काठमाडौँमा सरकारी काम सकेर नेपालगन्ज हुँदै जुम्ला आउनको लागि नेपाल एयरलाइन्सको टिकट लिएको थिएँ, सरकारी जहाज र सस्तो भाडा भएकोले। काठमाडौँ-रुकुम-नेपालगन्जको फ्लाइट सेड्युल थियो त्यो दिनको।
हुन त अरू प्राइभेट एयरलाइन्स पनि थिए तर हवाई टिकट दर सस्तो भएकोले नेपाल एयरलाइन्सकै टिकट लिएको थिएँ। तर रुकुममा भारी वर्षा भएकोले हाम्रो फ्लाइट रद्द भयो। फेरि सुन्धाराका होटेलमा गएर बस्नु भन्दा रात्रि बसको यात्राबाट नेपालगन्ज जाने निधो गरेँ र त्रिभुवन विमानस्थल एयरपोर्टबाट सिधै गँगु नयाँ बसपार्क पुगेँ।
जब बसपार्क पुगेँ, आफ्नो बसमा यात्रा गराउन बस सञ्चालकहरू तल्लीन देखिन्थेँ। आफ्नो बसमा यात्रा गरेमा केही कमिसन पनि दिने आदि कुराको लोभ देखाउँथेँ। तर म यथाशक्य चाँडो जुन बस जान्छ त्यसकै टिकट लिने तरखरमा लागेँ र साँझ ५ बजेको रात्रिकालीन यात्राको लागि काठमाडौँदेखि नेपालगन्जसम्मको काउन्टरमा गएर टिकट काटेँ।
बस हिँड्न बाँकी करिब आधा घण्टा समय काट्न धौधौ पर्यो। यही बाँकी समय बिताउने क्रममा पछाडिबाट एउटा आवाज आयो- ‘सर! सर!’
मैले आवाज आएको तिर हेरेँ। त्यहाँ मंगोलियन अनुहारको एउटा अधबैँसे युवकले साथमा एउटी केटी लिएर उभिएका थिए। मैले किन भनेँ।
‘सर एकछिन उता जाऔँ,’ उसले भन्यो।
म एकछिन अलमलमा परेँ। अपरिचित व्यक्तिले एकान्त जाऔँ भन्दै गर्दा मलाई कता कता डर लागेर आयो। उसले फेरि दोहोर्याएर भन्यो ‘सर प्लिज।’
त्यसपछि उसले भनेको ठाउँतिर लागेँ।
उसले भन्यो, ‘सर! मेरो घर कर्णाली अञ्चल हुम्ला जिल्ला लिमी गाविस अन्तर्गत लिमी गाउँमा पर्छ।’
लिमी हाल नाम्का गाउँपालिका अन्तर्गत पर्छ। त्यसैले उसले नाम्का गाउँपालिका नभनेर लिमी गाविस नै भन्यो।
‘लिमी हुम्ला जिल्लाभित्र परे पनि पूरा सम्पर्क र कारोबार चीनको तिब्बत क्षेत्रसँग बढी हुन्छ। म भने अलिअलि नेपाली बोल्छु तर लेख्न जान्दिनँ। हाल काठमाडौँमा बस्छु,’ ऊ लगातार एकोहोरो बयान दिए जस्तै बोलिरहेको थियो। म भने अक्क न बक्क परिरहेको थिएँ।
उसले भन्न खोजेको कुरा के हो? स्पष्ट हुन सकेको थिइनँ।
उसले अन्तमा भन्यो, ‘यो मेरी बहिनी हो। काठमाडौँ आएको ३ महिना भयो। नेपाली लेख्न त के बोल्न पनि जान्दिन। यसलाई हुम्ला सिमिकोटसम्म जान नेपालगन्जदेखि हुम्लाको प्लेन टिकटको पनि व्यवस्था गरिसकेको छु। सिमिकोटबाट हिँडेर ४/५ दिन लगाएर कोही साथीसँग लिमी पुगिहाल्छे। तर नेपालगन्जसम्म पुर्याउन विश्वासिलो मानिसको खोजीमा थिएँ। सर, तपाईंसँग परिचय त छैन तैपनि तपाईंको व्यवहारबाट जिम्मा लगाउने मन लाग्यो। यो नेपालगन्जसम्म गएकी पनि छैन, आएकी पनि छैन, कसैसँग परिचय पनि छैन। त्यसैले सरको सिट नम्बरसँग जोडिएको टिकट नम्बर ७ नै काटेको छु।’
टाइट जिन्सको पाइन्ट, थाइकट कपाल, कालो ज्याकेट, राता गाला, पुष्ट शरीर, २०/२२ वर्षे ऊ भने मतिर हेरेर लजालु र मायालु मुस्कान दिइरहेकी थिई। मैले भित्र-भित्र सोचेँ, के झन्झट आइलाग्यो यो अनावश्यक टेन्सन!
यति बेलासम्म हाम्रो बस हिँड्ने बेला भइसकेको थियो। अन्तमा मैले आफ्नो परिचय दिएँ। मेरो घर जुम्ला हो। हुम्ला जुम्ला छिमेकी जिल्ला हुन्। यति भन्ने बित्तिकै ऊ बहुतै खुसी भयो र आफ्नो बहिनीसँग खाम (कुराकानी) गर्न लाग्यो। त्यो मैले बुझिनँ। सायद चाइनिज भाषा होला। एकैछिनपछि हाम्रो गाडी हिँड्यो। उसले मलाई बिदाइको अभिवादन गर्यो। मैले पनि गरेँ। ऊ परसम्म पनि अभिवादन गर्दै थियो।
जब गाडी हिँड्न सुरु गर्यो, गाडी चालकले यात्रुको मनोरञ्जनको लागि भिडिओ डेक सुरु गरे। भिडिओबाट चर्चित कलाकारका स्वर र अभिनय आइरहेको थियो। हामी सबै यात्रुहरू उक्त भिडिओमा आकर्षित थियौँ भने त्यो मसँगै बसेकी बहिनी आफ्नो सुरिलो स्वरसँगै आफ्नै भाषाको आफ्नै गीत गुनगुनाउन थाली। अरू यात्रु हामीतिर हेर्न सुरु गरे।
हाम्रो गाडी पश्चिमतर्फ स्वयम्भू नजिक अझ भनौँ स्वयम्भूको मूर्ति नजिक आएको थियो। उसले एक्कासि मेरा दुवै हात समाती र मेरा दुवै हात जोड्न लगाई। म भने लाजले भुतुक्कै भएँ। अपरिचित केटीले कुनै कुराकानी भएको छैन, चिनजान भएको छैन, यसरी दुवै हात आफै समातेर जोड्न लगाउँछे, मलाई बहुत असजिलो महसुस भयो।
मैले भित्रभित्रै सोचेँ, यहीँ अरू यात्रीलाई के थाहा? यसको र मेरो परिचय छैन भनेर। त्यसपछि मैले मेरा दुवै हात राम्रोसँग जोडेँ। बाहिर हेरेँ त बुद्धको मूर्ति भएको स्थान आएको रहेछ। उसले भनेको अर्थ पनि शान्तिका प्रतीक बुद्धको मूर्तिलाई प्रार्थना गर भनेकी रहिछ। मैले पछि थाहा पाएर प्रार्थना गरेँ र हाम्रो यात्रा सफल रहोस् भन्ने कामना गरेँ। ऊ भने लगातार हात जोडी आफ्नै भाषामा प्रार्थना गरिरहेकी थिई।
हाम्रो गाडी थानकोट आइसक्यो, तैपनि उसले दुवै हात जोडी प्रार्थना गरिरहेकी थिई। सबै यात्रुहरू हामी तिर हेर्दै थिए। मैले भने मनमनै सोचेँ, बेकारमा यो बसको टिकट काटेछु। अघि वा पछिको बसको टिकट काटे पनि त हुन्थ्यो अथवा भोलि आए पनि त हुन्थ्यो। तर भोलि फागुन शुक्ल पूर्णिमा होली परेको थियो। आजको भोलि, भोलिको होली र होलीका रङका गोली खानुभन्दा आजै हिँड्ने निर्क्योल गरेको थिएँ।
उसलाई चुप लाग भन्न त सकिन्थ्यो तर मेरो नेपाली भाषा ऊ बुझ्दिन। ऊ हुम्ला लिमीकी नेपाली हो, म जुम्लाको नेपाली हुँ। तर नेपाली भएर के गर्ने? नेपाली भाषा बुझ्दैन भने। यदि नेपालको संघीय संरचनामा भाषाको आधारमा प्रदेश कायम भएको भए कति विविधता र कठिनता उत्पन्न हुन्थ्यो होला, मनमनै यहीँ कुराहरू खेलाइरहेको थिएँ।
जब हाम्रो गाडी थानकोट काटी नागडाँडा ओरालोको घुम्तीमा तीव्र गतिमा हुइँकिरहेको थियो, सूर्यको किरण क्षितिज पारि गइसकेको थियो। करिब करिब अँध्यारोको आगमन भइसकेको थियो। अगाडि गाडीको डेकबाट अन्जु पन्तको प्रख्यात गीत ‘तिर्खा लाग्यो पानी पिएँ मैले के बिराए’ म्युजिक भिडिओमा सबै यात्रुहरू रमाएका हुँदा हुन् तर मैले भने उसले गुनगुनाएको स्वर र त्यो भिडिओ डेकको गीतको दुवै तरङ्ग सुनिरहेको थिएँ।
ऊ मलाई इसारा गर्थी, त्यो भिडिओ डेक बन्द गर्न लगाऊ भनेर। उसलाई त्यो गीत पटक्कै मन परेको थिएन किनभने उसले त्यो गीतको अर्थ र भाव बुझेकी थिइन।
केही समयपछि हामी मुग्लिन आइपुग्यौँ। गाडी एकनासले पश्चिमतर्फ हुइँकिरहेको छ। भित्र भिडिओ डेकको उज्यालो आइरहेको छ। अलि चिसो भएछ क्यार उसले आफ्नो झोलाबाट ज्याकेट निकाली र मलाई समात्न लगाई। मैले नाइँ भन्न सकिनँ।
यसैमा हामी चितवनको रामनगर आइपुग्यौँ। रातिको १० बजे खाना खाने समय भएकोले सबै जना गाडीबाट ओर्लिए तर ऊ ओर्लिइन। मैले उसको हात समातेँ। उसले मेरो कुरा बुझिछ क्यार तल ओर्ली तर खाना खाइन। आफ्नै खाना निकाली र त्यही खाई। मलाई पनि सँगै खाऊँ भन्थी तर मैले मानिनँ।
हामी नारायणी नदी पुल काटी गैँडाकोट आयौँ। सबै यात्रुहरू निदाउने तरखरमा थिए। चिसो भएछ क्यार आफ्नो झोलाबाट कम्मल निकाली। सुरुमा मलाई ओढाइ अनि त्यही कम्मल आफूले ओढी। मैले कम्मल ओढ्न इन्कार गरेँ तर उसले मानिन। रातभरि ऊ मेरो आडमा सुती। उसलाई आराम र सुरक्षित साथ नेपालगन्ज पुर्याउने मेरो नैतिक कर्तव्य थियो। म उसको मुख्य अभिभावकको भूमिकामा थिएँ।
मेरो यो व्यवहार उसलाई कस्तो लाग्यो, त्यो उसैले जानोस्। मलाई भने पटक्कै निद्रा लागेन।
हामी बिहान करिब ५ बजे सकुशल नेपालगन्जको राँझा चोकमा आइपुग्यौँ। यही चोकमा उसलाई छोड्नु पर्ने मेरो प्रमुख जिम्मेवारी र नैतिक कर्तव्य थियो तर ऊ भने मस्त निद्रामा मेरो काखमा सुतेकी थिई। बिहानीको किरण छाइसकेको थियो। चराहरू चिरबिराइरहेका थिए। फाट्टफुट्ट रिक्साहरू चलेको देखियो।
यसै क्रममा बसलाई रोक्न लगाएँ। मेरो भाषा उसलाई आउँदैन, उसको भाषा मलाई आउँदैन। मैले नेपालगन्ज मात्र भनेँ। उसले बुझिछ। तर त्यहाँ झर्न पटक्कै मन गरिन। मसँगै जाने संकेत गरिरहेकी थिई। मेरो हात समातिरहेकी थिई तर मेरो गन्तव्य नेपालगन्ज थियो भने उसको नेपालगन्ज राँझा एयरपोर्ट थियो।
मैले उसको हात समातेँ झर भनेर। उसले मेरो हात समाती र पटक्कै छोडिनँ, तैपनि उसलाई झर्न बाध्य तुल्याएँ। मैले जिम्मेवारी लिएको राँझा चोकसम्म मात्र हो, उसलाई सङ्केत गरेँ। उसका सामान झार्न लगाएँ। एउटा रिक्साको सहारामा एयरपोर्ट गेटसम्म पुर्याउन लगाएँ। भाडा मैले नै दिएँ। उसको हिजो काठमाडौँ बसपार्कमा भेट भएको दाइलाई जानकारी दिएँ। उसलाई बिदाइ गरेँ। ऊ परसम्म अँध्यारोमा हात हल्लाउँदै थिई। म भने आफ्नो बसमा चढेर नेपालगन्ज हुइँकिएँ।
यो क्षण मलाई मेरी बहिनीलाई विवाह गरी आफ्नो माइती घरबाट पराई अथवा पोहिली घरमा बिदाइ गरे जस्तै लाग्यो। कता कता खल्लो महसुस भयो।
ऊ त्यो दिनमा अथवा भोलिपल्ट हुम्ला जान सकी या सकिन? लिमी पुग्न सकी सकिन? कतै केही अप्ठ्यारोमा परी कि? अहिलेसम्म मेरो मानसपटलमा त्यो दृश्य खेलिरहेको छ। मैले न त उसलाई मेरो सम्पर्क नम्बर दिएँ न उसको सम्पर्क नम्बर र नाम लिएँ। अहिलेसम्म पछुतोमा छु।
यो यात्रा केही वर्ष अघिको हो। जिन्दगीमा धेरै पटक रात्रि बसमा यात्रा गरियो तर यो यात्रा भित्रको यात्रा अविस्मरणीय रह्यो।