२०७९ सालमा स्थानीय निर्वाचनको माहौलले राजनीति तात्यो। अन्य ठाउँझैँ रुकुम पनि अछुतो रहेन। गाउँपालिकाको वडामा मेरा छिमेकी उमेश नाम चलेको पार्टीबाट उम्मेदवार बने। गाउँघरमा अत्यन्त धेरै पार्टीगत राजनीति हुन्छ। मेरो ठाउँ र म त्यसबाट अछुतो रहन सकिनँ। राजनीतिको भूत सवार भयो मलाई पनि। गाउँमा बसेपछि त्यस्तो परिवेश बन्दोरहेछ। त्यस्तै भयो। बहुदलीय व्यवस्थामा कुनै न कुनै पार्टीमा छान्नु पर्थ्यो। छानियो। यद्यपि आफूलाई गतिशील ठान्छु म!
राजनीतिक आस्थाको आधारमा उनलाई सघाउन सकिनँ मैले। किनकि उनी फरक पार्टीबाट थिए। गल्ती भनौँ वा के भनौँ, ४ मतले चुनाव हारे छिमेकीले। मेरै परिवारमा १० भोट थियो। झिनो मतले उसले चुनाव हारेपछि अलिअलि नमज्जा महसुस भयो मलाई। तुरुन्तै अनुभूति गरेँ। चुनाव हार्नुमा म र मेरो परिवारलाई जिम्मेवार ठहराइयो। एक हिसाबले त्यस्तै भयो।
खासमा स्थानीय निर्वाचनमा काम गर्न सक्ने सक्षम व्यक्तिलाई जिताउनु पर्थ्यो। उनी सक्षम थिए वा थिएनन्, त्यो अर्को पाटो भयो। पार्टी र आस्था गौण मान्नु पर्थ्यो। गल्ती भयो कि? समीक्षा गर्दैछु। खासमा फरक पार्टी र फरक चिन्हमा भोट हाल्नै मन लागेन। अन्ध विरोधी भएछु। वास्तवमा स्कुलिङ नै खराब रहेछ। सोच्दा अहिले त्यस्तो लाग्छ मलाई।
राजनीतिक विभाजन समाजको भित्रसम्म घुसेको छ। हारेपछि पराजित छिमेकीसँग बोलचाल बन्द भयो। आउजाउ, अर्म–पर्म कम भयो। हुन त उसको जितका लागि हाम्रो परिवारसँग पर्याप्त भोट रहेछ। परिणामले त्यस्तै देखियो।
पराजित अध्यक्ष बेचैन देखिए। रुकुम, रोल्पा, सल्यान लगायतका मान्छेहरू हुलका हुल, टोलका टोल तल्लो बाटोबाट अवैध रूपमा अमेरिका जान्छन्। दलाललाई ५०/६० लाख बुझाएर मेक्सिको हुँदै अमेरिका पुग्छन्। ऊ पनि त्यसैमा मिसिएछ।
पुगेर काम पनि लाग्यो रे! अरूहरूबाट सुन्नमा आयो। साना–साना कुराको चर्चा र परिचर्चा हुन्छ। बिना तलब–भत्ता अरूको प्रचार–प्रसार हुन्छ गाउँमा। ग्रामीण समाजको विशेषता हो यो।
उमेश अमेरिका गएपछि पनि सम्बन्ध सुधार भएन। बरु उल्टो भयो। उसले अनेक राजनीतिक कुराहरू फेसबुकमा लेखेर अरूलाई ट्याग गर्न थाल्यो। प्रत्यक्ष–अप्रत्यक्ष चुनावमा हारेको झोक देखाइरह्यो। आँखाका चिप्राहरू नपुछ्दै सिकाउन र गाली गर्न थाल्यो उतैबाट। सोच्यो होला— अर्कै लोकमा छु, कसैले केही गर्न सक्दैन! चुनावको झोक फेर्दैछ भन्ने कुरा सुनाउँथे अरूले। यस्तो कुरा थाहा हुँदैन मलाई। सामाजिक सञ्जालमा साथी छैन। खासमा बेस्सरी रिसाएको छ ऊ मसँग।
राजनीतिले देश, समाज र गाउँ विभाजित छन्। बुझ्दैछु म। फलानो त्यो पार्टीको हो! विकास, निर्माण र सामाजिक कामलाई पार्टीसँग जोडेर हेरिन्छ। कुन पार्टी र नेताले गर्दा विकास भएको वा नभएको चिया पसल र चौतारीमा चर्चा हुन्छ। विकास नेता र पार्टीले गर्ने होइन, विधि, प्रक्रिया र प्रणालीले हुनुपर्छ। मलाई त्यस्तो लाग्छ। तर ती सबै मूर्छित छन् यहाँ! भद्रगोल प्रणालीमा जाँदै छ देश। कुशासनको सङ्केत हो यो।
चुनाव जितेका वडाध्यक्षले खानेपानीको हाहाकार देखेर गाउँमा योजना पारिदिए। मिलेर पानी ल्याउनुपर्नेमा उपभोक्ता समिति अध्यक्ष को बन्ने र मुहान (मूल) का विषयमा व्यापक विवाद भयो। मुहान गाउँमाथि जङ्गल छेउमा थियो। एउटा समूहलाई उचालियो। नियोजित थियो त्यो। मुहान नदिने भएपछि पानीको सपना तुहियो। तत्काल अरू विकल्प भएन। अन्ततः खानेपानी ल्याउने प्रयास विफल भयो। कुरा हार र जितको थिएन। घाटा समाजलाई भयो। सास्ती गृहिणीलाई भयो।
गाउँमा सडक पनि थिएन। पिछडिएको जिल्ला हो हाम्रो। बल्ल बामे सर्दैछ। स्थानीय निकायले ग्रामीण सडकका लागि २० लाख बजेट विनियोजन गर्यो। खानेपानीको जस्तै नियति भोग्नु पर्यो त्यसले पनि। जग्गा दिने/नदिने, बाटो टोल घुमाउने/नघुमाउने विषयमा मतभेद भयो। खानेपानी र सडक दुवैको काम भएन। यी काम सफल बनाउन कुनै न कुनै रूपमा मैले अग्रसरता लिएको थिएँ। विकासको अवरोधलाई उसले आफ्नो सफलता ठान्यो। चुनाव हराएको बदला लिएको ठान्यो उसले। ठीकै छ, मैले हारेँ! बुझाउन सकिनँ। विदेशमै बसेर फोन, फेसबुक र टिकटकमार्फत राजनीति गरिरह्यो उसले। ठीक थियो/ थिएन— समयले मूल्याङ्कन गर्ला।
अति भयो। टर्चर सहन सकिनँ। चुनावको विषयलाई लिएर विकासमा पार्टीगत राजनीति घुसायो उसले। स्थानीय हुलियाहरूलाई प्रयोग गर्यो मविरुद्ध। त्यसको सिधा कनेक्सन उमेशसँग छ। फन्डा गरिरह्यो। गाउँमा किचलो भइरह्यो। कारण उहीँ— चुनावको दुश्मनी थियो। त्यसलाई व्यक्तिगत दुश्मनीसँग जोड्यो। अप्रत्यक्ष रूपमा सिसाको घरमा बसेर अरूलाई ढुङ्गा नहान्न सल्लाह दिएँ मैले। मानेन। व्यवहार सुध्रेन। सहने शक्ति र धैर्य गुम्यो मेरो।
भएन, वकिलसँग सल्लाह गर्ने विचार आयो मनमा। नाम चलेका जिल्ला सदरमुकामस्थित वकिललाई बेलिबिस्तार लगाएँ। कुरा सुनेपछि ‘अमेरिका भनेको वास्तविक प्रजातन्त्र भएको देश हो दुनियाँमा, हरेक देशका नागरिकको गुनासा सुन्छ सरकारले’ भनेपछि मेरो आँट आयो। अनलाइन र एसएमएसमा नानाभाँति लेखेका, धम्की दिएका कुरा सङ्कलन गरेँ मैले। अरूले पनि त्यस्ता च्याट पठाए। ती सबै लिएर काठमाडौँ गएँ!
गतदेखि नै कृषि मेरो नियमित पेसा हो। स्नातकोत्तर गरेर कृषि पेसा गर्दैछु। मानिसले मलाई ‘पढेर बिग्रेको’ भनेर गिल्ला गर्छन्। कृषि त नपढ्नेले पनि गर्न सक्छन्! खासै वास्ता गरिनँ त्यस्ता कुरालाई। जानेजति कृषिलाई व्यावसायिक बनाएँ। अरूलाई सिकाउन खोजेँ। समय आफ्नै हिसाबले चल्दै गयो। राजनीतिले गाउँ र समाजलाई गाजिरह्यो। कहिलेसम्म गाज्छ, थाहा छैन मलाई।
संसारको शक्तिशाली मुलुक अमेरिकामा राष्ट्रपति चुनाव भयो। आप्रवासीप्रति कडा नीति लिएका व्यक्तिले राष्ट्रपतिको चुनाव जिते भन्ने सुन्नमा आयो। उनी आप्रवासीसँग खुसी छैनन् रे! समाचारहरू छापिए। केही महिनापछि आप्रवासीलाई डिपोर्ट गर्न लागेको हल्ला गाउँसम्म आयो। डिपोर्ट मेरो पनि चासोको विषय थियो। किनकि हुलकाहुल गाउँका मान्छे अमेरिका छिरेका थिए। उमेश तिनै मध्येको एक पात्र थियो। खासमा उसले विदेशमा बसेर नानाभाँति गाली–गलौज नगरेको भए निवेदन पनि दिँदैनथे होला! अमेरिकामा धाक–धम्की दिनुलाई अपराध मानिन्छ।
अपराधिक पृष्ठभूमि भएकालाई पहिले टार्गेट गर्छ रे! सामाजिक सञ्जालभरि त्यस्तै–त्यस्तै कुरा आए। डिपोर्टमा नेपाली पनि परेका छन् रे! समाचारहरूको बाढी नै आयो। साँचो के हो, झूटो के हो? छुट्याउनै मुस्किल भयो। तर कता-कता उत्सुकता र चासो बढ्यो। कहीँ न कहीँ त्यससँग जोडिएको छु म! ‘किरो कराउनु र बाख्रो हराउनु’ संयोग हो वा के हो? गाउँमा टुप्लुक्क देखियो। एउटा विश्व नागरिकले न्याय माग्दा न्याय दिएको हो भने त त्यो गजब्ब नै हो। धन्य अमेरिका!
सरकार भनेको त्यस्तो पो हुनुपर्छ। मनले अमेरिकी सरकारलाई आभार प्रकट गरेँ मैले। डिपोर्टको आधार र कारण के हो भन्नेमा अझै अनभिज्ञ छु। आ... जे सुकै होस्, खोजेको पाएँ। अमेरिका त्यसै अमेरिका भएको होइन रहेछ। बल्ल बुझेँ। नेपाल सरकारसँग तुलना गरेँ। नेपालमा त्यो शासन–व्यवस्थाको परिकल्पना गरेँ मैले।
अमेरिका गएको मान्छे किन फर्कियो? के भयो? चर्चा हुन थाल्यो घर–घरमा। गाउँमा अरूका कुरा भइरहन्छन्। उसको पनि भयो। अपराध अमेरिकी सरकारलाई स्वीकार्य हुँदैन। मनमा त्यस्तो कुरा खेलिरह्यो। पाप कराउँछ क्या। विश्वास लाग्यो मलाई! पैसासँगै अमेरिकी सपना डुब्यो उसको। अनेक तानाबाना बुनेर अमेरिका छिरेको काम लागेन। शत्रु भए पनि ठुलो पैसा डुब्यो। नमज्जा लाग्यो मलाई।
डिपोर्ट पर्नुको कारण उसलाई अमेरिकी सरकारले दियो या दिएन, अनभिज्ञ छु। तर निवेदन दिएकै हो मैले। भन्न जरुरी ठानिनँ। भन्नु पनि कसरी!
अहिले ऊ पनि गाउँमा व्यावसायिक कृषिको काम गर्छ। त्यही माटो सुम्सुम्याउँछ। कृषिमार्फत् देशको अर्थतन्त्र परिवर्तन गर्न सकिन्छ भन्ने मेरो मान्यता हो। एक हिसाबले कृषि उद्यमी हुँ म। अरूलाई त्यस्तै बनाउन चाहन्छु। ‘मिलेर काम गरौँ दाइ,’ भन्छ। सहमति जनाएँ मैले।
खै के ठान्यो, के लाग्यो उसलाई। एक दिन अमेरिका हिँडेर जाँदादेखि डिपोर्टसम्मका कहालीलाग्दो क्षण बतायो मलाई। ‘पुलिसले पक्रने बित्तिकै हात र खुट्टामा साङ्लो लगायो। आँखामात्र देखिने गरी कपडाले मुख–टाउको छोपिदियो। प्लेनमा बस्दा र ट्वाइलेट जाँदासम्म साङ्लो फुकालिदिएन! खान समेत सकस भयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरेपछि मात्र मुक्त भएँ। नयाँ संसारमा आए जस्तो लाग्यो।’
त्यत्रो ५०/६० लाख लगानी देशमा गर्न पाएको भए...! कुरा सुन्दा आङ सिरिङ्ग भयो मेरो।
‘त्यो क्षण सम्झन मन छैन दाइ,’ त्यो कहालीलाग्दो थियो।
‘अ..अ’ मात्र भनेँ।
‘दुःख पाइस मङ्गले आफ्नै ढङ्गले’ भन्ने कुरा याद आयो। ‘अति नगर्नु, खति हुन्छ’ भनेको यही हो। हन्डर र ठक्कर खाँदै आएका हामी अहिले एकै ठाउँमा छौँ! अतीत तितो भए पनि वर्तमानका उद्देश्य र गन्तव्य समान छन्।
खासमा हामीजस्ता कार्यकर्ता र नेताले नै राजनीति बिगारेका रहेछौँ। व्यक्ति र समाज विभाजित हुँदा बेफाइदा भएको भन्ने कुरामा सहमत हुँदै घनिभूत छलफल गऱ्यौँ। खानेपानी र बाटो बनाउन भएको किचलोको गम्भीर समीक्षा गऱ्यौँ। दुवैले आत्मालोचना गऱ्यौँ।
राजनीतिक आग्रह–पूर्वाग्रह देश निर्माणका लागि घातक रहेछन्। स्वार्थका लागि जनता लडाउँदा रहेछन्। बुझ्दै नबुझी लड्दा रहेछौँ हामी। समस्या राजनीतिक नेतृत्वमा मात्र हैन, जन–जनका सोचमा रहेछ। गाली गर्नु र सराप्नु अगाडि आफू पनि सच्चिनु पर्छ भन्ने कुरा बल्ल दिमागमा घुस्यो।