सिपाही राधिका थापा नेपाली सेनामा प्रतिविद्रोह तथा जंगल युद्धकलाको तालिम गर्ने पहिलो महिला सैनिक भएकी छन्।
२०७७ कात्तिक १८ गतेदेखि माघ ६ सम्म सञ्चालन भएको उक्त तालिम थापाले सफलतापूर्वक सम्पन्न गरेकी हुन्।
उनी प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा कार्यरत् छन्।
सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार सो तालिम अत्यन्तै कठिन हो।
तीन महिनाको अवधिसम्म चल्ने सो तालिममा जंगल नेभिगेसन, धराप निर्माण गर्ने, जंगल सर्भाइभल टेक्निक्स, सर्पदंश व्यवस्थापनलगायत सैन्य ज्ञान/सीप सिकाइन्छ।
थापा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ थापाटोलकी हुन्। उनी २०६९ असार १५ गते सैन्य दर्जामा भर्ना भएकी थिइन्।
उनी सैन्य आधार तालिमपछि मिति २०७० जेठ २४ गतेबाट प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा कार्यरत् थिइन्।
सोही शिक्षालयमा सञ्चालन भएको उच्चस्तरको शारीरिक एवम् मानसिक क्षमता माग गर्ने प्रतिविद्रोह तथा जंगल युद्धकला तालिममा उनले सफलता पाएको सेनाले जनाएको छ।
‘नेपाली सेनाको इतिहासमा यो तालिम सम्पन्न गर्ने उनी पहिलो महिला सैनिक हुन्,’ सैनिक प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले भने।
उनका अनुसार पुरूष सैनिकहरूले उक्त तालिममा सफलता पाइसकेका छन्।
महिला सैनिकहरू भने कसैले पनि उक्त तालिममा सफलता पाएका छैनन्।