कर्मकल्चर
नेकपा एमालेले यथासमयमै महाधिवेशन सम्पन्न गरेर अनुशासित राजनीतिक संगठनको जिम्मेवारी प्रदर्शन गरेको छ। कुनै पार्टीको अनुशासन अरू कसैले अनुशिल गर्ने हो भने एमाले एउटा नमूनाका रूपमा देशमा विकास भएको छ।
यसका शक्तिमान अध्यक्ष केपी शर्मा ओलीले भने निर्वाचन जितेर पनि राजनीति हारेका छन्। पार्टीभित्र अनुशासनको कोर्रा तैनाथ गरेका छन् र पार्टीबाहिर उनलाई राज्यको कानुनले पनि छुन हुँदैन भनेका छन्। त्यो उनको आफ्नै भाषामा अरू सबैलाई दिएको आदेश हो।
जेनजी आन्दोलनपछि, प्रमुख भनिए पनि पुराना भनिए पनि, सबभन्दा पहिला तंग्रिएर महाधिवेशनको अभ्यास गर्न सकेकाले नै आज एमाले चर्चामा छ। उसका कार्यकर्ता र शुभेच्छुक शिथिल हुन पाएनन्। भदौ २३–२४ पछि पार्टी छाडेको भनेर निष्क्रिय हुन थालेका मातहत संगठनका सदस्यहरू समेत पार्टी जीवनमा फर्किएका छन्।
महाधिवेशन गरेर एमालेले सांगठनिक पुनर्ताजगी पाएको छ, राजनीतिक रूपमा भने प्रतिकारतर्फ फड्को मारेको छ।
यसले अनावश्यक ध्रुवीकरण बढाउने, देशको ध्यान राष्ट्रिय मुद्दाहरूतर्फ जान नदिने र पार्टी तथा तिनका नेताविशेषको प्रतिष्ठाको विषयले प्राथमिकता पाउने खतरा देखाएको छ।
महाधिवेशन नेतृत्व चयनका लागि मात्र आयोजना गरिएकाले काठमाडौंमा भव्यतासाथ जति जमघट भयो, त्यसले देशलाई राजनीतिक ऊर्जा दिन सकेन। आन्तरिक मतदान प्रक्रिया आपसी समूहगत प्रतिस्पर्धामा सीमित भएकाले व्यक्तिगत र गुटगत जीत–हारको खासै सान्दर्भिकता रहेन। तिनले विचारको प्रतिस्पर्धा गरेका थिएनन्। उही पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा फर्किन दिने कि नदिने भन्ने रायमा पार्टी संगठनका दुई धार बनेका थिए। त्यो पनि हालका लागि टुंगिएको छ।
पार्टीलाई देशका समस्याहरूको चिरफार गर्ने राजनीतिक माध्यम मान्ने हो भने एमालेले महाधिवेशनअघि जे नीति लिएको थियो, त्यसैलाई सदर गर्यो। महाधिवेशनले राजनीतिक सन्देशका रूपमा जे दियो, त्यो भनेको प्रतिकार हो—परिवर्तनको स्वीकार होइन।
जेनजी आन्दोलनले बदलेको परिदृश्य अस्वीकार गर्ने बलात् प्रयासका रूपमा एमाले उभिनु तत्कालीन प्रधानमन्त्रीका रूपमा त्यसका अध्यक्षको व्यक्तिगत विषय हो। सिंगो पार्टी पंक्ति त्यसकै मतियार हुनु राजनीति शून्यता हो।
अध्यक्षमा बलमिच्याइँ गर्दै पार्टी विधान सच्याएर तेस्रो कार्यकालका लागि बहाल हुँदा ओलीले कुनै पनि बेला देश ठप्प पार्न तयार रहन पार्टी पंक्तिलाई उर्दी जारी गरे। हो, यही कारण हो कि पुराना पार्टीहरूले चाहेको बखत विपक्षमा हुँदा देश ठप्प पार्ने र सत्तामा हुँदा राज्यकोष लुट्ने भनेर त्यत्रो जेनजी आन्दोलन भएको तीन महिना मात्र भएको छ। त्यो असन्तोष नै जेनजी आन्दोलनको जरा हो भनेर नबुझ्ने हो भने षड्यन्त्र मात्र राष्ट्रिय राजनीतिको चार्जिङ स्टेसन हुनेछ। अहिले एमाले देशको सबभन्दा ठूलो त्यस्तै स्टेसन बन्न अभिशप्त देखिन्छ।
राजनीतिक पार्टीका दृष्टिले एमाले देशव्यापी बलियो संगठन भए पनि राजनीतिमा आवश्यक गतिशीलता, लचकता, सुनुवाइ र सम्बोधनको सामर्थ्य गुमाउँदै जान आफै लालायित देखिन्छ। अध्यक्ष ओलीका मन्तव्य वा वक्तव्य समस्या निम्त्याउने कारक बनेको धेरै भइसकेको छ। उनी अहिले पनि हाकाहाकी भन्छन् — उनबाट कहिल्यै गल्ती हुँदैन। उनी गल्ती–प्रुफ हुन् रे। आफ्नोबारे कस्तो तिलस्मी विश्वास!
उनले भनेको भिडियो भाइरल हुँदैछ — पार्टीमा अध्यक्षको आलोचना गर्न पाइँदैन भन्नु हल्ला हो। आलोचना गर्न पाइन्छ। तर अध्यक्षले कहिल्यै गल्ती नै गर्दैन भने किन आलोचना गर्ने?
ओलीले कहिल्यै गल्ती नगर्ने दाबी गरे पनि एउटा भूल सुधार भने आफै गरेका छन्। उनले 'भदौ २३ को घटनामा राज्य संयन्त्रलाई पूरै विश्वास गर्नु गल्ती' गरेका हुन् रे। अब त्यस्तो गल्ती नगर्न राज्य संयन्त्रलाई पूरै विश्वास नगर्ने र आफ्नो सुरक्षा आफै गर्न पार्टी पंक्तिलाई सुरक्षा दस्ता बन्न भनेका छन्।
एमालेको यो प्रतिकारको चेतावनी संक्रमणकालीन सरकार, राज्य संयन्त्र, प्रतिस्पर्धी पार्टीहरू र आन्दोलित युवा समुदायलाई भड्काउने निमन्त्रणा हो। ओलीको समस्या उनी आफै हुन् भन्ने प्रस्ट थियो नै, अब त झन् पार्टी नै त्यतै एकोहोरो हुने डर छ।
महासचिव शंकर पोखरेलले पार्टीको त्यत्रो भव्य महाधिवेशनपछि निकालेको वक्तव्यमा अध्यक्ष ओलीमाथि 'चौतर्फी हमला' भइरहेको भनेका छन्। पार्टीको मुख्य एजेन्डा पार्टी अध्यक्ष बनेपछि पार्टीको प्राथमिकता पनि पार्टी अध्यक्ष, पार्टीको प्रतिष्ठा पनि पार्टी अध्यक्ष!
त्यत्रा पदाधिकारी निर्वाचित भए, त्यत्रा केन्द्रीय सदस्य चुनिए, छानिए, त्यत्रो विधि सामूहिक नेतृत्व प्रणालीको कुरा गरियो, 'कमिटी सिस्टम' भनियो—आखिर श्रीअध्यक्ष रहेछन् एक!
***
(नारायण वाग्लेका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स- @narayanwagle