‘ए सानु, सानु!
हरिया मकै लिने हो?
सानु, ए सानु!’
म आफ्नै सुरमा टोल छिमेकमा सुनिने गरी कराउँदै हिँडिरहेकी हुन्थेँ।
कहिले अर्काको बारीबाट हरिया मकै खरिद गरेर सिधै बिक्रीका लागि निस्कन्थेँ। कहिले आफू बस्ने घरमा ल्याएर केलाउने र पातलो खोस्टा मात्र राखेर निस्कन्थेँ। यो क्रम अहिले पनि चलेकै छ र मेरो पेसा बचेकै छ।
आमाको त्यो बोली मेरो एक जना सदाबहार ग्राहकको चीर प्रतीक्षित उपस्थिति नै हो। म सधैँ झैँ पिठ्यूँमा हरियो मकैको भारी बोकिरहेकी हुन्थेँ। परैदेखि वरिपरिका मान्छेले सुन्ने गरी कराउनु नै मेरो व्यवसायको सजिलो विज्ञापन हो।
पत्रिकाहरूमा ठुला-ठुला अक्षरमा चित्रसहित विज्ञापन गरेर पनि व्यवसाय हुन्छ। अनलाइन पत्रिकामा पढिने कुनै विषयका बिच-बिचमा पाठकलाई झर्को लाग्ने गरी राखेर पनि विज्ञापन हुन्छ रे। अझ फरक फरक चित्रहरू फेरी-फेरी आउने र ध्यान त्यतै तान्न बाध्य बनाइदिने विज्ञापन पनि हुन्छ रे। छोराछोरीहरूले धेरै पटक मलाई पनि यसरी नै किन्न सुझाउने गर्छन्। तर मैले त यसरी अनलाइनमा हेरेर कहिल्यै पनि किनबेच गरेकी छैन।
पिठ्युँमा गह्रौँ भारी भएको डोको र थाप्लामा नाम्लो लगाएर हिँड्ने मलाई यी अनेक कुराहरू बुझ्ने फुर्सद पनि कहाँ हुन्छ र? दिनको एक भारी हरियो मकै खेलो गरेर बेच्दा आउने पाँच/छ सय रुपैयाँ नै मेरो दैनिक कमाइ हो। यतिका भरमा एक छोरा र एक छोरीसहित हामी तीन जनाको सानो परिवार पाल्न पुगेकै छ।
अब त उनीहरू पनि केही बुझ्ने भइसकेछन्। मलाई सारो-गारो पर्दा ‘हाम्री ममतामयी आमा’ भनेर गालामा म्वाइँ खान्छन्। तातो पानी र चिया बनाएर पियाउँछन्। मैले बोक्ने डोकोमा लागेको फोहर सफा गरिदिन्छन्। छोराले तरकारी काट्न सघाउँछ। छोरीले भाँडा पखालेर चुलामा बसाउँछिन्।
आफ्ना सन्ततिले यसरी सघाएको दिन मलाई मेरा खसमले दिनरात दिने गरेको पीडा भुल्दो रहिछु। त्यससँगै यी लालाबालासहित हामीलाई चटक्क छाडेर आठ वर्ष पहिले नै परदेश लागेका उनलाई सम्झन पुग्छु। मन कस्तो-कस्तो नमिठो हुन्छ। आफ्नो जीवनलाई एकल बनाइदिने र बिचैमा छाडेर हिँड्ने उनको गैर जिम्मेवारीप्रति घृणा बढ्न थाल्छ।
सायद उनको जीवन त अर्कैसँग रमाइलो गरेर बितिरहेको त होला नि भन्ने लाग्छ। अनि सुखद दाम्पत्य जीवनमा रमाइरहेका समवयी सँगीहरू हेर्छु। छरछिमेकका मायालु जोडीहरू सम्झिन्छु। अनि आफ्नो यो एकल जीवनको वर्तमान नियाल्छु। चित्त कटक्क काटिन्छ। मन अमिलो हुँदै आउँछ। पिर परेपछि मनभित्र गुम्सिएका यी पिडाका टुक्राहरू आपसमा नै निचोरिन्छन् क्यारे। अनि आँसु भएर बिस्तारै आँखाका डिलबाट बाहिर निस्किएका हुन् जस्तो लाग्छ।
मेरी आमाले आफ्ना छोराछोरीका सामुन्ने आँसु देखाउन हुन्न भनेर सधैँ लुकाउने गर्नु गर्नुहुन्थ्यो। बाल्यकालमा चियाएर हेर्दा मैले उहाँका आँखामा आँसु देखेकी थिएँ। साँच्चै आमा नै रोएको देख्दा आफ्नो सहारा नै कमजोर भएको र आफू निरीह रहेको जस्तो लाग्थ्यो त्यो समयमा।
हरेक सन्तानमा आफ्ना बाबु-आमाप्रति धेरै आस्था र भरोसा हुन्छ। अनि उहाँहरू नै निराश भएर धरधरी रोएको देख्दा सहारा नै कमजोर भएको लाग्नु स्वाभाविकै त हो नि। त्यही भएर अहिले मैले पनि आँखाका डिलमा आइसकेका आँसु लुकाउन कुनै उपाय लगाउनु पर्छ भन्ने लाग्छ। अनि म सरक्क अर्कोतिर जान्छु। पछ्यौराले आँखा ओभानो बनाएर मात्र उनीहरूका नजिक जान्छु। त्यसपछि हामी पूर्ववत् ममताको सागरमा हराउँछौँ।
आमाले लुकेर आँसु पुछेको मैले बाल्यकालमा देखे जस्तै उनीहरूले चियाएर हेरेका र देखेका पनि त हुन सक्छन्। मेरा सामु कुरा नै उठाए भने ममताको छहारीमा आँसु त खुसीको पनि हुनसक्छ नि भनेर सम्झाउने निष्कर्षमा पुग्छु।
सात वर्ष पहिले म पहिलो पटक त्यो टोलमा हरियो मकै बेच्न यसै गरी पुगेकी थिएँ। उहाँले घरको अट्टालिकाबाट ‘ए नानी पख है मलाई, मैले पनि किन्नु छ’ भनेर रोक्नु भएको थियो। मैले दुवै हातले नाम्लो समाउँदै टाउको माथि उठाएर हेरेँ। अलिक होची-होची, कडा बोली भएकी एक जना हजुरआमा मलाई हात हल्लाएर पर्खिन इशारा समेत गर्दै ‘पख है पख’ भन्दै हुनु हुन्थ्यो।
उहाँलाई तीन तला माथिबाट ओर्लिएर सडकमा आउन झन्डै पाँच मिनेट लाग्यो होला। नाम्लोले किच्चाएको मुन्टो गलेको थियो। भित्तामा बिसाएर म धैर्य गर्दै पर्खिरहेँ।
‘हँ हँ नानी। म त ढिलो गर्छु। धेरै बेर पर्खाएँ नि तिमीलाई’ भन्दै मेरो नजिक आउनु भयो। मैले ‘ल आमा कति लिनु हुन्छ, आफैँ छान्नु होला। एक सयको आठ वटा हो’ भनेँ। उहाँले भन्नुभयो, ‘मसिना रहेछन् त। १० वटा दिनु है।’
मैले उहाँको अनुहार हेरेँ। उहाँको बोलीमा दृढता र आत्मविश्वास थियो। मलाई हेरेर हाँस्दै भन्दै गरेको आग्रह टार्न मन लागेन।
‘आउन त आउँदैन हजुरआमा। तर तपाईँलाई देख्दा मेरी हजुरआमाको याद आयो। आज उहाँको जन्मदिन पनि हो। गत वर्ष हामी आजकै दिन उहाँलाई भेट्न गएका थियौँ,’ यसपछि उहाँले मलाई नियालेर हेर्नुभयो।
म बोल्दै गएँ, ‘अहिले त हामीलाई छाडेर जानु भएको पनि ६ महिना भइसकेछ। उहाँको कस्तो झझल्को आयो मलाई। हुन्छ लैजानु आमा।’
‘तिमीलाई नोक्सान हुन्छ भने त लैजान्नँ नानी। ल भइगयो। भनिहालेँ, नौ वटा लैजान्छु,’ उहाँले यसो भन्दै छानेर त्यति मात्र लैजानु भयो। म अवाक् भएँ। सौदाबाजीका लागि कुनै दोहोरो संवाद नै भएन। मैले दिएको भन्दा आफैँ घटाएर कम लैजानु भयो।
मेरी हजुरआमाको ममता र विवेक सम्झिएँ। उहाँले घरमा काम गर्नेलाई मिठो मसिनो बनाएर खुवाउनु हुन्थ्यो। साधुसन्त घरमा आए भने गर्मी समय भए ठेकीबाट मोही सारेर दिनु हुन्थ्यो। जाडोका दिनमा भए तातो केही खुवाउनु हुन्थ्यो। बिहान भए खाना बनाएर खान अनुरोध गर्नु हुन्थ्यो। बेलुका भए बास बस्नलाई अनुमति दिनु हुन्थ्यो।
बारीमा फलेका फलफूल देवतालाई चढाएर मात्र खानु पर्छ भनेर सिकाउनु हुन्थ्यो। अनि घरको पूजा कोठामा र बाहिर पनि पातमा तीन/तीन भाग र सात/सात वा यस्तै मसिना टुक्रा पारेर चढाउनु हुन्थ्यो। अनि पहिले आफूले चाखेर मात्र हामीलाई खान दिनु हुन्थ्यो।
कति दयालु हुनुहुन्थ्यो उहाँ। अर्कालाई पिर वा मर्का पर्ने गरी कहिल्यै व्यवहार गर्न हुन्न भनेर सम्झाउनु हुन्थ्यो। यति बेला मलाई उहाँ पनि मेरी हजुरआमा जस्तै विवेकी हजुरआमाको अर्को रूप जस्तै लाग्यो। आफ्नी हजुरआमाको अनुहार याद आएर म मनमनै तड्पिन पुगेछु।
हिँड्ने बेलामा फेरि मलाई भन्नुभयो, ‘तिमी त आइरहन्छ्यौ हैन नानी? फेरि-फेरि आउँदा पनि मलाई चाहिँ खबर गर्न नछुटाउनु नि।’
मैले ‘हुन्छ आमा, मेरो काम नै यही हो नि’ भनेँ।
उहाँ भन्दै हुनुहुन्थ्यो, ‘मेरा त दाँत झरिसके। चपाएर खान सक्दिनँ। तर मेरी छोरीलाई धेरै मन पर्छ। त्यही भएर लिएर राखिदिन्छु।’ मातृ वात्सल्यको उदाहरण थियो त्यो भनाइ।
म त्यसयता सधैँ उहाँको निवास नजिक पुग्दा अझ जोडले कराइदिन्थेँ। उहाँले अट्टालिकाबाट हेरेर नबोलेसम्म अघि बढ्न मनले मान्दै नमान्ने। एक पटक उहाँसँग भलाकुसारी गर्नै पर्ने आदत हुन थाल्यो। त्यसयता मैले यो टोलमा हरियो मकै लिएर बेच्न घुम्दा कहिल्यै उहाँको अनदेखा गरिनँ।
म यसरी नै जानकारी गराउँदै आउँथेँ र उहाँको घर मुनिको सडकमा एक छिन सुस्ताउँथेँ। त्यो सुस्ताइ मेरो थकाइ मेट्नका लागि मात्र हुन्न थियो। उनै हजुरआमाले माथिबाट हेर्ने र मलाई बोलाउने लालचको प्रतीक्षा पनि हुन्थ्यो। उहाँले नबोलाएको दिन मेरा मकै पनि कम बिके जस्तो अथवा बेचिसक्नलाई लामो समय लागे जस्तो हुने।
हुन त त्यही टोलको अर्को घरमा पनि यस्तै एक जना हजुरबा हुनुहुन्थ्यो। उहाँका चाहिँ तीनै जना छोराहरू घरभन्दा बाहिरै छन् रे। एक जना अमेरिका, अर्को जना जागिरमा बुटवल र अर्को जना गाउँको घर हेरचाह गर्न उतैतिर नै बस्ने रे। जागिरे छोराले बनाएको घरमा बुहारी र नातिनातिनासँग उहाँको दिनचर्या बित्दो रहेछ। सानो नातिलाई बिहानै स्कुल पुर्याउने, दिउसो तातो खाजा पुर्याइदिने अनि बेलुका घर ल्याउन स्कुलसम्म नै फेरि पुग्नु पर्ने दैनिकी। यति गरी सक्दा उहाँको दैनिकी पनि व्यस्त नै देखिने।
घरमा भएका बेला मैले ‘हरियो मकै लिनु हुन्छ कि?’ भनेको सुन्दा उहाँलाई पनि गाउँकी छिमेकी नानीले कहिलेकाहीँ ‘निगुरो टिपेर ल्याएकी छु, मन पर्छ भने दिन्छु है काका’ भनेको याद आउँछ रे। हाम्रो भेट भएका समयमा मेरो बोली ती छिमेकीसँग ठ्याक्कै मिल्छ भन्ने गर्नुहुन्छ।
उहाँ पनि मेरो हरियो मकैको करिब नियमित ग्राहक नै हो। किन्ने बेलामा भने अलिक भाउ घटाउन जिद्दी गर्नु हुन्छ। म पनि के कम र? अनि तत्कालै ‘तपाईँलाई के नपुग्दो छ र बुबा? कोही छोरा अमेरिका, कोही जन्मेको घर समालेर खेती किसानी गर्दै अनि कोही सरकारी जागिरे। धेरै भाउ नघटाइदिनु न मेरो’ भन्ने गर्छु।
मैले यसो भनेपछि उहाँ मतिर फर्केर भन्ने गर्नुहुन्छ, ‘पैसा-पैसा जोगाए रुपैयाँ हुन्छ। रुपैयाँ-रुपैयाँ मिलाए गर्जो टर्छ। अनि नघटाएर के गर्ने त नानी?’ त्यसपछि मलाई मर्का नपर्ने गरी छुट गर्न भन्नु हुन्छ। म सकेसम्म मिलाएर नै दिने गर्छु।
यस्तै अरू घरमा पनि मेरा नियमित ग्राहकहरू छन्। तर उहाँहरू दुई जना जस्तो धेरै भलाकुसारी हुने गर्दैन। कोही बोल्ने फुर्सद नि नहुने जस्तो हतारमा हुन्छन्। कोही बोल्दा पनि पैसा पर्ला जस्तो गरेर थोरै बोल्छन्। अझ कोही त नरम भाषामा बोल्दा आफूलाई अरूले सानो पो ठान्ने हुन् कि जस्तो गरेर खस्रो बोल्छन्। हामीलाई तपाईं भन्न पनि अप्ठ्यारो मान्छन्।
‘तिमीले कहिलेदेखि मकै कहाँदेखि उठाएर ल्याउँछ्यौ? अस्तिका सबै कति खल्ला थिए। फर्काइ दिऊँ कि जस्तो लागेको थियो’ भन्दै नमिठो बचन लगाउँछन्। मलाई पनि ‘आफ्नै बारीबाट भाँचेर ल्याएका होइनन् क्यारे त के गर्ने’ भन्न मन लाग्छ। तर म केही नभनी एकछिन सोच्दै पर्खिन्छु। किन्ने भए डोकोबाट छान्न थाल्छन्। मसँग भाउ मिलाउन थाल्छन्। नकिन्ने भए सरक्क आफ्नो बाटो लाग्छन्। त्यसपछि म पनि आफ्नै सुरमा अर्को ग्राहक भएका घरतिर अघि बढ्ने गर्छु।
अर्की सानी नानीको खरिद गर्ने तरिका पनि गज्जब कै लाग्छ। जब म उनको घर नजिक पुग्छु, उनी कुद्दै आउँछिन् र ‘आन्टी मलाई पचास रुपैयाँको दिनु न’ भन्छिन्। म जति आउँछ त्यति छुट्टाएर दिन्छु। त्यसपछि अर्को एक घोगा ‘यो तिमीलाई है नानु’ भन्दै थपिदिन्छु। उनी लजाउँदै मेरो मुखमा पुलुक्क हेर्छिन् र खुसी हुँदै घरतिर दौडिन्छिन्। उनी घरभित्र नछिरेसम्म लड्ने पो हुन् कि कतै अथवा हातबाट मकै झर्ला कि भनेर हेरि रहन मन लाग्छ। उनी आँखाबाट ओझेल परेपछि मात्र म पाइला अघि बढाउँछु।
मेरी यी सानी ग्राहकको खरिद गर्ने निस्वार्थ शैली र मनमोहक मुस्कानले मलाई सधैँ आफ्नो बाल्यकालको याद दिलाउँछ। कहिल्यै यति दिनु उति दिनु भन्दिनन्। जति दिए पनि खुसी हुँदै फर्किन्छिन्। यो बालसुलभ व्यवहार कति मन छुने र प्यारो हुँदो रहेछ।
हाम्रो बाल्यकालमा त यसरी किनमेल गर्न हामी जान्दैन थियौँ। तर मामा-माइजू, दिदी-दाजु वा काका-काकीले दिएका राता मिठाई दाना पाएपछि उहाँहरू सधैँ घरमा आइरहे हुने भन्ने कामना गरेको सम्झन्छु। लाडप्यारले काखमा बोकेको र अझ मामाले गालामा म्वाइँ खाँदै खस्रा दारी दलेको याद आउँछ। त्यति बेला लजाएकी म र मेरी यी माया लाग्दी ग्राहक बालिकाको लजाइ भने उस्तै लाग्छ।
यस्तै अर्का पनि ग्राहक छन् मेरा। उनी चाहिँ मेरी बालिका ग्राहकभन्दा झन्डै विपरीत लाग्छन्। मेरो नजिक आउँछन् र भन्ने गर्छन्. ‘आन्टी, आज त ममीले एक सय रुपैयाँको एघार वटा ल्याउनु भन्नु भएको छ।’
म उनलाई हेरेर मुसुक्क मुस्काइदिन्छु मात्र।
अनि म ‘बाबु, आज त ठुला-ठुला घोगा छन्। तिम्रो ममीलाई नौ वटा मात्र आयो भन्नु ल’ भन्ने गर्छु। त्यसपछि उनी एक पटक ‘नाइँ आन्टी’ चाहिँ भन्छन्। तर त्यति नै बोकेर दौडिन्छन्। बाटोमा कतै नलडुन् भन्ने कामना गर्छु म सधैँ।
म व्यापारी र फरक-फरक उमेर समूहका मेरा ग्राहकसँग यसै गरी सम्बन्धको माला बुन्दै दिन बिताइरहन्छु। हरेक बेलुका कोठामा फर्किएपछि चानचुने पैसा गन्न र मिलाएर राख्न छोरीले सघाउँछिन्। कुन दिन कति आम्दानी भयो भनेर उनले हिसाब गर्छिन्। कुनै दिन अलिक धेरै नाफा भएको थाहा पाएपछि ‘आज त रसबरी खाने हो’ भनेर अतिरिक्त माग राख्छिन्।
म ‘नाइँ हुन्न बाबा, यो महिना बिजुली चुलो किन्नु छ’ भन्छु।
उनी ‘यो चुलो छँदै छ नि’ भनेर जिद्दी गर्छिन्। म सम्झाउँदै भन्छु, ‘अब त बिजुली जाँदैन। आफ्नै देशमा भएको बिजुली प्रयोग गर्नु पर्छ रे। ग्याँस चलाउँदा त विदेशबाट किन्नु पर्छ बाबै।’
मेरी छोरीले कति बुझ्छिन् थाहा छैन। तर उनी चुप लाग्छिन्। तर पनि म अर्को दिन पाँच वटा रसबरी किनेर ल्याउँछु। छोराछोरीलाई दुई-दुई वटा दिन्छु र म एउटा लिन्छु।
खुसी हुँदै छोरी प्रश्न गर्छिन्, ‘अनि बिजुली चुलो कहिले किन्ने त आमा?’
दिनहरू यसरी नै बितिरहेका हुन्छन्। म कहिले कालीमाटी, कहिले बनेपा, कहिले नरेफाँट र कहिले सोझै मकै बारीबाट हरियो मकै खरिद गर्दै बिक्री गरिरहन्छु। मनग्य हुन्न तर व्यवहार चल्ने आम्दानी पुगेकै हुन्छ।
अस्ति पनि यसै गरी डोकोभरि हरियो मकै बोकेर निस्किएँ। उनै हजुरआमाको घर छेउमा पुगेर सधैँ झैँ अलिक जोडले कराएँ। माथिबाट उहाँको बोली कुरेँ। अट्टालिका तिर नजर लगाएँ। तर कुनै आवाज आएन। एकछिन पर्खिएँ। ‘आज काम परेर कतै जानु भएको होला’ भन्ने लाग्यो र बिस्तारै आफ्नो बाटो लागेँ।
अर्को दिन चाहिँ म बिरामी परेँ। तर मनमा मेरी सदाबहार ग्राहक हजुरआमाको अनुपस्थितिले चिमोटिरहेको थियो। आज म त्यहाँ नजाँदा ‘हिजो मलाई नभेटेकाले अर्को बाटो हिँड्न थालिन् कि?’ भन्ने सोच्नु भयो होला भन्ने लागिरह्यो। अर्को दिन म सदा झैँ त्यसै गरी निस्किएँ। हजुरआमाको घर छेउमा पुगेर अलिक जोडले कराएँ।
बाटोभरि बग्रेल्ती सवारीसाधनहरू थिए। माथिबाट उहाँको बोली सुनिएन। अनि अट्टालिकातिर नजर लगाएँ। त्यहाँ मान्छेको भीड थियो। नजिकै उभिएकी एक जना महिलालाई ‘यहाँ कि हजुरआमा त सन्चै हुनुहुन्छ नि?’ भनेर सोधेँ।
उताबाट मलिन स्वरमा जवाफ आयो, ‘हजुरआमाले आज बिहानै दुःख लुकाउनु भयो बहिनी।’
यो अप्रत्याशित उत्तरले म छाँगाबाट खसे झैँ भएँ। यसपछि म सकी नसकी अघि बढेँ।
त्यस दिनदेखि मैले आजसम्म त्यो बाटो हुँदै हरियो मकै डुलाएर बेचेको छैन।