अचेल आफैंलाई सोधिरहेको छु, 'यो भन्दा पहिले मलाई यस्तो फुर्सद कहिले भएको थियो?'
धेरै बेर सम्झेपछि एस.एल.सी परीक्षा सकेर घर बसेको समय दिमागमा आयो। घर बस्थेँ, फिल्म हेर्थेँ, भन्ने नै हो भने केही नगरी दिन बित्थ्यो। एकदमै फुर्सदिलो थिएँ त्यस बेला। अहिले पनि छु। त्यस बेलाको भन्दा केही भिन्नता भने छ यो फुर्सदमा।
म मात्र हैन यो समय सबै फुर्सदिला छन्। कोरोना भाइरसले व्यस्ततामा मुक्ति आन्दोलन थालेको छ। अनि सबैलाई फुर्सदिलो बनाएको छ। अखबार, फेसबुक अनि टिभीले हरेकपल कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बताइरहेका छन्। संसार भयभीत छ। नेपाल सरकारले पनि सबैलाई सचेत रहन आग्रह गरिरहेको छ।
सरकारकाे आग्रह पालना गरेर आफ्नो र अरूको ज्यान जोगाउन सक्छु कि भन्दै ओछ्यानमा पल्टेर अमृता प्रितमको 'रसीदी टिकट' पढिरहेको थिएँ। किताब एकदमै रोचक र मर्मस्पशी भएकाले बिहानैदेखि बिसाएको थिइनँ। सायद धेरैबेर पढेर एकोहोरो भएको थिएँ। या पढ्दा पढ्दै कतै हराएको थिएँ। एकाएक झ्यालबाट आएको चिसो बतासले किताबको पाना पल्टाइदियो। अनि पो थाहा पाएँ, म झकाउन लागेको रहेछु। त्यसपछि किताबमा बुकमार्क राखेर ओछ्यानबाट उठेँ।
धेरै पढेकाले आँखा पनि दुखेजस्तो भएको थियो। उभिएर छेउमा राखेको पानी दुई चार घुट्को घुट्क्याएँ अनि झ्यालबाट बाहिर हेरेँ। मजाले घाम लागेको थियो। आकाश एकदमै उज्यालो थियो। पर देखिने पहाडतिर एकछिन आँखा डुलाएर बिस्तारै आँखालाई कोठामै फर्काउँदै थिएँ। तल बारीमा काम गरिरहेका आमा र भाउजूमा नजर पर्यो। आमा र भाउजू बारीको झार उखेल्दै हुनुहुन्थ्यो।
बारीमा आमा र भाउजूलाई काम गरेको देखेपछि मेरो मनमा अचम्मको तरङ्ग उत्पन्न भयो। थाहा छैन त्यो तरङ्ग त्यही पल मभित्र अचानक जन्मेको थियो वा मेरो अचेतन मनमा पहिलेदेखि कतै गडेको थियो। एउटा लोभलाग्दो दिनको मौका छोपेर मलाई बिथोल्न आएको थियो।
मेरो नङ अचानक चिलाएर आयो। आफ्नै पैतालाले आफैंलाई काउकुती लगाएर मलाई हँसाइदिए। नाक पनि यसै चिलाएझैं भयो। के भएको होला भनि एकपल्ट दिमागमा जोर लगाएँ। फेरि बतास गुनगुनाउँदै कोठाभित्र पस्यो अनि कानमा आएर फुसफुसायो, 'चिन्ता नगर केही भएको छैन। तेरा अंगहरूलाई आज एक्कासि माटोको सम्झना आयो।'
लगाइरहेको ज्याकेट खोले, अनि बारीमा ओर्लिएँ। एकै छिन भए पनि अंगहरूको चाहना पुरा गरिदिनु पर्यो भनेर। बारीमा ओर्लेर आमालाई भनेँ, 'खै के गर्नु पर्छ अल्छी लाग्यो कोठामा बस्न।'
आमाले छक्क परेर हेर्दै भन्नुभयो, 'ऊ त्यहाँबाट झार उखेल्दै लिएर आइज।' त्यसपछि पिरामा बसेर झार उखेल्न थालेँ। झार उखेल्दा उखेल्दै आफैंलाई सोधेँ, 'कहिले थियो यो भन्दा अगाडि मैले माटो छोएको?' त्यसकाे उत्तर मैले अहिलेसम्म पाएको छैन। लाग्यो घर, अफिस अनि घुमघाममा मोजा र जुत्ताको साथ हिँड्दाहिँड्दै खुट्टाले माटोसँग अनि माटोले खुट्टासँग कहिल्यै बोल्न पाएनछन्।
एकअर्कासँग सधैं हिँडेर पनि एकअर्कालाई कहिल्यै छुन नपाएका मेरा खुट्टा र धर्तीको माटोको कथा मलाई अहिले कुनै दुखद प्रेम कथाझैं लागिरहेछ।
झार उखेल्न सकेर एकछिन उभिएँ। बानी नभएकाले कताकता शरीर दुखे जस्तो भयो। माटोले भरिएको हात एकपल्ट नाक छेउ लगेर सुघेँ। चिनेकै बास्नाझैं लाग्यो। त्यसपछि खुट्टाको चप्पल खोलेँ। एक छिन खाली खुट्टा माटोमा उभिएँ। शरीर शितल लागेर आयो। जिन्दगी नै शितल लागेर आयो। लाग्यो धेरै वर्ष अघि नचाहँदा नचाहँदै बिछोड भएको साथीलाई एकदम दरो अङ्गालिरहेको छु।
काम सकेपछि हातमुख धोएर कोठामा आएँ। ओछ्यानमा पल्टेको मोबाइल उठाएर चलाउन थालेँ। कोरोनाले गुमाएको ज्यानको गन्ती हेरेँ। मन अमिलो भएर आयो। आँखा बन्द गरेर कामना गरेँ, 'केही न केही जादु भइदियोस्। संसार स्वस्थ बनोस्।'
मानव इतिहासकै दुःखद घडी छ। मान्छे मरिरहेका छन्। दिमाग विचलित छ। केही गर्नुभन्दा केही पनि नगर्नु फाइदाजनक छ। प्रकृतिले अनौठो खेल खेलिरहेछ। अचम्म छ। मान्छेलाई जीवनबाट टाढा पुर्याउने कोरोनाले मलाई जीवनको एक कदम नजिक पुर्याइदिएको छ। हामी डर नै डरको बीच बाँचेका छौं। तै पनि हाँसेका छौं। सुन्दा सादा लाग्ने 'जीवन' शब्दलाई समयले कालो पोतिरहेछ। कुरूप बनाइरहेछ।
मेरो मानव मनमा एउटा विश्वास छ- मानव जाति एउटा यस्तो चित्रकार हो जसले केही समयमा कोरोनाको कालाेपनमा रङ भरेर इन्द्रेणी बनाउनेछ।