सिकाइ भन्नाले कुनै पनि कुरा जान्नु वा ग्रहण गर्नु भन्ने बुझिन्छ। मानव तथा प्राणी जातिमा सिकाइ भन्नाले उसको व्यवहारमा परिवर्तन आउनु भन्ने बुझिन्छ। सिकाइ एउटा परिपक्वता र अनुभवहरूको प्रतिफल हो। तर स्वतः थाहा हुने वा स्वतः प्राप्त हुने व्यवहारलाई सिकाइ भन्न मिल्दैन। जस्तै: माछा पौडनु, चरा उड्नु, बच्चा रुनु आदि। बालबालिकाले आफ्नै परिवेशमा, उमेर, क्षमता अनुरूप प्रत्येक समय विभिन्न तरिकाबाट सिकिरहेका हुन्छन्।
बालबालिकाहरूले कसरी सिक्दछन् भन्ने प्रश्नको उत्तरका लागि विभिन्न सिकाइ सिद्धान्तहरू छन्। सामान्यतया सिकाइ सिद्धान्त भनेको विद्यार्थीहरूको सिकाइलाई व्यवस्थित गर्न तयार गरिएको ‘फ्रेमवर्क’ हो। यसले कसरी सिकाइ हुन्छ भन्ने कुरा व्याख्या गर्दछ। सुरुका वर्षहरूमा सिकाइलाई जोड नदिई विषयवस्तुको ज्ञानमा बढी केन्द्रित भएको पाइन्छ।
पछिल्ला दिनहरूमा आएर सिकाइ सिद्धान्तको खोजीका क्रममा जीन पियाजे, गिलफोर्ड डेइन्स, औसुबेल, ब्रुनर, स्किनर, स्किम्पहरूले सिकाइ सिद्धान्तहरूको खोजी गरी सिकाइलाई अगाडि बढाएको पाइन्छ। विशेष गरी सिकाइ सिद्धान्तमा व्यवहारवादी, मनोवैज्ञानिक र संज्ञानवादी सिद्धान्तले शिक्षण सिकाइमा राम्रो स्थान पाएको पाइन्छ।
बालबालिकाहरूलाई सिकाउने सिलसिलामा सुरु सुरुमा प्रतिफल महत्त्वपूर्ण मानिन्थ्यो। आजको दिनमा आएर सिकाइमा प्रतिफलभन्दा प्रक्रिया महत्त्वपूर्ण हुन्छ भन्ने कुरामा सिकाइ सिद्धान्तहरू आधारित छन्। बालबालिकाहरूले के कुरा सिक्छन् भन्नुभन्दा पनि सो कुरा कसरी सिक्छन् भन्ने कुरा महत्त्वपूर्ण मानिन्छ।
बालबालिकाहरूले कसरी सिक्दछन् भन्ने विषयवस्तु आफैमा यति बृहत् र जटिल विषयवस्तु हो। तथापि विभिन्न सिकाइ सिद्धान्तहरूलाई आधार बनाउनुका साथै मेरो २१ वर्षे शिक्षण अनुभवलाई आधार बनाउँदा मैले निम्नानुसारका अवयवहरू अवलम्बन गरेर सिकाउन सकेमा बालबालिकाहरूले सिक्दछन्।
तयारी
बालबालिकाहरू कुनै पनि ज्ञान वा विषयवस्तुहरू सिक्न सर्वप्रथम मानसिक रूपमा तयारी हुनुपर्दछ। सिक्नका लागि तयारी नभईकन उनीहरू नयाँ ज्ञान, सीप वा अनुभव सिक्न सक्षम हुँदैनन्। विद्यार्थीहरूलाई सिक्नका लागि इच्छाशक्ति बढाएर तयारी गरेर मात्र विषयवस्तुहरू सिकाउनुपर्दछ।
उत्प्रेरणा
विभिन्न ज्ञान हासिल गर्न बालबालिका भित्र जाग्ने आन्तरिक चाहना, उत्साह र ऊर्जा उत्प्रेरणा हो। यसले विषयवस्तुहरू सक्रिय रूपमा सिकेर निरन्तर अभ्यास गर्न प्रेरित गर्दछ। यसले बालबालिकाहरूलाई सिकाइप्रति चासो र ध्यान बढाई सिकाइलाई उपलब्धिमूलक बनाएर आत्मविश्वास बढाउँछ।
सिकाइको लागि पूर्वाधार
बालबालिकाहरूलाई कुनै नयाँ ज्ञान सिकाउनु अगाडि उनीहरूले त्यसका लागि आवश्यक पर्ने पूर्व ज्ञानहरू प्राप्त गरेका छन् कि छैनन्? उक्त पूर्व ज्ञान पर्याप्त छ कि छैन भनी पत्ता लगाउनुपर्दछ। पर्याप्त मात्रामा पूर्व ज्ञान भएको छैन भने उक्त ज्ञान दिएर मात्र नयाँ विषयवस्तु सिकाउनुपर्दछ।
ज्ञानको संगठन
बालबालिकाहरूमा विषयवस्तुसँग सम्बन्धित विभिन्न ज्ञान, सिप, अनुभव र धारणाहरूलाई एकीकृत गरी सिकाइको लागि आधार तयार गरिनुपर्दछ। यसरी संगठित गरिएका ज्ञान, सिप र अनुभवहरूको आधारमा शिक्षण गर्दा सिकाइ उपलब्धिमूलक हुन्छ।
क्रम
सिकाइ विषयवस्तुहरूको क्रममा आधारित हुन्छ। अगाडि सिकेका विषयवस्तुहरूले पछाडि सिक्ने विषयवस्तुहरूको लागि सहयोग गर्दछ। त्यसैले विषयवस्तुहरू सिक्नका लागि क्रमिक रूपमा विषयवस्तुहरूको संगठन गरिनुपर्दछ।
पुनर्बल
बालबालिकाहरूलाई सिकाइप्रति उत्साहित बनाउनका लागि बेलाबेलामा पुनर्बल प्रदान गरिनुपर्दछ। पुनर्बलले बालबालिकाहरूलाई सिकाइ प्रति आकर्षित गर्दछ।
क्षमता
बालबालिकाहरूले के, कति, कस्तो सिक्न सक्छन् भन्ने क्षमता बुझेर मात्र सिकाउनुपर्दछ। बालबालिकाहरूको उमेरअनुसार विभिन्न ज्ञान तथा विषयवस्तुहरू सिकाएमा सिकाइ प्रभावकारी र अर्थपूर्ण हुन्छ।
चित्र, व्यवहारिक उदाहरण र खेल
‘एउटा तस्बिर १००० शब्दभन्दा उत्तम हुन्छ’ भने झैँ सिकाइका चित्र प्रयोग गर्दा सिकाइ अर्थपूर्ण र व्यवहारिक हुने देखिन्छ। एउटा चित्रबाट धेरै कुरा सजिलै सिकाउन सकिन्छ। त्यस्तै व्यवहारिक उदाहरणहरू दिँदै सिद्धान्त, नियमहरू सिकाउन सकेको अवस्थामा सिकाइ चिरस्थायी हुने देखिन्छ। अहिलेका २१ औँ शताब्दीका बालबालिकाहरूलाई ‘गेमिफिकेसन’ अर्थात् खेलको माध्यमबाट खेल खेल्दा खेल्दै विषयवस्तु सिक्दछन्। यस्ता खेलहरू डिजिटल वा भौतिक जे पनि हुन सक्छन्। यस्तो शिक्षण सिकाइ अभ्यास संसारको राम्रो अध्ययन अध्यापन हुने देश फिनल्यान्ड, स्विट्जरल्याण्ड आदि देशमा भएको पाइन्छ।
निष्कर्ष
त्यसैले उपयुक्त वातावरण प्रदान गर्न सकिएमा जस्तोसुकै ज्ञान पनि बालबालिकाहरूले सिक्न सक्छन् भन्ने कुरा विभिन्न अनुसन्धानले देखाउँछ। कक्षाकोठाभित्र शिक्षकले बालबालिकाहरूलाई पढाउने होइन, सिकाउने हो। बालबालिकाहरूको वैयक्तिक भिन्नता पहिचान गरी व्यवहारिक उदाहरण दिई चित्रात्मक तरिकाले रुचि जगाउँदै खेल माध्यमबाट सिकाउन सकेमा बालबालिकाहरूले ज्ञानहरू सजिलै सिक्दछन्।
(लेखक शिक्षक हुन्।)