नेपाली फुटलबको विकास र नेपाली भाषीलाई जोड्ने उद्धेश्यका साथ तेस्रो मुलुक पुर्नबास भएका नेपालीभाषी भुटानी समुदायले फुटवल प्रतियोगिता गर्ने भएको छ।
लामो समय नेपालका विभिन्न स्थानमा बसोबास गर्दै तेस्रो मुलुक पुर्नबास भएका नेपालीभाषी समुदायले मोरङको पथरीमा पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता-२०२१ आयोजना गर्ने भएको हो।
कात्तिक १० देखि १९ गतेसम्म हुने प्रतियोगितामा पूर्वका १० टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।
अमेरिकाको पिट्सबर्गस्थित थ्री रिभर्स क्लवको आयोजनामा हुने प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार प्राप्त गर्नेछ भने उपविजेताले नगद ५१ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगितालाई अमेरिकामा रहेर सामाजिक काम गर्दै आएका मेघ सुवेदीको कम्पनी सिजल सिस्टरले मुख्य प्रायोजन गर्ने आयोजक समितिका सदस्य तथा थ्री रिभर्सका सदस्य अर्जुन बिष्टले जानकारी दिए ।
पिट्सबर्गका नेपालीभाषीले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको उक्त प्रतियोगिता यो सिजनबाट नेपालमा सुरू हुने भएको हो। आउँदा दिनमा नेपालका बिभिन्न स्थानमा प्रतियोगिता गर्ने आयोजक तथा अमेरिकाको पिट्सबर्गमा रहेको थ्री रिभर्स एफ.सी. का सदस्य किरण थापाले जानकारी दिए।
आफ्नो मातृभूमीसँगको सम्बन्ध कायम राख्दै नेपालीभाषी मनलाई एक ठाउँमा जोड्न फुटबल एक माध्यम रहेको थापाको भनाई छ ।
‘लामो समय नेपालको भूमीमा जीवन बिताएर तेस्रो मुलुक पुर्नबास भएका नेपाली भाषीको मन मनमा नेपाल र नेपाली पन छ। नेपालीपन र नेपालसँगको नाता जोड्न हामीले अमेरिका र नेपालमा बिभिन्न कार्यक्रमहरु गरिरहेका छौं’, अमेरिकाको पिट्सबर्गमा बसोबास गर्दै आएका सिजल सिस्टरका संस्थपक मेघ सुबेदीले भने।
प्रतियोगितामा शिवशताक्षी फुटबल क्लव झापा, भाउन्ने फुटबल क्लव मोरङ, लेटाङ फुटवल क्लव लेटाङ, पथरी शनिश्चरे फुटबल क्लव पथरी, विराटनगर फुटबल क्लव बिराटनगर, भुटानी ब्वाइज क्लब, बेलबारी फुटबल क्लव, प्रतिभा समाज सुधार युवा क्लव, दमक एफसी झापा र राष्ट्रिय जागृति फुटबल क्लव सुनसरीबीच प्रतिस्पर्धा हुने भएको छ।
प्रतियोगितामा विधागत पुरस्कारतर्फ उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिड फिल्डर, फर्वाड, कोच र उच्च गोलकर्ताले जनही ५/५ हजार प्राप्त गर्ने छन् भने सर्वोकृष्ट खेलाडीले नगद १० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले जनही २ हजार ५ सय प्राप्त गर्ने आयोजक समितिका सदस्य बिक्की राईले जानकारी दिए।
गोपाल काफ्लेबाट