हाम्रो तत्कालीन खुंग्री गाउँ पञ्चायत २०३२ सालमा प्यूठान जिल्लाबाट रोल्पा जिल्लामा समाहित भएको अर्थात् गाभिएको थियो। रोल्पाको सदरमुकाम लिबाङलाई धेरै पछिसम्म पनि हामी रोल्पा नै भन्नेगर्थ्यौँ लिबाङ नभनिकन। खास रोल्पा नामको गाउँ भने अहिले सल्यानमा पर्दछ, जसको नामबाट हाम्रो जिल्लाको नाम रोल्पा रहन गएको थियो।
२०३३ साल मंसिर महिनामा तीन कक्षाको परीक्षा उत्तीर्ण भएपछि चार कक्षाको नयाँ किताब किन्नका लागि म एकजना साथीसँग सदरमुकाम लिबाङ जाँदाका सम्झना अझै मानसपटलमा ताजै छन्।
हामी रोल्पाको खुंग्रीको धारापानीबाट बिहानको खाना खाएर उकालो चढ्दै लिबाङतर्फ लाग्यौँ। त्यतिबेला हाम्रो खुट्टामा जुत्ता लगाउन पाउने अवस्था थिएन, खुट्टामा मुस्किलले चप्पल हुन्थ्यो। धेरै बटुवाहरू खाली खुट्टा नै हिँड्ने गर्दथे; भारी बोकेर हिँड्दा होस् वा गाई-भैँसी-बाख्रा गोठालो जाँदा होस्।
हामी लिबाङतर्फ लाग्ने क्रममा घरबाट अलिकति पश्चिम पुगेपछि झोरा हुँदै एक घन्टाको उकालो चढेपछि खुंग्रीकोट पुग्यौँ। हाम्रो अहिलेको वडामा दुई वटा झोरा नाम गरेको ठाउँ छन्- एउटा कुनै बखतको बाइसी राज्य अन्तर्गतको खुंग्रीकोट दरबारको मुनितिर र अर्को धारापानीमै जहाँ एक वर्ष छोडेर हरेक मंसिर महिनामा सबै गाउँलेहरूको एकमुष्ट देवाली गर्ने गरिन्छ।
मंसिर महिनाको जाडो याममा हाम्रो ज्यानमा एकसरो लुगा मात्र हुन्थ्यो। त्यति बेला न ज्याकेट न त स्वीटर उपलब्ध थिए। जाडो भगाउन आगोको सहारा नै लिनुपर्दथ्यो। राम्ररी नसुकेको दाउराको आगो बाल्दा उत्पन्न हुने धुवाँ अर्थात् कार्बनको सामना गर्नुपर्दथ्यो आगो ताप्दाको समयमा, आँसु र नाकबाट पानी एकैचोटि झर्थ्यो धुवाँले गर्दा। जाडो भगाउनकै लागि कोठाभित्र बालिएको आगो छेउमा बसेर ताप ग्रहण गर्नुको मज्जा बेग्लै हुन्थ्यो। अगेनामा दूधवाला चिया पाकिरहेको हुन्थ्यो। भदौ महिनाभरि पोलेको हरियो मकै र अरू महिनामा अघिल्लो साँझ बाँकी रहेका गहुँका सुक्खा रोटी चियासँग खान्थ्यौँ।
लिबाङ जाने क्रममा देखिने खुंग्रीकोटको बस्ती सुन्दर नै लाग्यो, जुन बस्ती त्यति बेलाको सिङ्गो ४ नं. वडा थियो। खुंग्रीकोट अधिकांश ठकुरी जातीको बस्ती हो। हामी हिँड्ने बाटोको दायाँतर्फ खुंग्रीकोट दरबार देखिन्थ्यो। झिँङ्टीले छाएको त्यो दरबार हेर्न जान मलाई धेरैपछिसम्म पनि अनुकूलता मिलेको थिएन। दरबारका अन्तिम राजा फत्तेप्रचण्ड सिंहसँग मैले गोधुङ फाँटमा गाई चराएको र कयौँ पटक कुराकानी गरेको सम्झना अझै पनि छ।
हल्का तेर्सो र उकालो चढ्दै तिमिले हुँदै भाल्जीबाङ भन्ने ठाउँमा पुग्यौँ। त्यसपछि तत्कालीन खुंग्री पञ्चायत अन्तर्गत पर्ने गोगनपानी भन्ने ठाउँमा गएर चिया पसलमा बसेर चिया पियौँ। त्यतिबेला एक गिलास चियाको २५ पैसा पर्दथ्यो। गोगनपानीमा गिरी-पुरीको सानो बस्ती छ, त्यहाँबाट उत्तरतर्फ तलतिर हिले भन्ने गाउँ सुन्दर देखिँदा आनन्द लाग्दथ्यो। हिँडाइका कारण ज्यानमा उत्पन्न तापले खासै जाडोको महसुस भने भएको थिएन। पुस महिनाको जाडोमा पनि हामी एकसरो कमिज र पाइन्ट लगाएका थियौँ।
आशेओडार पुगेपछि एकछिन विश्राम गरेर फेरि लाग्यौँ गन्तव्यका लागि आफ्नो बाटो। हलहलेको लेकमा पुगेपछि चिसोको महसुस भयो। सातदोबाटो पुगेपछि घरबाट बोकेर लगेको चिल्लेरोटी र भाँगो मिसाइएको आलुको अचार खायौँ। एउटा चिया पसलमा पानी मागेर पियौँ। सातदोबाटोमा त्यतिबेला अहिलेको जस्तो बजार थिएन, एउटा दुकान र होटल मात्र थियो। सातदोबाटोबाट लिबाङबजारको केही भाग अर्थात् सिडिओ कार्यालय रहेको क्षेत्र देखिन्थ्यो। नरिवलको जस्तो देखिने एउटा रूख पनि प्रष्टै देखिन्थ्यो सातदोबाटोबाट झर्दा। सातदोबाटोबाट हामी ठाडो बाटो झर्थ्यौँ भने अहिले घुम्ती मोटरबाटो छ त्यहाँ।
सातदोबाटोबाट देखिएको दृश्यले लिबाङ निकै राम्रो र सुन्दर होला भन्ने अन्दाज भयो पहिलो पटक त्यहाँ जाने क्रममा। बाटोबाट देखिने अग्लाअग्ला खालका टोड्के लेक र लाहा लेकले पनि भौगोलिक सुन्दरता बढाएको पाइन्थ्यो। त्यति बेलासम्म पर्यटन नामको शब्द हामीले सुन्न पाएका थिएनौँ। पैदल ओरालो झर्दै गर्दा ज्यानमा चिसोले छोडेको थिएन। हामी लाग्यौँ ओरालैओरालो बामरुकतर्फ। बाटोमा ठाउँ-ठाउँमा ओखरका ठुलाठुला रूखहरू देखिन्थे।
भदौमा मेला लाग्ने भदौरे भन्ने ठाउँमा पुगेपछि अलिअलि चिसो घट्दै गएको महसुस भयो। भदौरे कटेपश्चात् बामरुक हुँदै हालको सैनिक ब्यारेक भएनिर पुगेपछि लिबाङका सेतासेता घरहरू देखिए। त्यतिबेला लिबाङमा अहिलेका जस्ता पक्की घर हुने कुरै थिएन। किनकि यातायात र ढुवानीका साधनहरू सञ्चालनमा थिएनन्। स्लेट ढुङ्गाले छाएका सेता घरहरूले लिबाङ बजारको सुन्दरतामा अझ सुन्दरता बढाएको पाइन्थ्यो।
खुंग्रीबाट प्रस्थान गरेको छ घन्टापछि अर्थात् चार बजेतिर हामी लिबाङ पुग्दा साँझ पर्न थालेको थियो। लिबाङमा जाडो मौसममा दिउँसो तीन नबज्दै घाम अस्ताउने गर्छ। एक त चिसो ठाउँ त्यसमाथि दिउँसै साँझ परे जस्तो देखिने लिबाङको जाडो मुस्किलले सामना गर्ने काम भयो। ‘केटाकेटीको जाडो बाख्राले खान्छ’ भन्ने भनाइ हामीले त्यसअघि नै सुनेका थियौँ।
बेलुका सानीआमा अम्बिका आचार्यको घरमा बास बसेर त्यहीँ खाने र सुत्ने काम भयो। भोलिपल्ट बिहान पुस्तक पसलमा गएर एक सेट पुस्तक किन्यौँ। पछि मेरा साढुदाइ बन्नुभएका स्व. चिन्तामणि आचार्यको घरमा पुस्तक पसल थियो। एक सेट पुस्तकको मूल्य जम्मा ३५ रुपैयाँ परेको थियो।
अहिलेको जिल्ला समन्वय समितिको कार्यालयतिर जाने बाटोको दायाँतिर बंशी नामका पसलेले जिलेबी बनाउँथे। शुद्ध घिउमा बनाइएका जिलेबी ज्यादै मीठो लाग्थ्यो, जिलेबी थप्दै खाँदा गोजी रित्तिएको पत्तो हुँदैनथ्यो। अलि वर मार्कण्डे भनेर चिनिएका एकजनाको पसल थियो। उनको पसल अरूको भन्दा बढी चलेको देखिन्थ्यो। दामोदर आचार्यको पसल लिबाङमा सबैभन्दा ठुलो पसल भनेर चिनिन्थ्यो। लिबाङमा त्यतिबेला ब्राह्मणहरूमा आचार्यहरूको सङ्ख्या धेरै थियो। थोरै-थोरै न्यौपाने र रिजाल पनि भएको कुरा पछि मात्र थाहा भयो।
एक भारी दाउराको मोल जम्मा चार रुपैयाँ
लिबाङमा त्यति बेलादेखि नै मदिरा-मासुका होटलहरू पनि निकै चलेका देखिन्थे। दालभात-तरकारी खाने होटलहरू नहुने त कुरै थिएन। लिबाङमा त्यतिबेला खुंग्रीको मैरी (पछि महेन्द्री भनियो) भन्ने ठाउँबाट भारीका भारी काउली, बन्दा, आलु लिबाङमा जान्थ्यो। लिबाङ बजारको वरपरका वन नजिकबाट बिहानैदेखि दाउराका भारी बोक्नेहरूको लर्को नै देखिन्थ्यो।
‘एक भारी दाउरा कतिमा बिक्री हुन्छ?’ भनेर सोध्दा ‘त्यस्तै तीन/चार रुपैयाँमा बेच्छौँ’ भनेको राम्रोसँग सम्झना छ मलाई। रक्सी-मासु पाइने होटलमा प्रवेश गर्नेमा कोही-कोही त शिक्षकहरू पनि हुन्थे, जुन कुरा त्यतिबेला अचम्म मान्नुपर्ने अवस्था थिएन। कोही-कोही शिक्षकले कक्षामा पढाएर पिरियड सकिएपछि बाहिर निस्केर सुर्ती मल्ने र चिलिममा सुर्ती भरेर सल्काउने अनि तान्ने दृश्यहरू पनि नौला थिएनन् त्यस बखत। अहिले जस्तो नैतिकतामा रहने र विद्यार्थीका अगाडि सङ्कोच मान्ने चलन थिएन।
लिबाङमा अलि पछि घरेलु उद्योगको रूपमा पाउरोटी उद्योग पनि खुल्यो प्यूठानको रातामाटाको पाउरोटी उद्योग झैँ। पुक्क उक्सिएको गोलाकार पाउरोटी चियामा चोबेर खाँदा निकै मीठो महसुस हुन्थ्यो। त्यस बखत खानेकुरा अरू के नै हुन्थ्यो र गाउँमा? लिबाङको टुँडिखेलमा मंसिर महिनादेखि माघ महिनासम्म राम्रा-राम्रा सुन्तला बिक्री हुन्थ्यो। ठुला आकारका र बोक्रा सजिलै निस्किने अति मीठा त्यस्ता सुन्तला अहिले लिबाङ र वरपर फल्न र बजारमा उपलब्ध हुन छाडेको छ।
२०७६/७७ मा म त्यहाँ एक कार्यालयको प्रमुख भएर सेवा गर्दा पहिलेको झैँ सुन्तलाको खोजी गर्दा भेटिएन। खासमा मलाई दुःख नै लाग्यो कि ‘जमाना पहिले झैँ रसिलो छैन’ भनेर। भारतबाट आयातित सुन्तलाले पनि स्थान पाउँदै आएको रहेछ पछिल्लो समय लिबाङ बजारमा। पहिले सक्कली खानपान हुन्थ्यो, अहिलेको जस्तो विषादीयुक्त उपभोग्य वस्तुबाट बनेको खानपान हुँदैनथियो। मान्छेमा धर्म पालना गर्ने रीति थियो, अहिले जस्तो जथाभावी बानी व्यवहारको विकास भएको थिएन मान्छेमा। अनैतिक क्रियाकलापहरू गर्न मान्छेहरू डराउँथे र हिच्किचाउँथे पनि।
२०३५/३६ सालदेखि २०४० सालअघि रोल्पामा फाट्टफुट्ट ट्र्याक्टरहरू चल्दथे। कोही कोही लिबाङदेखि घोराहीसम्म पनि ट्र्याक्टरबाट कष्टकर यात्रा गर्दथे। २०३७/३८ सालमा सडक विभागका कर्मचारीले खुंग्रीसम्म मोटरसाइकल पनि लैजान्थे। बाटोमा देखिने मोटरसाइकल र ट्र्याक्टरका पाङ्ग्राका बुट्टेदार डोब देख्दा हामी अचम्मित हुन्थ्यौँ।
खुंग्रीको धारापानीस्थित आफ्नो घरदेखि चतुर्भुजसम्म जाँदै गरेको ट्र्याक्टरको पछाडि ट्रलीमा उभिँदा चक्कर लागेको महसुस भएको थियो मलाई। ट्र्याक्टरले फ्याँक्ने डिजेलको धुवाँ र फाट्टफुट्ट रूपमा चल्ने जीप तथा मोटरसाइकलले फ्याँक्ने पेट्रोलको धुवाँ पनि बासनादार लाग्थ्यो, अहिलेको जस्तो नमीठो गन्ध लाग्दैनथ्यो।
खुंग्रीमा २०३५ सालमा पहिलो पटक एउटा जीप पुगेको थियो। जीपलाई देखेर एकजना वृद्ध महिलाले सोध्नुभयो- ‘यो गाडी उभिएको हो कि बसेको हो?’
पछिल्लो समय रोल्पाका हरेक वडाहरूमा मोटर बाटो पुगिसकेको छ। रोल्पा भ्रमण गर्न मोटरसाइकलबाट अझ उपयुक्त हुन्छ। किनभने समय समयमा भनेको स्थानमा आउजाउ गर्न सार्वजनिक सवारी साधनहरू उपलब्ध हुँदैनन्। तोकिएको स्थान र समयका लागि मात्र कतै ठुला बस छन् भने कतै साना खालका सवारी साधन उपलब्ध छन्।
कुनै बखत म काठमाडौँमा बिहान छ बजे चढेको माइक्रो बस घाम छँदै रोल्पाको खुंग्रीमा पुगेको थियो भने उज्यालो छँदै माइक्रो लिबाङ पुगेको थियो। सबैले एकपटक रोल्पा भ्रमण गर्न जरुरी छ। दुई वर्षअघि प्रकाशित ‘रोल्पाका सम्पदाहरू’ नामक पुस्तक पढेमा रोल्पाका बारेमा धेरै जानकारी मिल्छ।
माथि उल्लेख भएको पुस्तक किन्ने काम सकिएपछि भोलिपल्ट बिहानै हामी एक दिनअघि आएको बाटोबाट फर्किएर आफ्नो गाउँ खुंग्रीतर्फ लाग्यौँ।