नेपाल राष्ट्र बैंकले हालै लक्ष्मी सनराइज बैंकको विशुद्ध डिजिटल बैंकिङ सेवा ओरेन्ज–नेक्स्टमा रोक लगाउने निर्णय गर्यो। यसले नेपालका वित्तीय र प्रविधि क्षेत्रमा चिन्ता तथा आत्मचिन्तनको लहर ल्याएको छ।
यो प्लेटफर्मको प्राविधिक मेरूदण्ड निर्माण गर्ने फोन–नेक्स्ट कम्पनीका संस्थापकहरूमध्ये म पनि एक हुँ। त्यसैले यो प्लेटफर्मको विकाससँग जोडिएको 'भिजन' र यसमा लागेको मेहनत तथा स्रोतसाधनहरूबारे मैले राम्रोसँग बुझेको छु।
केन्द्रीय बैंकको यो कदम निकै निराशाजनक छ, तर यसले वित्तीय नवप्रवर्तनको स्वरूप र हाम्रो देशको विकासमा नियमनको भूमिकाबारे सोच्ने एउटा महत्त्वपूर्ण अवसर पनि प्रदान गरेको छ। मेरो मनसाय आलोचना गर्नु होइन, बरू भविष्यका लागि सन्तुलित संवादलाई प्रोत्साहन दिने दृष्टिकोण प्रस्तुत गर्नु हो।
मूलतः बैंक अनुमतिपत्र प्राप्त व्यावसायिक संस्था मात्र होइन। यो सबैका लागि वित्तीय स्वतन्त्रता र समृद्धि प्रवर्द्धन गर्न बनाइएको राष्ट्रिय पूर्वाधारको एक महत्वपूर्ण अंश हो।
वित्तीय प्रणालीको सफलता त्यसको समावेशी क्षमतामा नापिन्छ। त्यो हरेक नागरिकसम्म पुग्नुपर्छ, चाहे ऊ जुनसुकै जात, संस्कृति, भूगोल वा उमेरको होस्।
नेपालजस्तो विशाल र चुनौतीपूर्ण भू–बनोट भएको देशमा यो लक्ष्य प्राप्त गर्न प्रविधि हाम्रो सबभन्दा शक्तिशाली सहयोगी हो। प्रविधि नै सहर, दुर्गम गाउँ र विश्वभर छरिएका नेपाली प्रवासीहरूलाई जोड्ने साँघु हो। यसले सबैलाई औपचारिक अर्थतन्त्रमा सहभागी हुने समान अवसर सुनिश्चित गर्छ।
त्यसैले बैंकहरूलाई नवप्रवर्तक 'फिनटेक' कम्पनीहरूसँग सहकार्य गर्न सशक्त बनाउनु र त्यसका लागि सहजीकरण गर्नु हाम्रो सामूहिक हितमा छ।
ओरेन्ज–नेक्स्ट हाम्रो जनसंख्याको दुई प्रमुख समूहलाई सेवा दिने लक्ष्यका साथ बनाइएको थियो।
पहिलो समूह हो युवा पुस्ता — अर्थात् जेन–जी र जेन–अल्फा, जो हाम्रो राष्ट्रका भविष्य हुन्।
उनीहरूको संसार नै 'डिजिटल' छ। इन्स्टाग्राम र टिकटक जस्ता प्लेटफर्महरूबाट बनेको यो संसार प्रयोगकर्ता–केन्द्रित छ र यहाँ हरेक कुरा तुरून्तै हुन्छ।
अनगिन्ती फारम भर्नुपर्ने र घन्टौं लाममा बस्नुपर्ने परम्परागत बैंकिङ प्रणालीबारे उनीहरूलाई बुझाउन खोज्नु व्यर्थ छ। उनीहरू आफ्नो वित्तीय अनुभव पनि आफूले हरेक दिन चलाउने एप जस्तै सजिलो, रूचिकर र व्यक्तिगत होस् भन्ने चाहन्छन्।
वित्तीय रूपमा सचेत नागरिकको पुस्ता विकास गर्ने हाम्रो उद्देश्य थियो। त्यसै अनुरूप हामीले खेल खेलेजस्तो रमाइलो तरिकाले उनीहरूलाई वित्तीय शिक्षा दिने प्लेटफर्म तयार पारेका थियौं।
दोस्रो समूह हो, नेपाली प्रवासी श्रमिकहरू।
मध्यपूर्वबाट महत्त्वपूर्ण रेमिटेन्स पठाउने यो समूह हाम्रो राष्ट्रिय अर्थतन्त्रको एउटा आधारशिला हो। उनीहरूका लागि बचत भएको प्रत्येक रूपैयाँ घर फर्केर राम्रो जीवन निर्माण गर्न चालिएको एक पाइला हो।
तर परम्परागत बैंकिङ प्रणालीले उनीहरूलाई प्रायः विदेशबाटै व्यवस्थापन गर्न मिल्ने लचिला र उच्च प्रतिफल दिने बचत योजनाहरू उपलब्ध गराउन सक्दैन। उनीहरूलाई निरन्तर थोरै थोरै पैसा बचत गर्न र त्यो रकम बढाउन मद्दत गर्ने साधनका रूपमा ओरेन्ज–नेक्स्ट तयार गरिएको थियो। यसले उनीहरूलाई घर फर्किँदा सानो व्यवसाय सुरू गर्ने आधार निर्माण गर्न सक्षम बनाउने थियो।
ओरेन्ज–नेक्स्टको उद्देश्य त्यही थियो। त्यस कारण हामीले विविधतापूर्ण जनसंख्याले भोगिरहेको विभिन्न किसिमका चुनौती सम्बोधन गर्ने सजिलो र रूचिकर बैंकिङ प्लेटफर्म विकास गर्यौं। यसमा भएको 'सेभ एज यू पे' फिचरले हरेक पटक कारोबार गर्दा सानो रकम आफै बचतका लागि छुट्ट्याउँथ्यो।
त्यसैगरी खर्चको हिसाब राख्न मिल्ने, बजेट योजना बनाउन मिल्ने र व्यक्तिगत सूचनाहरू पाउने जस्ता सुविधा पनि यसमा थिए। यसले युवा प्रयोगकर्ताहरूको बैंकिङ अनुभव सहज र रमाइलो बनायो। नेपालको कुनै दुर्गम गाउँ होस् वा मध्यपूर्वको कुनै निर्माणस्थल, पूर्ण डिजिटल 'अनबोर्डिङ' र 'भिडिओ–केवाइसी' (अनलाइनबाटै सबै काम हुने) ले कुनै पनि ठाउँबाट खाता खोल्न प्रोत्साहित गर्यो।
तर नेपाल राष्ट्र बैंकले यस्ता उत्पादनहरूका लागि प्रस्ट कानुनी र नियामक रूपरेखा नभएको कारण देखाउँदै रोक लगाउने निर्णय गर्यो। यसले हामीलाई विकासशील अर्थतन्त्रको एउटा आधारभूत पक्षको सामना गर्न बाध्य पारेको छ।
नवप्रवर्तन स्वभावतः नियमनभन्दा अगाडि आउने विकास क्रमको एउटा प्रक्रिया हो। समस्या समाधान गर्ने क्षमताको बलमा प्रविधि अत्यन्त तीव्र गतिमा अघि बढ्छ।
अर्कातिर, नियमन सोच–विचारपूर्ण र समय लाग्ने प्रक्रिया हो। निष्पक्षता, स्थिरता र उपभोक्ता सुरक्षा सुनिश्चित गर्नु यसको उद्देश्य हो।
जब कुनै नवप्रवर्तनले आफ्नो मूल्य प्रमाणित गर्छ र बजारमा व्यापक प्रयोगमा आउँछ, त्यसपछि नियमहरूलाई औपचारिक रूप दिने भूमिकामा नियमनको पालो आउँछ।
नेपाल राष्ट्र बैंकले यो पहिल्यैदेखि बुझेको छ र यसको पक्षमा रहँदै आएको छ। हाम्रो कम्पनी एफवान–सफ्टले पनि यस यात्रामा सहभागी हुने सौभाग्य भएको छ।
हामीले 'डिजिटल बैंकिङ निर्देशिका' आउनुभन्दा अगाडि मोबाइल बैंकिङ सुरू गरेका थियौं। 'पिएसपी/पिएसओ नियमावली' आउनुभन्दा अघि इ–सेवा ल्यायौं। अनि, अन्तरसञ्चालन योग्य भुक्तानी प्रणालीको विस्तृत रूपरेखा तयार हुनुअघि फोनपे सुरू गर्यौं।
प्रत्येक पटक केन्द्रीय बैंकले पृथक र प्रशंसनीय मनस्थिति देखायो। उसले नवप्रवर्तनलाई फस्टाउन दियो, त्यसले बजारमा पारेको प्रभाव र समाधान गरेका समस्याको अध्ययन गर्यो, अनि उचित समयमा न्यायसंगत र स्थिर बजारका लागि आवश्यक नियम बनायो।
यो सुझबुझपूर्ण र विश्वास गर्ने मनस्थिति नेपालको डिजिटल वित्तीय प्रणालीको विकासमा महत्त्वपूर्ण साबित भएको छ। त्यसका लागि नेपाल राष्ट्र बैंकको प्रशंसा पनि भएको छ।
तर ओरेन्ज–नेक्स्टमा रोक लगाउने निर्णय यो सफल मोडलबाट विचलन भएको भान हुन्छ। यसले नवप्रवर्तन गर्न लागिपरेका हामीजस्ता युवा उद्यमी र व्यवसायहरूलाई मार्गदर्शनभन्दा बढी संकोचको सन्देश दिन्छ।
एकपक्षीय रूपमा रोक लगाउनुको साटो रणनीतिक पुनर्मूल्यांकन गर्नु अझ प्रगतिशील र रचनात्मक मार्ग हुने थियो।
उक्त निर्णय तुरून्तै रोक्दै ओरेन्ज–नेक्स्ट सञ्चालन गर्न दिएर प्रगतिशील नियामक निकायका रूपमा आफ्नो प्रतिष्ठा स्थापित गर्ने नेपाल राष्ट्र बैंकसँग सुनौलो अवसर छ। यसले उक्त प्लेटफर्म अँगालेका ६५ हजार ग्राहकलाई ढुक्क पार्ने मात्र होइन, सहकार्यको नयाँ प्रतिबद्धताको संकेत पनि दिने थियो।
त्यसपछि, नियमन वा पालना सम्बन्धी समस्याहरूको संयुक्त रूपमा पहिचान र सम्बोधन गर्नुपरे राष्ट्र बैंकले लक्ष्मी बैंक र फोन–नेक्स्टसँग प्रगतिशील संवाद सुरू गर्नुपर्छ। ओरेन्ज–नेक्स्टलाई पूर्ण पालनाको दायरामा ल्याउन निश्चित प्रावधानहरूको रूपरेखासहितको सुधारात्मक कार्ययोजना तयार पार्ने लक्ष्य हुनुपर्छ।
त्यसमा उक्त उत्पादनका 'फिचर' परिमार्जन गर्ने, सुरक्षा 'प्रोटोकल' सुदृढ गर्ने, वा राष्ट्र बैंकको मापदण्ड पूरा हुने गरी सञ्चालन विधिलाई औपचारिक रूप दिने जस्ता प्रावधान हुन सक्छन्।
यस्तो कदम चालेमा राष्ट्र बैंकले ओरेन्ज–नेक्स्टको तत्कालीन समस्या समाधान गर्ने मात्र होइन, जिम्मेवार र सहकार्यपूर्ण नवप्रवर्तनको मोडल पनि स्थापित गर्नेछ। प्रगतिमा बाधक बन्ने द्वारपाल होइन, बजार अगाडि बढाउने रचनात्मक प्रवर्तकका रूपमा आफूलाई स्थापित गर्नेछ। हाम्रो राष्ट्रको भविष्य यस प्रकारको अग्रगामी नेतृत्वमा निर्भर छ।
सरकार, नियामक निकाय र निजी क्षेत्र, सबैका लागि यो एउटा निर्णायक क्षण हो। हामी सबै सहकार्यको भावनाका साथ एकजुट हुनुपर्छ। हामी सबै अझै राम्रो र समृद्ध नेपाल निर्माण गर्न प्रयासरत छौं।
यसका लागि विश्वासको आधार आवश्यक छ। सरकार र नियामक निकायहरूले नवप्रवर्तन गर्ने हाम्रो क्षमतामा विश्वास गर्नुपर्छ। साथै, आवश्यक प्रोत्साहन र मार्गदर्शन दिनुपर्छ। हामी उद्यमीहरूले आफ्ना प्रयासहरू वित्तीय समावेशीकरण र आर्थिक समृद्धि जस्ता राष्ट्रिय लक्ष्यसँग मेल खान्छन् भन्ने सुनिश्चित गर्नुपर्छ।
अझ खुला, संवादमुखी र लचिलो भएर हामीले यस्तो वातावरण सिर्जना गर्न सक्छौं जसमा अझै धेरै मानिसहरूले राष्ट्र निर्माणमा योगदान गर्न सकून्। यस्तो राष्ट्र जहाँ सबै जना बस्न, काम गर्न, र प्रगति गर्न चाहन्छन्।
नेपालको भविष्य डिजिटल छ। त्यसका लागि हामी सबै मिलेर एक–एक डिजिटल इँटा थप्दै जिम्मेवारीपूर्वक अगाडिको बाटो निर्माण गर्नुपर्छ।