संयुक्त राष्ट्र संघ अन्तर्गतको खाद्य तथा कृषि संगठन र विश्व स्वास्थ्य संगठनद्वारा स्थापना गरिएको कोडेक्स एलिमेन्टारियस कमिसनका अनुसार ‘मह’ भन्नाले मौरीले फूलको रस, अतिरिक्त वनस्पति रस (एक्स्ट्रा फ्लोरल नेक्टर) वा हनिड्यु सङ्कलन गरी आफ्नै इन्जाइम मिसाएर तयार पारेको प्राकृतिक गुलियो पदार्थलाई जनाइन्छ। मौरीलाई चिनी, चास्नी खुवाएर वा कुनै सिरप मिसाएर बनाइएको गुलियो पदार्थलाई मह मानिँदैन।
कोडेक्सका मापदण्डअनुसार महबाट कुनै पनि प्राकृतिक तत्त्व हटाउन वा बाह्य तत्त्व मिसाउन पाइँदैन। केही अत्यावश्यक अवस्थामा मात्र ४० डिग्री सेल्सियसभन्दा कम तापक्रममा हल्का तताउने र छान्ने (फिल्ट्रेसन) प्रक्रिया स्वीकार्य मानिन्छ। फर्मेन्ट भइसकेको, फिँज र फोका देखिएको मह सिधा उपभोग वा बिक्रीका लागि अनुपयुक्त मानिन्छ।
नेपालमा पनि गुणस्तर तथा नापतौल विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले महको गुणस्तर निर्धारणका लागि कोडेक्ससँग मिल्दोजुल्दो मापदण्ड लागू गरेका छन्।
महको प्रशोधन, मिलावट र भ्रमहरू
महलाई जम्न नदिने, फर्मेन्ट हुनबाट जोगाउने र भण्डारण सहज बनाउन ब्लेन्डिङ वा पास्चराइजेसन विधि प्रयोग गरिन्छ। यद्यपि यस्ता प्रक्रियाबाट महको गुणस्तर वा स्वास्थ्य लाभ बढाउँछ भन्ने वैज्ञानिक पुष्टि छैन। ब्लेन्डिङ गरेर स्वाद, रङ, गन्ध, गाढापन वा अन्य गुणहरूमा एकरूपता ल्याइन्छ। तर महको प्राकृतिक गुण हटाएर बनावट वा स्वाद बदल्नु चाहिँ ब्लेन्डिङ होइन। महमा चिनी, ग्लुकोज, सिरप आदि मिसाउनु विकृति (एडल्टेरेसन) हो- स्वीकृत ब्लेन्डिङ होइन।
ब्लेन्डिङ वा पास्चराइजेसन गरेको भए लेबलिङ स्पष्ट हुनु जरुरी हुन्छ। नेपालमा धेरैले मह जम्नुलाई नकारात्मक रूपमा बुझ्ने गरेको पाइन्छ। तर वैज्ञानिक रूपमा हेर्दा मह जम्नु प्राकृतिक प्रक्रिया हो। महमा रहेको 'फ्रक्टोज' र 'ग्लुकोज'को अनुपात, भण्डारण तापक्रम र पानीको मात्रा जस्ता कारणले मह जम्न सक्छ।
महको स्वाद, संस्कृति र विविध प्रकारहरू
संसारका धेरैजसो संस्कृतिमा महलाई पवित्र, स्वादिलो र लाभदायक पदार्थ मानिन्छ।
ल्याटिन भाषामा महलाई ‘mel’ भनिन्छ जसको अर्थ ‘स्वादिलो’ हो।
संस्कृतमा ‘मधु’ भनिन्छ जसको अर्थ पनि ‘स्वादिलो अर्थात् मिठास’ हो।
अंग्रेजीमा ‘हनी’ शब्द प्रेम र मिठासको प्रतीक हो— हनी, स्विटहार्ट, हनिमुन जस्ता शब्दहरूले यसको सांस्कृतिक महत्त्व झल्काउँछन्।
महको वर्णन धार्मिक ग्रन्थहरू जस्तै- बाइबल, कुरान र वेदहरूमा उल्लेख गरिएको पाइन्छ। परम्परागत रूपमा मह स्वास्थ्य र रोग निवारणमा प्रयोग हुँदै आएको छ। पछिल्ला वैज्ञानिक अनुसन्धानहरूले पनि महमा एन्टिबायोटिक, एन्टिसेप्टिक, भिटामिन र अन्य औषधीय तत्त्वहरू प्रशस्त मात्रामा पाइने प्रमाणित गरेका छन्। महले भोक बढाउँछ, घाउ निको पार्न मद्दत गर्छ र रुघाखोकी तथा भाइरल संक्रमणमा राहत दिन्छ।
सबै मह एउटै हुँदैनन्। जस्तै विभिन्न फलहरू (केरा, स्याउ, आँप) फरक-फरक स्वाद र गुण बोकेका हुन्छन्। त्यसै गरी मह पनि स्रोत, स्थान, मौसम र मौरी प्रजातिका आधारमा फरक हुन्छ। तर मह शुद्ध हो कि होइन, कुन स्रोतबाट उत्पादन भएको हो भनेर थाहा पाउन त्यति सजिलो विधि छैन। यसमा महको संवेदी विशेषताहरू जस्तै: स्वाद, गन्ध, बाक्लोपन र रंगको परीक्षण जुन हाम्रो इन्द्रिय (जस्तै जिब्रो, नाक, आँखा) द्वारा गर्न सकिन्छ।
नेपालमा पाइने प्रमुख महका प्रकारहरू
वनस्पति स्रोतअनुसार- चिउरीको मह, रुदिलोको मह, तोरीको मह, आदि
सङ्कलन समयअनुसार- कात्तिके मह, चैत्रे मह
प्रक्रियाअनुसार- चाका सहितको मह, हातले निचोरेको मह, महमदानीबाट निकालिएको मह
स्थानअनुसार- दाङ, जुम्ला, इलाम आदिका मह
मौरी प्रजातिअनुसार- भिर मौरी, सिन्कुस, कठ्यौरी, सेरेना, मेलिफेरा, पुत्का
नेपालमा उत्पादन हुने महहरूको सूक्ष्म अध्ययन र विश्लेषण गरेर विशिष्टता कायम गर्न सकिएमा अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान बनाउने सम्भावना छ।
उदाहरणका लागि
चिउरीको मह: यो बिरुवा नेपाल, भारत र भुटान बाहेक अन्यत्र पाइँदैन। त्यसैले चिउरीको महको भौगोलिक पहिचान (जिआई) सहितको ब्रान्डिङ गर्न सकिन्छ।
भिर मौरीले बनाएको मह: सेतो लालीगुराँसबाट सङ्कलित मह विश्वमै दुर्लभ मानिन्छ र उच्च मूल्यमा बिक्री हुनसक्छ।
सिन्कुसको मह: खनिज पदार्थको मात्रा बढी पाइन्छ।
एपिस सेरेनाको मह: यसमा एन्टिमाइक्रोबियल इन्जाइमहरू प्रशस्त पाइन्छ किनकि यो मौरीले विदेशबाट आयातित मौरी ‘एपिस मेलिफेरा’ को तुलनामा पुष्प रस प्रशोधनमा बढी समय लगाउँछ।
नेपालको ४५% भन्दा बढी भूभाग वन-जंगलले ढाकिएको छ। जैविक विविधता अत्यन्त उच्च छ र रासायनिक मल वा विषादीको प्रयोग न्यून भएकाले यहाँको मह प्राकृतिक र जैविक मानिन्छ। यसले नेपाली महलाई शुद्धता, मौलिकता र औषधीय गुण सहित विश्व बजारमा स्थान दिलाउन सक्ने बलियो आधार दिन्छ।
अन्त्यमा,
मौरीपालन केवल व्यवसाय होइन; यो स्वास्थ्य, प्रकृति, संस्कृति र आर्थिक समृद्धिको संयोजन हो। नेपाली महको गुणस्तर, शुद्धता, विविधता र अन्तर्राष्ट्रिय मागलाई ध्यानमा राख्दै नेपालले आफूलाई ‘हिमालयन हनी हब’ का रूपमा स्थापित गर्न सक्छ।
मौरीपालनबाट मह मात्र होइन, रोयल जेली, प्रपोलिस, मैन, भेनम जस्ता उप-उत्पादनबाट आम्दानी लिन सकिन्छ। पराग सेचन सेवामार्फत कृषि उत्पादनमा वृद्धि पनि सम्भव छ।
नेपालमा पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका हजारौँ युवाहरूका लागि मौरीपालन कम लागत, उच्च प्रतिफल र दीर्घकालीन आयको अवसर बन्न सक्छ।
(लेखक मौरी र महका अध्येता हुन्।)