दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले दुई दशकपछि स्वर्ण पदक जित्न सफल भएको छ।
जारी १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत सोमबार भएको खेलमा नेपालका मिनु गुरुङ र भूपेन्द्र थापा मगरले स्वर्ण जितेका हुन्।
महिला ५४ केजीको फाइनलमा मिनु गुरुङले भारतीय बक्सर शिक्षालाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भइन् । उनले भारतीय खेलाडीलाई यूनानोमस डिसिजनको आधारमा हराउदै स्वर्ण चुमेकी हुन्। हारसंँगै भारतीय खेलाडी रजतमा खुम्चिए। काश्य भने श्रीलंकाकी सजीवनी मुथुथान्तथ्री पताबेन्डिगे र बंगलादेशका ओनिता इस्लामले जितिन्।
![तस्बिर: नारायण महर्जन/सेतोपाटी](https://img.setopati.org/uploads/images/157588259479642928_489718491647934_22687.jpg)
त्यस्तै ६४ केजीको फाइनलमा नेपालका भूपेन्द्र थापामगरले पनि सागको पुरुष बक्सिंगमा २० वर्षपछि पहिलो पटक नेपाललाई स्वर्ण पदक दिलाउन सफल भयो। उनले भारतका मनिष कौशिकलाई अंकको आधारमा हराउँदै साग बक्सिंगमा २ दशक लामो स्वर्णको खडेरीलाई समाप्त पारेका छन् । यसअघि सन् १९९९ मा नेपालमा नै सम्पन्न सागको आठौ संस्करणमा नेपालका लागि दुई दाजुभाई रामचन्द्र थापामगर र प्रकाश थापामगरले स्वर्ण जितेका थिए। काश्य भने बंगलादेशमा अल अमिन मोहमद र श्रीलंकाका दिनिदु दु पोन्ननविला भिडानालागेले प्राप्त गरे।
सोमबार भएको ८ वटा तौल समूहको फाइनलमा भने भारतीय मुक्केबाजहरुको दबदबा रह्य । महिला ४८ केजीको फाइनलमा भारतकी कलाईभानी श्रीनिभासनले नेपालकी ललिता महर्जनलाई स्पिलिट डिसिजनको आधारमा हराउँदै स्वर्ण चुमिन् । हारसँगै ललिताले रजत पदक प्राप्त गरिन् । काश्य भने भूटानका ल्हामो टान्डिन र नाडिका पुष्प रनसिंघे अराचिगेले प्राप्त गरिन्।
त्यस्तै महिला ६० केजीमा नेपालकी संगीता सुनार पनि भारतीय बक्सरसँग स्पिलिट डिसिजनको आधारमा पराजित भइन्। हारसँगै संगीताले पनि नेपालका लागि रजत पदक जितिन । काश्य भने श्रीलंकाकी केशानी हंसिकाले प्राप्त गरिन् ।
सोमबार भएको पुरुष ४९ केजीको फाइनलमा भारतका विनोद तनवरले भूटानका टाशी वांग्दीलाई हराउँदै स्वर्ण हात पारे। हारसँगै भूटानले जारी १३औं सागमा बक्सिंगमार्फत् पहिलो रजत पदक जित्न सफल भयो । काश्य भने नेपालका सुशील थापामगर र बंगलादेशका होसेन मोहमद सोजिबले प्राप्त गरे । यसैगरी पुरुष ५६ केजीको फाइनलमा भारतका सचिनले बंगलादेशका मोहमद रोबिन मियालाई अंकको आधारमा हराउँदै स्वर्ण हात पारे । काश्य भने पाकिस्तानका नकिबुल्लाह र नेपालका पूरन राईले जिते।
यसैगरी पुरुष ७५ केजीमा भारतका अंकित खतानाले स्वर्ण जितेका छन्। फाइनलमा उनले श्रीलंकाका दिनेश मदुरंगा पाथिरागे दन अंकको आधारमा हराए । काश्य भने पाकिस्तानका हसन महमूद उइ र बंगलादेशका होसेन मोहमद आरिफले प्राप्त गरे। यसैगरी सोमबार भएको ९१ केजीको फाइनलमा भारतका गौरव चौहानले पाकिस्तानी बक्सर सनाउल्लाहलाई हराउँदै स्वर्ण पदक हासिल गरे । काश्य भने नेपालका अर्जुन सिगुले प्राप्त गरे।
महिला तथा पुरुष गरी सोमबार सम्पन्न आठ तौलको अन्तिम नतिजाअनुसार भारत ६ स्वर्ण, २ रजत र १ काश्य सहित अग्रस्थानमा रहेको छ। त्यस्तै नेपाल २ स्वर्ण, २ रजत र ३ काश्य सहित दोस्रो स्थानमा छ। यस्तै श्रीलंकाको १ रजत ४ काश्य , बंगलादेशको १ रजत ४ काश्य, पाकिस्तानको १ रजत २ काश्य र भूटानले १ रजत १ काश्य जितेको छ। मंगलबार हुने अन्य आठ वटा बाउटपछि मात्र टिम च्याम्पियनको घोषणा हुने ।