दसैँ आयो रे!
कसलाई?
रित्तो काखलाई आएन
टुहुरो बालबच्चालाई आएन
उजाडिएको सिउँदोलाई आएन
परदेशीलाई आएन
शहीदको घर आएन!
मेरो देश
शून्यतामा हराएको छ
तन्त्रहीन लोकतन्त्र छ
भग्नावशेष बलिरहेको छ
धुवाँमा हराएको छ
काकाकुल काग जस्तै
मेरो देश
अँध्यारोमा रुमलिएको छ।
गोली चलाइ
निहत्था हत्याराहरू
निर्दोषको हत्याराहरू
आवाजका हत्याराहरू
खुलेआम घुमिरहेछन्
लाग्छ मेरो देश
दण्डहीन छ।
कयौँ बेपत्ताका आफन्तहरू
भाइ फर्कने आसमा
छोरा फर्कने आसमा
छोरी फर्कने आसमा
लोग्ने फर्कने आसमा
आँसु झरिरहने आँखामा
कसरी दसैँ मनाउनु?
सिंहदरबारलाई आएन दसैँ
बानेश्वरलाई आएन दसैँ
इटहरीमा आएन दसैँ
ललितपुरमा आएन दसैँ
पोखरामा ढालिएका
शहीदका सपनालाई!
आएन दसैँ!
आशा गरौँ
अब आउने दसैँ
भव्य रूपमा आउनेछ
सबैका लागि आउनेछ
देशमा व्याप्त कुशासन
भ्रष्टाचारको अन्त्य भई
नयाँ नेपाल आउने छ
देशमै रोजगारी
देशमै भविष्य आउने छ।
त्यो दसैँलाई
सारा नेपालीहरू
स्वागत गर्न तम्तयार छन्।