लकडाउनको नवौं दिन। बिहानको साढे छ बजेको हुँदो हो। मुखमा मास्क र हातमा स्यानिटाइजर लगाएर म घरबाट निस्केँ। दूध र हरियो तरकारी पाए किनेर ल्याउन। आठ दिनदेखि बिहान वा साँझ एकचोटि सावधानीपूर्वक बजार पुग्नु मेरो दैनिकी हो। सायद, सबै घरको दैनिकी।
घरबाट दूध डेरी र तरकारी पसलसम्मको दुरी टाढा छैन। म पुग्दा पसलमा सामान किन्नेको भीड लागेको रहेछ। सामान किन्नेदेखि बेच्नेसम्म आ-आफ्नै सुरमा थिए। आ-आफ्नै तरिकाले गफ दिइरहेका। सबैको कुरा सुन्दा लाग्थ्यो, उनीहरूलाई कोरोनाबारे विश्व स्वास्थ्य संगठनलाई भन्दा धेरै कुरा थाहा छ।
व्यवहार देख्दा भने यस्तो लाग्थ्यो, उनीहरू सरकार र चिकित्सकहरूको निर्देशन एकपछि अर्को लत्याइरहेका थिए। न उनीहरूले कोरोना संक्रमणको सम्भावित खतराबाट जोगिन चिकित्सकहरूले सुझाएको सामाजिक दुरीलाई महत्व दिइराखेका देखिन्थे, न त फटाफट किनमेल गरी अर्कालाई पालो दिन तत्पर लाग्थे।
एक जना व्यक्ति आए। खुरुखुरु अरूको मतलब नगरी साहुजी नजिकै गए। र, भने, ‘मलाई दुई लिटर दूध र एक लिटर दही दिनुस् न।’
पालो पर्खिरहेका सबैले उनलाई भने, ‘पछि आएर कहाँ अगाडि जानुभएको, पालो पर्खिएर आउनुस्।’
उनलाई के मतलब, आफ्नो कारणले अरूलाई अप्ठ्यारो परेको कुरा। न त उनी आफ्नो र पसले साहुजीको स्वास्थ्यबारे संवेदनशील नै थिए।
पसलमा थुप्रो लागेकाहरू सबै हुँदा खाने होइन, हुने खाने नै देखिन्थे। लवाइखवाइ हेर्दा लाग्थ्यो, उनीहरूलाई धेरै कुरा थाहा छ। तर, सबैले बुझ पचाइरहेका छन्।
यसअघि लकडाउनको पाँचौं दिन एउटा अनलाइनको समाचार फेसबुकमा सेयर भएको रहेछ। शीर्षक थियो, ‘खानेकुरा नपाए, वडाध्यक्षलाई फोन गर्नुस्।’
समाचारमा केही लाइक र केही कमेन्ट आएका रहेछन्। कमेन्टमध्ये एउटाले मेरो मन नराम्रोसँग चिमोट्यो। लेखिएको थियो, ‘भरियाले कसरी वडाध्यक्षलाई फोन गर्नू।’
मैले उनको कमेन्टमा केही नलेख्ने निश्चय गरेँ। मनमनै भनेँ, तपाईंको दायित्व के त, नेपालको नागरिकको हैसियतमा भरिया र वडाध्यक्षबीच तपाईंले सम्पर्क गराइदिए पनि हुन्छ नि!
विश्वलाई नै त्राहिमाम बनाइरहेको कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले गरेको लकडाउनको निर्णयपछि नागरिकको यस्ता पाल्छी कुरा सुन्दा र व्यवहार देख्दा सम्झन मन लाग्छ, भूपि शेरचनको 'हामी' शीर्षकको कविता।
दूध डेरी र फेसबुकमा कमेन्ट गर्ने ती मान्छे त्यस्ता नागरिक होइनन्, जो कोरोना मृत्युसँग होइन, भोकमृत्युसँग हरदम डराइरहेका हुन्छन्।
अहिले अमेरिकामा रहनुभएका अग्रज पत्रकार बद्रीविनोद प्रतिकको लेख एउटा अनलाइनमा छापिएको थियो। उहाँले लेख्नुभएको छ, ‘अमेरिकामा सबथोक छ र पनि अहिले विपत्तिमा केही नभएजस्तो देखियो। बरू साना साना देशले आ-आफ्नो हैसियतअनुसार व्यवस्थापन गरेको समाचार पढेर थाहा पाएँ। नेपाल सरकारले गरेको तयारी यहाँको हेरेर अभूतपूर्व लाग्यो।’
सरकारले यो गरेन, त्यो गरेन, यो भएन, त्यो भएन भन्ने प्रश्न र यथार्थ त हामीले सुनिरहेका हौं। महशुस गरिरहेका पनि छौं। पाइला-पाइलामा हामीलाई सरकारको कमजोरी अनुभूत हुन्छ। हो, सरकारले ढंग पुर्याएर केही गरेको छैन। लकडाउनको निर्णयदेखि अन्य तयारी समयमै गर्नुपर्थ्यो। तर, गरेन।
मुलुकलाई अप्ठ्यारो परेको बेला एउटा सचेत नागरिकको कर्तव्य के हो? जिम्मेवारी के हो? हामीले यसतर्फ कहिल्यै सोचेका छौं? त्यसो भए, हामीले के गर्यौं त, सरकारको आलोचना मात्रै। यसको अर्थ सरकार दूधले नुहाएको छ भन्न खोजेको होइन। सरकारले कुनै कमजोरी नै गरेको छैन भन्ने अर्थ किमार्थ नलागोस्। केन्द्रीय, प्रदेश वा स्थानीय सरकारका प्रशस्तै कमजोरी छन्। गल्ती भएका होलान्। तर, सरकारलाई नाङ्गो बनाउने नाममा आफ्नो कर्तव्य बिर्सने त। यो यक्ष प्रश्न नागरिकसामु उभिएको छ।
केही वर्षअघि एक जना नेताले भनेका थिए— दुई-तीन करोडको घरमा बस्ने मान्छे घरअगाडिको बाटो सरकारले बनाइदिएन भन्दै सत्तोसराप गर्छ। बाटो हिलो हुँदा पनि सरकारले गरेन भन्छ। धुलो उड्दा पनि सरकारको कामै छैन भन्दै आलोचना गर्छ। निजी भनेपछि थुक लगाएर टिप्ने, सार्वजनिक भनेपछि त्यसतर्फ रत्तिभर ध्यान नदिने। यस्तो चरित्र र प्रवृत्तिले हामी आफैं पनि कही पुग्दैनौं। न त आफ्नो टोल, छरछिमेक, सहरको विकास हुन्छ।
हो, सरकारले गरेको कामको टिप्पणी नागरिकले नै गर्ने हो। तर सकारात्मक टिप्पणीको अर्थ हुन्छ। त्यो मननीय पनि हुन सक्छ।
कोरोना संक्रमणबाट जोगिन साबुनपानीले पटक-पटक हात धुनुस्, सामाजिक दुरी कायम राख्नुस्, घरभित्रै बस्नुस् लगायत जनहितमा जारी सन्देश अहिले सर्वत्र सुनिन्छन्, रेडियो, टेलिभिजन, सामाजिक सञ्जालमा जताततै। तर, मान्छे किन बिनाकाम लखरलखर हिँडिरहन्छ? किन दुरी कायम गर्दैन? मानवअधिकार हनन् हुने गरी सुरक्षाकर्मीलाई डन्डा बर्साउन बाध्य किन पार्छ?
यी प्रश्नको उत्तर खोज्नु अत्यन्तै आवश्यक छ। यस्तो हुनुको मुख्य कारण दण्डहीनता र भ्रष्टाचार हुन्। यसका साथै नकारात्मक धारणा र विरोधका लागि विरोध गर्ने बानी।
सत्ता र शक्तिका कारण दण्डनीयहरूले माफी पाए। उनीहरूलाई कतिपय अवस्थामा राजनीतिक आवरणका कारण दण्डित गरिएन। जसको फल अहिले भोगिरहेको छ नेपालले। दण्डहीनताका कारण नागरिक थेत्तरा भए। मैले नियम नमाने मलाई कसले के गर्छ र? अभिमानसहितको यो अटेरीपनले नेपालीलाई गैरजिम्मेवार मात्रै होइन, असामाजिकसमेत बनाएको छ।
अटेरीपन आउनुमा सत्ता र सत्तानिकटका व्यक्तिहरूले गर्ने व्यवहार पनि जिम्मेवार बन्ने गरेको छ। संकटमा ब्रह्मलुट गर्न खोज्ने व्यापारी, कोरोना उपचारमा प्रयोग गर्ने स्वास्थ्य सामग्री खरिदमा पनि भ्रष्टाचार गर्ने राज्यका अधिकारीको निर्लज्जपन नागरिकलाई थेत्तरा बनाउन सहयोग गर्ने मूल तत्व हुन्। जसले नीति, नियम कार्यान्वयन गर्नुपर्ने हो, उसले नै बाटो बिराएपछि नागरिकमा हामी कोहीप्रति पनि जवाफदेही हुनुपर्दैन भन्ने धारणा विकास भएको हुनुपर्छ।
यस्तो थेत्तरोपन देखिनुमा नकारात्मक धारणाले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ। यस्तो नकारात्मक धारणा अब राहत बाँड्न थालेपछि छिट्टै देख्न र सुन्न पाइन्छ। नजिकको सरकार स्थानीय तह यस सन्दर्भमा निकै आलोचित हुने पक्का छ। सरकारले यति राम्रो गर्यो, यो राम्रो गर्यो भन्ने आवाज निकै कम सुनिनेछ। यो भएन, अपुग भयो, कति थोरै, कसैलाई धेरै, कसैलाई थोरै ...। यस्तै यस्तै आलोचना सुन्न स्थानीय सरकार तयार हुनुपर्छ।
अर्को कुरा विरोधका लागि विरोध। यो शैली पछिल्लो समस्य निकै बढेको छ। आफूलाई मन नपर्ने मान्छेको छायापनि मन पर्दैन भन्ने भनाइ अहिले निकै मौलाएको छ। प्रतिपक्षले गरेका राम्रो कामको अघिल्तिर हामी आँखामा पट्टि बाँधेर बस्छौं। वास्तवमा प्रतिपक्षलाई स्वीकार गर्नु, उसले गरेको राम्रो कामको प्रशंसा गर्नु लोकतान्त्रिक अभ्यास हो। हामीले यो अभ्यासको अभ्यास गर्न सकेका छैनौं।
लोकतन्त्र र प्रजातन्त्र बलियो बनाउन अब सबै नेपाली सुझबुझ भएको नागरिकमा रूपान्तरित हुनैपर्छ। अब्बल नागरिक बन्नैपर्छ। अहिले नबने कहिले बन्ने? हामी नबने को बन्ने?
(लेखक ललितपुर महानगरपालिकाका प्रेस संयोजक हुन्।)