दक्षिण अफ्रिकाका लेगस्पिनर इमरान ताहिर नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन खेल्न नेपाल आउने भएका छन्।
उनलाई साविक विजेता जनकपुर बोल्ट्सले टोलीमा आबद्ध गरेको आइतबार सार्वजनिक गरेको हो।
४६ वर्षीय ताहिरले दक्षिण अफ्रिकाको टोलीबाट सन् २०१९ देखि खेलेका छैनन्। उनले ४० वर्षको उमेरसम्म दक्षिण अफ्रिकबाट खेलेका थिए।
पछिल्लो समय व्यवसायिक क्रिकेट खेलिरहेका ताहिरले यो वर्ष क्यानडा सुपर ६० र क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेलेका छन्। उनले सिपिएलटोली गुयना अमाजोन वारियर्सको कप्तानी समेत गरेका थिए।
आइपिएल टोली चेन्नइ सुपरकिंग्ससहिन उनले पाकिस्तान सुपर लिग, बिग ब्यास लिगसहित विश्वभरका अधिकांश फ्रेञ्चाइज टोलीबाट खेलेका छन्। पाकिस्तानको यू-१९ टोली हुँदै दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीबाट खेलेका ताहिरले विश्वभरका ५० भन्दा बढी टोलीबाट खेलिसकेका छन्।
उनले टी-२० मा ४४६ खेलमा ५७० विकेट लिएका छन्। उनले सिपिएलमा १३० विकेट र आइपिएलमा ३ टिमबाट ८२ विकेट लिएका छन्।
वेस्ट इन्डिजका पूर्व खेलाडी शिवनारायण चन्द्रपालको प्रशिक्षक रहेको जनकपुरले यसअघि दक्षिण अफ्रिकाका वायने पार्नेल र श्रीलंकाका अमेरिकन क्रिकेटर लाहिरु मिलान्थालाई भित्र्याएको थियो।