स्वर्गसरी पोखरा !
पर्यटनवीद् झलक थापा सधैं भन्ने गर्नु हुन्छ,– ‘यस सुन्दर पोखरामा सुन्दर मन लिएर, सुन्दर सोच लिएर, सुन्दर व्यवहार गरेर, सुन्दर कार्यहरु गरेर अनि सुन्दर सपना बुनेर बस्न सके साँच्चिकै स्वर्ग यहाँ भन्दा अन्त पनि छ भनेर पत्याउन गाह्रै पर्छ जो कोहीलाई पनि । यो सुन्दर, अति सुन्दर प्यारो पोखरा सधैंलाई अनि सबैलाई भैरहोस् । पुगिरहोस् ।’
साँच्चै सुन्दर छ पोखरा । र, सुन्दर पोखरा जुनीजुनीभरलाई भैरहोस् । हाम्रा सन्तान, दरसन्तानले सुन्दर पोखरा देख्न पाउन् भन्ने झलक दाईको चिन्ता जायज छ । हाम्रो पोखरालाई बिग्रन नदिई थप सुन्दर बनाएर सन्ततीलाई सुम्पनु छ हामीले ।
के छैन र पोखरामा ! हिमाल यहीँ छ, ताल यहीँ छ । कुमारी माछापुच्छ«्रे हिमाल, अन्नपूर्ण सृङखलाको मुस्कान । पहाड, जंगल, गुफा, मन्दिर, गुम्बा, मस्जिद, संग्रहालय आदि पोखराका पर्याय । विभिन्न जातजातिको सुन्दर फुलबारी ।
त्यतिमात्रै होइन प्याराग्लाइडिङ, जिप फ्लायर, बञ्जि जम्प, राफ्टिङ, बोटिङ जस्ता साहसिक खेलको राजधानी पनि हो पोखरा ।
बागलुङ कालिका, गलेश्वरधाम, कुश्मा, मुक्तिनाथ, लोमन्थाङ, धौलागिरी पदमार्ग, अन्नपूर्ण आधारशिविर, घोडेपानी आदि क्षेत्रका गेट वे पनि पोखरा । पोखरा ट्रान्जिट मात्रै होइन, मन बहलाएर महिनौ घुम्न सकिने ठाउँ पनि हो । सेरोफेरोका घान्द्रुक, धम्पुस, हेम्जाकोट, ताङतिङ, सिक्लेस, पञ्चासे, रुपाकोट, सिरुबारी आदिलाई समेटेर ग्रेटर पोखरा भन्न सकिन्छ ।
सर्लाहीमा जन्मेकी मेरो कर्मक्षेत्र पोखरा भएको छ । म भाग्यमानी छु कर्मले पोखरेली हुन पाएकोमा । विहान उठ्नासाथ माछापुच्छ«्रे र अन्नपूर्ण हिमाललाई स्पर्श गर्छन् मेरा आँखाले । हरेक दिन फेवातालमा पौडी खेल्छ मेरो मन ।
पोखराको बयान सहित्यकारले मिठो भाकामा गरेका छन् । दिनदिनै नयाँनयाँ गीत कोरिँदैछन्, कविता लेखिँदैछन् ।
पोखराको वर्णन गरेर थाकेका छैनौं हामी । हामीले बुझ्नु पर्ने सत्य के हो भने विकाससँगै केही समस्या पनि भित्रेका छन् हाम्रो पोखरामा । सुन्दर पोखरालाई जुगजुगसम्म सुन्दर राख्न ती समस्या समाधान गर्नु पर्छ । पोखराको अनुहारमा लागेको दाग मेटाउनु पर्छ ।
दैनिक हजारौं पर्यटक हवाईमार्ग र थलमार्ग हुँदै पोखरा आउँछन् । स्थलमार्गबाट आउनेहरु धेरै हुन्छन् । जब पर्यटक विजयपूर खोला पार गरि अमरसिंह हुँदै पृथ्वीचोक आइपुग्छन् त्यहीँबाट देखिनथाल्छ पोखराको गालामा पोतिएको कालो दाग ।

पोखरामा अत्यधिक मात्रामा सबारीको चाप बढ्दै गएको छ । तीन वर्ष अघिसम्म कतै पनि सवारी जाम हुन्थेन । अहिले बाटोको क्षमता भन्दा बढी सवारी साधन छन् । बाटोमा धुलो छ, मास्क लगाएर हिँड्नु पर्ने अबस्था छ ।
दुई वर्ष अघि बसपार्क छेउमा रहेका तरकारी बजारलाई मण्डीभित्रै सारेर फोहर व्यवस्थापन गर्न खोजे पनि त्यसले मूर्त रुप पाउन सकेको छैन । बसपार्क आसपास व्यवसाय गरेर बसेका कतिपय व्यापारी आफ्नो अगाडि थुप्रिएको फोहर व्यवस्थापन गर्नु त परै जाओस् आफ्नो पसल अगाडि एउटा डस्टविन समेत राख्दैनन् ।
हप्ताका हरेक दिन नगरपालिका सफाई गर्छ । संघसंस्था र आमा समूहको आयोजनामा कुनै न कुनै दिन पर्यटकीय स्थान, धार्मिकस्थल र बाटाघाटाको सरसफाइ भैरहेको हुन्छ । अरु नै आएर दैला अगाडिको फोहर सफा गरिदिने भएपछि खुट्टामा फोहर नै ठोक्किए पनि कस्ले टिप्ने र ? देशकै ठुलो महानगरपालिकाका बासिन्दा हामीमा चेतनाको कमी भन्ने कि लापरबाही ।

यतिमात्रै नभएर बसपार्कको चाइनापुल, पृथ्वीचोक, जिरो किमि, पालिखेचोक जस्ता ठाउँमा १५ देखि ३० मिनेटसम्म सवारी जाम हुन थालेको छ । सडकमा दौड्ने २० बर्ष भन्दा पनि पुराना गाडीका धुवाँले नाकै पोल्छ । सडक विस्तारका नाममा अमरसिंहचोक, पृथथ्वीचोक र जिरो किमिमा सालिक भत्काएपछि धुलो उडेर हिँडिसक्नु छैन । भत्काएपछि बेलैमा निर्माणका काम गर्न किन चुक्छौं हामी ?
सुन्दर पोखराको छवी बोकेर आउने पर्यटक पोखराका केही यस्ता बेथिति र समस्या देख्दा कस्तो सोच्दा हुन् । क्षणिक लाभ र सजिलोका लागि हामी पोखरालाई दीर्घकालीन असर पुग्ने कुनै काम नगरौं ।
बर्षायाममा जिरो किमिदेखि पृथ्वीराजमार्ग यातायात व्यवसायी संघको कार्यालयसम्म जिरो किमिको मोर्डन इरा रेष्टुरेन्ट नजिकै ढल फुटेर निस्केको फोहर जमेर हिँडिसक्नु हुँदैन । अचेल पनि धुलो उडेर हिँडिसक्नु हुन्न ।
जिरो किमिदेखि हल्लनचोकसम्म २ बर्ष अघि बनाइएको ४ लेनको बाटो ठाउँ ठाउँमा भत्किएको छ । एकपटक बजेट ल्यायो टालटुले काम गर्या सकियो । स्थानीय तहको चुनाव पश्चात् उत्साह छाएको थियो नगरबासीमा । तर, हाम्रा जनप्रतिनिधिले समेत यस्ता समस्या समाधानमा पहल गरेको देखिएन ।
अहिले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको चटारोले पर्यटकीय नगरी पोखरा पनि तातेको छ । प्रदेश नम्बर ४ को राजधानी बन्ने सम्भावना बोकेको पोखरालाई पर्यटकीय हबका रुपमा विकास गर्ने सबै उमेदवारले चुनावी नारा बनाएका छन्।

एकछिन यसो सोचौं त, ताल संरक्षणका नाममा करोडौं रकम खर्च भैसक्यो ताल अतिक्रम रोएिको छैन । बरु दिनदिनै ताल खुम्चिँदै गएको तथ्याङका मिडियामा आइरहेका छन् । खुम्चिने मात्रै होइन, दुषित पनि बन्दैछ । केही दशक अघिसम्म तालको पानी अँजुलीमा उबाएर खाएको सुनाउँछन् अग्रजहरु । आज दुषित भएकाले खान मिल्दैन ।
यी विविध कारणले गर्दा पनि चुनावी नारा, बनेका योजना र प्रतिबद्धता पूरा हुने कुरामा पोखरेली विश्वस्त छैनौं । पोखराको भुधरातलिय यर्थाथ बुझेको दीगो पर्यटनको चिन्ता भएको भिजनयुक्त नेतृत्वको खाँचो छ ।
अन्यत्रको के केरा गर्ने, लेकसाइडकै ठूला भनिएका कतिपय होटल, रेष्टुरेन्टबाट लुगा तथा भाँडा माझिएको पानी बाटैमा फालेका छन् । फोहर पानीले सेन्ट्रल लेकसाइडको अबस्था त यस्तो छ भने अन्यत्र के होला ?

फेवाताल किनारमा हिँड्न बनाइएको फुटपाथले साँझबिहान तालमा रमाउनेलाई सजिलो छ । बिहान तालको स्वच्छ हावामा रमाउँदै हिँड्ने र साँझमा ताल वरपरका घर र डाँडाबाट आउने उज्यालोले नलोभिने को होला र !
साँझमा त झन भिड हुन्छ । मकै पोल्ने, पानीपुरी बेच्ने र खाँदै रमाउनको बाक्लो भिड लाग्छ । फुटपाथमा जडित सोलार लाइटले साँझपख तालको सौन्दर्यमा निखार आउँछ । रातिसम्म ताल किनारमा बसेर रमाइलो गर्न चाहनेलाई छुट्टै आन्नद दिन्छ ।
त्यहि सुन्दरतामा दाग बनेझै ती सोलार लाइटहरु कति ठाउँमा बिग्रेका छन् । नत त्यसबारे ध्यान सम्बन्धित निकायको पुगेको छ नत त्यही बत्तीमुनि व्यवसाय सञ्चालन गरि आयआर्जन गर्नेहरुको ।

पोखराको आयआर्जनको सबैभन्दा बलियो पाटो पर्यटन व्यवसाय नै हो । यो व्यवसायलाई सुन्दर, सफल र सुरक्षित बनाउन हामी सबैले ध्यान दिनु पर्छ । विशेष त बाटोघाटो र सरसफाइमा ख्याल गरौं । यसमा महानगरपालिका, पर्यटन व्यवसायी, राजनैतिक दलहरु, मिडिया र सरोकारवाला सबैको ठूलो जिम्मेवारी छ ।
अन्त्यमा, पर्यटनवीद् झलक दाईले भनेझैं हामी सबैको पर्यटन मन्त्र ‘आँखामा आत्मीयता, व्यवहारमा हार्दिकता र इमान्दारी’ हुनुपर्छ । त्यसो हुन सके पोखरा पोखराकै रुपमा सधैं रहिरहनेछ । चम्किरहनेछ । भावी पुस्ताले आफ्ना पुर्खाप्रीत गौरब गर्नेछ । जय पोखरा !