त्यस वर्ष रासायनिक मलको अभाव थियो। खेतमा धान रोपेको महिनादिन बित्न लागेको थियो तर मल पाइएको थिएन। धानको कलिलो बोट पहेंलो हुन थालेको थियो।
दाङको दंगीशरण गाउँपालिका–३, चितानपुरका दुई दाजुभाइका दुई छोरा २३ वर्षीय दशीराम चौधरी र २० वर्षीय रामप्रसाद चौधरी रासायनिक मल खोजेर ल्याउन तुलसीपुरतिर हिँडे।
उनीहरूलाई अभिभावकहरूले नै पठाएका थिए। छिमेकी भिकु चौधरीको घरबाट एउटा साइकल मागेर दुबै जना तुलसीपुरतिर आउँदै थिए।
त्यो दिन थियो २०५९ असार २९ गते। रामप्रसादका भाइ सीतारामका अनुसार दशीराम र रामप्रसादलाई तुलसीपुर बजार नपुगी बाटैमा नेपाली सेनाका सुरक्षाकर्मीले नियन्त्रणमा लिए।
त्यसयता २३ वर्ष बित्यो, उनीहरू घर फर्केका छैनन्। अवस्था अज्ञात छ। उनीहरू नफर्किंदा र बेपत्ता रहँदा परिवारजन ठूलो पीडामा बाँच्नु परेको सीतारामको भनाइ छ।
‘दाइहरू जिउँदा छन् भनूँ, २३ वर्षदेखि बेपत्ता छन्। मरे भनूँ, हालसम्म लास देख्न पाएको छैन,’ सीताराम भन्छन्, ‘यस्तो अन्यौलमा बुबाआमालाई सम्झाउन धेरै गाह्रो भएको छ, हामी सबैलाई ठूलो पीडा भएको छ।’
घोराही उपमहानगरपालिका–१७, का बासिन्दा श्रीकृष्ण आचार्यका बुबा थानेश्वर बेपत्ता भएको २४ वर्ष भयो। हालसम्म उनको पनि अवस्था अज्ञात छ।
बेपत्ता भएको समयमा थानेश्वर विद्यालय शिक्षक थिए। उनी मुगुको एक विद्यालयमा पढाउँथे। घरबाट मुगुतर्फ जाँदै थिए। उनी विद्यालय पुगेनन्, घर पनि फर्केनन्।
श्रीकृष्णका अनुसार बुबा थानेश्वरलाई तत्कालीन विद्रोही माओवादी वा सरकारी सुरक्षाकर्मी मध्ये कुनै पक्षले बन्धक बनाएर हत्या गरेको शंका छ तर त्यसको प्रमाण छैन।
बुबाको अवस्था थाहा नपाउँदा आफूहरू निराश रहेको र ठूलो पीडाबोध भएको श्रीकृष्णको भनाइ छ।
‘हाम्रा बुबाको अवस्था २४ वर्षदेखि अज्ञात छ। ठूलाबुबा तिमीहरूले गर्दा मैले पैतृक सम्पत्ति पाउन सकिनँ भन्नुहुन्छ,’ श्रीकृष्ण भन्छन्, ‘न हामी बुबा जिउँदो हुनुहुन्छ भन्नेमा ढुक्क छौं, न लास देखेका छौं। जसले बेपत्ता बनाएको भए पनि सत्य थाहा पाए हुन्थ्यो।’
बुबा बेपत्ता भएपछि परिवार ठूलो पीडामा रहेको र घरव्यवहार मिलाउन पनि कठिन भएको उनले बताए।
तुलसीपुर उपमहानगरपालिका–११, उरहरीकी लक्ष्मी चौधरीलाई आफ्ना श्रीमान् खोपिराम चौधरी कतै टाढाबाट आइरहेको जस्ता भान भइरहन्छ। उनी श्रीमानलाई सपनामा पनि देखिरहन्छिन् तर आइपुगेका छैनन्, बिपनामा भेटिएका छैनन्।
कुरा २०५९ वैशाख १ गतेको हो। लक्ष्मीका अनुसार खोपिराम आफ्नै घरमा बाख्रालाई स्याउला हाल्दै थिए। सरकारी सेनाको एउटा टोली घरमै आयो र केही सोधपुछ गर्नु छ भनेर लिएर गयो।
त्यसपछि खोपिराम फर्केछनन्। उनी किन नफर्केका हुन् भन्ने जबाफ लक्ष्मीले आजसम्म पनि पाएकी छैनन्।
उनले भनिन्, ‘उहाँ (खोपिराम) ले अलिक राम्रो लगाउँछु भन्दा पनि दिएनन्। सोधपुछका लागि हो, आइहाल्नुहुन्छ भनेर लगे तर आजसम्म आउनुभएको छैन।’
सात दिन बित्दा पनि श्रीमान् नअएपछि लक्ष्मीको मनमा औडाहा भयो। उनलाई सैनिक अड्डामै गएर सोधपुछ गर्न मन लागेको थियो तर आँट आएन।
उनले केही दिनपछि एक जना नेतालाई सोधखोजका लागि आग्रह गरिन्। ती नेताले खोपिराम सैनिक अड्डामा नरहेको र उनलाई समातेर नलगेको भन्ने खबर ल्याए।
‘मारेको भए तिम्रो खोपिरामलाई मारिसक्यौं, लास यहाँ गाडेका थियौं भनेर भनिदिए पनि ढुक्क त हुन्थ्यो!’ लक्ष्मी भन्छिन्, ‘निर्दोष व्यक्तिलाई घरबाट समातेर लगे। अहिलेसम्म कतैबाट जबाफ पाएको छैन। साह्रै पीडामा बाँच्नु परेको छ।’
अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, दाङले शनिबार तुलसीपुरमा एक कार्यक्रम आयोजना गरेको थियो। सोही कार्यक्रममा सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिका परिवारजनले आफ्नो पीडा सुनाएका हुन्।
पीडितका कुरा सुनेपछि तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले बेपत्ता पारिएकाहरू नफर्के पनि परिवारजनको पीडा कम गर्न उनीहरूले सत्य कुरा थाहा पाउनुपर्ने बताए।
राज्यले द्वन्द्व पीडितका परिवारजनलाई रोजगारी हुने सिपमूलक तालिम दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा अधिकारकर्मी सुशील बस्नेतले ‘सत्य निरूपण तथा मेलमिलाप आयोग’ र ‘बेपत्ता व्यक्ति छानविन आयोगले’ काम नसक्दा द्वन्द्वपीडित परिवारको पीडा कम हुन नसकेको बताए।
द्वन्द्वपीडित संघ, दाङका अध्यक्ष प्रकाश चौधरीका अनुसार सशस्त्र द्वन्द्वका समयमा दाङका १२६ जना बेपत्ता भएका थिए। परिवारजनलाई उनीहरूको यथार्थ अवस्था जान्न पाउने अधिकारबाट वञ्चित गरेर राज्य र तत्कालीन विद्रोही दुबैले खेलवाड गरेको उनको आरोप छ।
‘बेपत्ता भएको भन्ने कुरा छ। उनीहरू आजसम्म फर्केका छैनन्, हामीले लास देख्न पनि पाएका छैनौं,’ उनी भन्छन्, ‘यस्तो अन्यौलले सम्पत्तिमाथिको अधिकार वा हक हस्तान्तरणमा पनि समस्या भएको छ।’
राज्य वा तत्कालीन विद्रोही दुबै पक्षबाट अपहरण, हत्या जे भए पनि त्यसबारे यथार्थ जानकारी पाउने अधिकारबाट परिवाजन वञ्चित हुँदा झन् ठूलो अन्याय भएको उनले बताए।
प्रकाश भन्छन्, ‘सत्य जान्न पाउने अधिकार, पीडितलाई न्याय र परिपूरण लगायतका लागि राज्य थप उदार बन्नुपर्छ। यो विषय अविलम्ब टुंगो लगाउनुपर्छ।’
कार्यक्रम आयोजक संस्था नेपाल रेडक्रस सोसाइटी, दाङका सभापति मदन गौतमले बेपत्ता व्यक्तिका परिवारजनको पीडा कम गर्न र अन्यौल अन्त्य गर्न छिटोभन्दा छिटो सत्यतथ्य सार्वजनिक गरी न्याय निरूपण गर्नुपर्नेमा जोड दिए।