। जस्तोसुकै अभाव, दबाब र प्रभावको अवस्थामा बा पुस्ताले पुस्तकालय बचाउन गरेको समर्पण मेरो बालमस्तिष्कमा अमिटसँग गढेको थियो। त्यो पुस्ताले पारिवारिक दायित्वलाई दोस्रो प्राथमिकतामा राखेर पुस्तकालयलाई गाउँको रातीगेडी बनायो। उहाँहरूको जप, तप भनेकै पुस्तकालय थियो।
त्यो परम्पराको सुगन्ध मनभित्रै गडिएकोले जब म अमेरिकाको ती विराट पुस्तकालयभित्र पाइला टेक्दै थिएँ, मलाई लाग्यो कि म केवल पुस्तकालयमा हैन, आफ्नै पुर्खाको चेतनामा, आफ्नै बाल्यकालको सपनामा र आफ्नै अस्तित्वको यात्रामा पुनः फर्किएको हुँ।
सम्भवतः यही ‘प्रसाद’ को आशीर्वाद हो जसका कारण मेरो पुस्ता सभ्य समाजमा उभिएर बोल्न, हिँड्न, चल्न र आत्मगौरवसाथ बाँच्न सक्ने भयो। त्यसैले लाज मान्नु पर्दैन— मेरा पितृहरूले नासोका रूपमा छाडिदिएको हाम्रो गाउँको ‘मातृभूमि पुस्तकालय’ नै मेरो जीवनको आधार, मेरो आत्मबल हो।
यही पुस्तकालयको प्रतापले आज म सामुदायिक पुस्तकालय अभियानसँग बाँधिएको छु र यही प्रेरणाले विश्वभरका पुस्तकालयको अभ्यास अवलोकन गर्न समृद्ध मुलुकको ढोका टेक्न पुगेको छु। अझ आफ्नै अग्रजहरूले रोपेको बीउमा अझै माली भएर सिँचाइ गर्न पाउनु, मेरो लागि गौरवभन्दा ठुलो सौभाग्य हो।
गत वर्ष १७ औँ पुस्तकालय दिवस मैझारो हुँदा नहुँदै अमेरिका भ्रमण तय भयो। यो मेरो दोस्रो अमेरिका यात्रा थियो। पहिलो पटकको डेढ महिनाको बसाइमा मैले धेरै सहर डुल्दै अनगिन्ती चिनजानका मानिस भेटिसकेको थिएँ। तर यस पटकको अर्जुनदृष्टि एकै बिन्दुमा स्थिर थियो। विश्वविख्यात अमेरिकी पुस्तकालयहरूलाई नजिकैबाट देख्ने, बुझ्ने र महसुस गर्ने।
मलाई दुई ऐतिहासिक विश्वविख्यात पुस्तकालय— न्यूयोर्क पब्लिक लाइब्रेरी र लाइब्रेरी अफ कांग्रेस भ्रमण गर्ने मात्र होइन, पुस्तकालय सम्बन्धी राष्ट्र संघको महत्त्वपूर्ण सम्मेलनमा नेपालको प्रतिनिधि र अतिथि वक्ता बन्ने सुयोग प्राप्त भयो। अवसरलाई पर्यटकको दृष्टिले नभई एउटा उत्सुक विद्यार्थीको रूपमा पुस्तकालयको शक्ति, प्रभाव र मानव सभ्यतामा यसको योगदानबारे गहिरो आत्मचिन्तन गर्ने मौकाको रूपमा ग्रहण गरेँ।
जता नजर लगाएँ, त्यतै उदेक लाग्दा दृश्य थिए। विशाल पुस्तकालयभरि हजारौँ मान्छे अटाएका थिए तर आवाज थिएन। थियो त केवल मौन अनुशासन। त्यहाँ किताब मात्र नभएर नैतिकता, अनुशासन, कर्तव्यबोध, आत्मगौरव, आत्मविश्वास सबै सबै थियो। प्लेग्रुपका नानीदेखि वैज्ञानिक, अनुसन्धानकर्ता, टिनएज, जेन-जी र अल्फा सबै एउटै समय रेखामा भेटिएका ‘जीवित महाकाव्य’ थियो।
अमेरिकी संसद् भवनको छेउमै उभिएको त्यो विराट ज्ञानमन्दिर, जेफरसन भवनमा जब म बिहान १० बजेतिर पुगेँ, मानिसको भीड बाक्लिँदै थियो। भवन नजिकिँदै गर्दा मलाई लाग्यो— म त इतिहासको सजीव संग्रहालयमा पाइला टेक्दै छु।
सेतो संगमरमरको भव्य सिँढी, मानव उपलब्धिको प्रतिमूर्तिहरू, सुनौलो पातको चमकले झल्किएको गुम्बज र भित्ताभरि सजिएका चित्रकलामा अंकित सभ्यताको कथा– यी सबै आँखै अघिल्तिर चमत्कारझैँ देखिन्थे। प्रत्येक स्तम्भ, प्रत्येक आकृति, प्रत्येक रङिन भित्ताचित्र मानौँ मौन स्वरमा भनिरहेका थिए– ‘ज्ञान नै शक्ति हो।’
तर मेरो अन्तरमनले त्यसलाई अझ गहिरो अर्थमा अनुवाद गर्यो– ‘ज्ञान शक्ति मात्र होइन, सौन्दर्य पनि हो।’
त्यो क्षणमा म महसुस गर्दै थिएँ— मानव सभ्यताको सम्पूर्ण यात्रा र भविष्यको सम्भावना यही ज्ञानमन्दिरका भित्ताभित्र श्वास फेर्दै छ।
यो पुस्तकालयमा १७ करोड बढी पुस्तक, दस्ताबेज, नक्सा, पाण्डुलिपि र ध्वनि–दृश्य सामग्री सुरक्षित छन्। पुराना अमेरिकी कानुनी अभिलेखदेखि नेपोलियन बोनापार्टका निजी पत्रसम्म, सेक्सपियरका दुर्लभ कृतिदेखि विश्वका हरेक कुनाबाट संकलित ज्ञानका धारा अविरल बगिरहेका छन्। यहाँ पाइला टेक्ने बित्तिकै लाग्छ— मानौँ समस्त मानव सभ्यता यही एक विशाल ‘ज्ञानसमुद्र’मा विलीन छ।
तर सबैभन्दा भावुक क्षण थियो— विश्वभरका अनुसन्धानकर्ताले ‘ज्ञानको पवित्र स्थान’ भनेर सम्मान गर्ने ‘मेन रिडिङ रुम’ भित्र बस्ने अवसर। गोलाकार हलको बिचमा म बसिरहँदा वरिपरि उठेका पुस्तकका अग्ला आलमारी, काँचलाई छिद्र बनाएर निस्किएको मन्द सुनौलो प्रकाश र गहिरो मौनतामा तल्लीन पाठकहरूको अनुहार– यी सबैले आत्मामा पवित्र साधनाको अनुभूति जगाइरहेका थिए।
त्यहाँ मौनता यति गहिरो थियो, लाग्थ्यो समय नै बिस्तारै बगिरहेको छ। वरिपरि शिर झुकाएर अध्ययनमा तल्लीन विद्वानहरू, माथिबाट छर्ने सुनौलो किरण र पुरानो कागज–स्याहीको सुवास— यी सबैले तपाईंलाई शताब्दीऔँ पुरानो बौद्धिक यात्रामा सहभागी गराइदिन्छन्।
यो दृश्यमा डुबेर मैले आफैँलाई प्रश्न गरेँ– ‘के हाम्रो परिवेशमा यस्तै शैलीमा पुस्तकालय व्यवस्थापन सम्भव छ?’
त्यो प्रश्नसँगै मेरो मनले केशर पुस्तकालय, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय र राणा शासनमै जनचेतनाले खोलिएका देशभरका ऐतिहासिक पुस्तकालय सम्झ्यो। मनले भन्यो—सम्भव छ, पक्कै सम्भव छ। यदि हामीले सामाजिक सञ्जालको बाढीबाट थाकेका आँखालाई पुस्तकालयतिर विश्राम दिन सिकायौँ भने त्यसले दिएको प्रतिफल पुस्तौँ पुस्तासम्म दिगो हुनेछ।
छ घण्टासम्म म निर्निमेष विभिन्न कक्षमा डुलिरहेँ। प्रत्येक पाइला, प्रत्येक दृश्यले नयाँ ऊर्जा प्रवाहित गर्दैथ्यो। पुस्तौँको स्पर्शले उज्यालो बनेका पित्तलका रेलिङ समाउँदा र विशाल गुम्बजमुनि उभिँदा लाग्थ्यो— यो केवल एउटा भवन हैन, जीवनदायी अनुभव हो। बाहिर निस्कँदा अन्तस्करणले भन्यो– ‘पुस्तकालय भनेको केवल किताब राख्ने कोठा होइन, यो सभ्यताको संरक्षक हो, विचारको जागरणस्थल हो र उज्ज्वल भविष्यको आधारशिला हो।’
त्यसपछि मेरो अर्को गन्तव्य बन्यो— न्यूयोर्क पब्लिक लाइब्रेरी।
न्यूयोर्कको मुटुमा उभिएको, सहरकै आत्मा मानिने यो पुस्तकालयको प्रवेशद्वारमा उभिएका सिंहका दुई विशाल मूर्तिहरूले धैर्य र साहसको सन्देश प्रवाहित गरिरहेका थिए। सम्भवतः असली ज्ञानले दिने सन्देशकै मर्म सिंहले बोकेका थिए।
भित्र प्रवेश गर्दा ‘रोज मेन रिडिङ रुम’ को सौन्दर्य देखेर म अचम्मित भएँ। उच्च छतमा बनेका आकर्षक चित्रकलाहरू, लामो काठका टेबलमा अनुशासनपूर्वक अध्ययनरत पाठकहरू र खुला पहुँच प्रणालीले यो ठाउँलाई ज्ञान प्रेमीहरूको लागि ज्ञानगंगा बनाएका थिए। अझ रमाइलो त के भने यो पुस्तकालय केवल किताबको भण्डार हैन, सांस्कृतिक र सामुदायिक कार्यक्रमले यसलाई समुदायको वास्तविक केन्द्र बनाइदिएको छ।
मेरो यात्राको स्पष्ट उद्देश्य सुरु देखिनै थियो— विश्वविख्यात पुस्तकालयहरूको भ्रमण र यस क्षेत्रमा जीवन अर्पण गरेका व्यक्तिहरूसँग भेटघाट। त्यसकै क्रममा अमेरिकन लाइब्रेरी एसोसिएसन (एलए) आबद्ध साथीहरूसँग भेट्ने तालिका मिलाइसकेको थिएँ।
त्यसैबिच मेरो भेट भयो अन्तर्राष्ट्रिय पुस्तकालय अभियन्ता लोइडियासँग। पहिलो भेटमै मैले उनलाई सोधेँ– ‘तपाईं किन यो क्षेत्रमा लाग्नुभयो?’
उनको जवाफ सुनेर म अचम्मित भएँ। उनी आफ्नी आमाको सपना पूरा गर्न यो बाटोमा लागेकी थिइन्। म भने मेरो बाको। त्यस क्षणमा, हाम्रो पेसागत भेट एक भावनात्मक सम्बन्धमा अनुवाद भयो।
उनले नेपालको पुस्तकालयको अवस्था, विशेषतः सामुदायिक र सार्वजनिक पुस्तकालयबारे गहिरो चासो देखाइन्। विस्तृत विवरण सुनेपछि उनले मलाई प्रस्ताव गरिन्– संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभाको क्रममा अमेरिकन लाइब्रेरी एसोसिएसनले आयोजना गर्ने प्यानल डिस्कसनमा अतिथि वक्ता बन्ने।
यो अवसरले मेरो जीवनमा एउटा विशेष अध्याय थप्यो। म आयरल्यान्डका स्थायी नियोगका प्रतिनिधि कार्ल रेडमण्डसँगै अतिथि वक्तामा थिएँ। छलफलमा विश्वका पुस्तकालयहरूले प्रविधिको प्रभावकारिताका लागि संयुक्त राष्ट्र सङ्घको अभियानमा कसरी योगदान दिन सक्छन् भन्ने विषयमा गहिरो विमर्श भयो।
तर त्यो मञ्चमा उभिँदा सात समुद्रपारको विशाल हलभित्र मेरो मन भने आफ्नै घर फर्किएको थियो। मैले सम्झेँ स्वर्गवासी बा, जसको अनुशासन र आशीर्वाद मेरो जीवनको मेरुदण्ड बनेको छ। सम्झेँ टोनीलाई, जसको साथ र प्रेरणाले मलाई यहाँसम्म ल्यायो। सम्झेँ मातृभूमि पुस्तकालयलाई, जसको अन्तस्करणको ऊर्जाले मलाई कहिल्यै हार्न दिँदैन। आज त्यो खुसीको समाचार सुनाउन न बा हुनुन्थ्यो, न त उनकै आँगनीमा टेक्दा टोनी नै थिइन्।
अन्ततः म आफैँले आफैँलाई सम्झाएँ। बा र टोनीको पदचापको पाठ यही न त थियो; आखिर ‘तिमी पृथ्वीको जुनसुकै भूगोलमा पुग तर कर्म यस्तो गर, जुन कर्म मानिसको अन्तस्करणमा बसोस्। चेतना, प्रज्ञा र सिर्जनाको आयतन फैलियोस्।’
-1756632157.jpg)